मकवानपुर । मीना चौलागाईको मुक्तक संग्रह ‘मुक्तक मिनार’ सार्वजनिक गरिएकाे छ । मुक्तकसागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मुक्तककार चौलागाईकाे मुक्तक संग्रह सार्वजनिक गरिएकाे हाे ।
अहिलेकाे सामाजिक परिवेश चित्रण गरी लेखिएको मुक्तक संग्रह ‘मुक्तक मिनार‘ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यत्मा सार्वजनिक गरिएकाे हो । आमसञ्चारका विभिन्न माध्यमको विकाससंगै साहित्यमा कलम चलाउनेहरुको संख्या बढेपनि गुणस्तरिय लेखनको कमी भएको अवस्थामा चौलागाईको कृतिले धेरैलाई पाठ सिकाउने घिमिरेले बताए ।
मुक्तक सङ्ग्रह आमा विषयबाट सुरु भई जिन्दगीको जोड घटाउमा टुंगीएको र समसामयिकतासँगै समाजका विविध आयामलाई चोटिलो रुपमा उतारिएको छ । पाठकको मन जित्न सक्ने खालको मुक्तक भएकोले उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने पनि कार्यक्रमका वक्ताहरुले धारणा राखेका थिए ।
पुस्तक सार्वजनिक कार्यक्रममा संस्कृतविद् तिलक लुइटेल,साहित्यकार राजन सिलवाल, कृष्ण धरावासी, रामकाजी कोने, गिरिराज डल्लाकोटी, प्राज्ञ विवश पोखरेल लगायतले शुभकामना सहितका मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यमा रुचि राख्ने रञ्जिता चौलागाई, विनोद आकाश खत्री, पार्वती भट्ट लगायतले चौलागाईको केही मुक्तक वाचन पनि गरेका थिए । चौलागाईको पहिलो कृति ’मुक्तक मिनार‘ मा ३ सय ६ वटा मुक्तक समेटिएको छ ।


