मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा कमिटीको अध्यक्षमा देवनारायण लामिछाने (भीमसेन) सर्वसम्मत रुपमा चयन भएका छन् । पार्टीको शनिवार सम्पन्न प्रथम वडा सम्मेलनले भीमसेनको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी निर्माण गरेको हो ।
कमिटीको उपाध्यक्षमा रोजिता लम्साल, सचिवमा रिता आचार्य, सह–सचिवमा विकास अधिकारी र कोषाध्यक्षमा कृष्णप्रसाद गौतम चयन भएका छन् । ध्रुव देवकोटा, बालकृष्ण पुडासैनी, भरत पराजुलीलगायत सदस्य चुनिएका छन् ।
२०५२/५३ सालदेखि नै कम्युनिष्ट विचार बोकेर विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका भीमसेन पछिल्लो समय यातायात व्यवसायीको रुपमा परिचित छन् । उनले अखिल नेपाल यातायात मजदुर संगठनको जिल्ला सचिवको जिम्मेवारीसमेत कुशलतापूर्वक सम्हालिसकेका छन् । बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

