मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ८ हजार क्याप्सुल ट्रामाडोलसहित ५ जना पक्राउ गरेकाे छ । बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सानो पोखराबाट ८ हजार ३ सय क्याप्सुल ट्रामाडोलसहित कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ घर भएका १९ वर्षीय अशोक स्याङतान, हेटौंडा–१७ बस्ने २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ बस्ने २० वर्षीय निशान कोइराला र मकवानपुरगढी गाउँपालिका–२ बस्ने २३ वर्षीय दीपेश सञ्जेल रहेकाे प्रहरीले जनाएकाे छ ।
खाल्डो खनेर ट्रामाडोल लुकाउन लागेको अवस्थामा विशेष सुराकको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उनीहरुले प्रयोग गरेकाे ना.३२ प ३२४४ र बा. प्रदेश ००५ प १८५ नं. को मोटरसाइकल समेत बरामद गरी प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको जनाएकाे छ ।

