काठमाडौं । साहित्यकार मीना चौलागाईंको मुक्तक सङ्ग्रह “मनोकाङ्क्षा” विमोचन भएको छ । शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौंमा प्रतिष्ठानका कुलपति भुपाल राईलगायतले चौलागाईंको दोस्रो मुक्तकसंग्रह ‘मनोकाङ्क्षा’ विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै कुलपति राईले अहिले मुक्तकको लोकप्रियता बढेको बताउँदै छोटो, मिठो र चोटिलो विधा मुक्तकमा सबैको आकर्षण रहेकाे जानकारी दिए । ‘चौलागाईंको मुक्तकसंग्रह पठनीय रहेकाे छ ।’ उनले भने । ‘मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्ने हुनु पर्छ’ उनले भने ‘दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै मुक्तक बन्न सक्नु पर्छ ।’ मुक्तककार चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न समक्ष रहेको उनले बताए ।
प्राज्ञ डा. कौशिला रिसालले चौलागाईंकाे ‘मनोकाङ्क्षा’ को समीक्षा गर्दै मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताइन् । ‘मनोकाङ्क्षाले सुखदुःख, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको छ’ रिसालले भनिन् । कार्यक्रममा वरिष्ठ मुक्तककार ज्ञानुवकर पौडेल, नियात्राकार प्रतीक ढकाल, कवि- कलाकार रमेश पौडेल, मुक्तककार सुनिल अधिकारी, कृतिकारकी गुरु कोमल ढुङ्गेल कृतिकारकी सुपुत्री आयुश्री चौलागाईंले कृति र कृतिकारको चर्चा गर्दै कृतिगत सफलताकाे शुभकामना दिएका थिए ।
लोकार्पित मुक्तकसङ्ग्रहबाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन/तीनवटा मुक्तक वाचन गरेका थिए ।मुक्तककार चौलागाईंले मनोकाङ्क्षा’ मुक्तक संग्रहको विमोचन हुनु अत्यन्त गर्व र विशेष क्षण भएकाे बताइन्। मुक्तक लेखनका लागि सरल भाषा तर गहिरो अभिव्यक्ति हुनुपर्ने उनकाे भनाई थियाे । आफू पहिलेदेखि नै मुक्तक विधामा प्रतिबद्ध भएर लागेको र यो दोस्रो कृतिबाट थप जिम्मेवारी महसुस भएको लेखक चौलागाईंको भनाई छ। मनोकाङ्क्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएका छन् ।
रामेछाप जिल्लाकाे लखनपुरमा जन्मेर कर्मथलाे काभ्रेपलाञ्चाेक जिल्लाकाे पाँचखाल नगरपालिकामा बनाउँदै आएकी चौलागाईकाे २०७८ सालमा मुक्तक संग्रह ‘मुक्तक मिनार’ सार्वजनिक भएकाे छ । मुक्तकसागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाद्वारा चौलागाईकाे पहिलाे मुक्तक संग्रह सार्वजनिक गरेकाे थियाे । साहित्य विधाकाे मुक्तकसँगै गजल, गीत, कोपिला, कविता, हाइकु लेखन कलम चलाउने चौलागाईं स्कूलमा नेपाली बिषय पढाउने गुरुको प्रेरणाले नै साहित्यमा लागेकाे बताउँछिन । चाैलागाईं विगत ८–९ बर्षदेखि साहित्यमा निरन्तर कलम चलाउदै आएकाे बताउँछिन् ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षता तथा प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा महासचिव यादव भट्टराईले सहजिकरण गरेका थिए ।
र यो पनि…
चौलागाईको मुक्तक संग्रह ‘मुक्तक मिनार’ सार्वजनिक
‘समाज विकसित भए साहित्यकाे विकास हुन्छ’

