मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुजारीको गोली हानी हत्या भएको छ । शुक्रबार बिहान राक्सिराङ–१, कोलगैरी ठकुरीडाँडास्थित कुलदेवी मन्दिरकाे ६४ वर्षीय पुजारी ठूले गोलेको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
गोली प्रहारबाट पुजारी गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुजारीको हत्या गरेको अभियोगमा प्रहरीले ७५ वर्षीय इमान सिंह थोकरलाई नियन्त्रणमा लिएको छ । थोकरको साथबाट कटुवा पेस्तोल १ थान, पेस्तोलमा लाग्ने २ राउण्ड गोली, खोका १ थान र १९० ग्राम गन पाउडर बरामद गरेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
घटना पश्चात इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुर सादा पोशाकका प्रहरी समेत खटिएर थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा पुरानो सिरइवीका कारण थोकरले गोलेलाई गोली प्रहार गरेको देखिएकाे प्रहरीले जनाएकाे छ ।

