मकवानपुर । बागमती प्रदेश सरकारले उद्योग दिवसको अवसरमा १४ उद्यमीलाई सम्मान गरेको छ । प्रदेशका १३ जिल्लाका १/१ वटा उत्कृष्ट र प्रदेशबाट एक सर्वोत्कृष्ट घरेलु तथा साना उद्यमीलाई नगद सहित सम्मान गरेको हो ।
१० औँ उद्योग दिवसको अवसरमा हेटौँडामा उद्यमीहरूलाई सम्मान गरिएको हो । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशका १३ जिल्लाबाट उच्च अङ्क प्राप्त गर्ने उत्कृष्ट एक/एक उद्यमी र प्रदेशबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने एक सर्वोत्कृष्ट उद्यमीलाई सम्मान गरिएको हो । उत्कृष्ट उद्यमीहरूलाई नगद ४० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
त्यस्तै मकवानपुरकाे हेटौडा उपमहानगरपालिका १३ काे कोम्हेन्दो एकीकृत कृषि फार्मसहित प्रदेश १३ उद्योग उत्कृष्ट उद्यमी घोषित भइ पुरस्कृत भएका छन् । धादिङकाे युनिक पशुपन्छी तथा कृषि फर्म, नीलकण्ठ–८, रसुवाकाे एस. एस. टेलर्स एन्ड स्यानिटरी प्याड तथा माक्स, उत्तरगया–५, सिन्धुलीकाे बरपिपल दुना टपरी उद्योग, दुधौली–४, काठमाडौंकाे ओम फुड प्रोडक्ट, चन्द्रागिरी– ११ उत्कृष्ट उद्यमी घोषित भएका हुन् ।
त्यसैगरी ललितपुरको सृजनशील कृषि फर्म बागमती–१, दोलखाको सुरी मैरी पालन तथा घार उद्योग गौरीशङ्कर–५, नुवाकोटको नव युवा कृषि फर्म सुर्यगढी–५, भक्तपुरको लक्ष्मी चिउरा उद्योग भक्तपुर–५, चितवनको एसियन नेपाली कागज उद्योग, भरतपुर–२८, रामेछापको मन्थली डिलक्स एग्रो फरेस्ट्री मन्थली–१, सिन्धुपाल्चोकको कफी सहकारी उद्योग चौतारा साँगाचोक गढी–१० र काभ्रेको बि.जे.एस ह्याण्डीक्राफ्ट एन्ड पनौती सेभिनियर हाउस, पनौती–७ उत्कृष्ट उद्यमी घोषित भएका थिए ।
यस्तै प्रदेशकाे सर्वोत्कृष्ट उद्यमी काभ्रेको झ्याम्भल कृषि फर्म उद्योग प्रालि भएको छ । उक्त उद्योगलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको हाे । उद्योगले स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थको प्रयोग गरेर अचार, विभिन्न प्रकारका क्याण्डीहरु उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको मन्त्रालयले जनाएकाे छ ।
यसैबोच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालमा उद्योग संचालनको उपयुक्त वातावरण नरहेको बताएका छन् । १० औं उद्योग दिवसको अवसरमा हेटौँडामा आयोजित नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले उक्त कुरा बताएका हुन् ।
‘उद्यमीले लगानीका लागि राज्य तथा समुदायस्तरबाट समस्या छ’ उनले भने ‘उद्योग संचालनका लागि नागरिकस्तरबाटै सहयोग गरी उपयुक्त वातावरण तयार गरिनु पर्छ ।’ बागमती प्रदेश सरकारले उद्योग क्षेत्रलाई प्रोत्साहनका लागि नीति तयार गर्ने उनले बताए । ‘प्रदेशमा उद्योगमैत्री वातावरण तयार पार्न प्रदेश सरकार प्रतिवद्ध रहेको छ’ लामाले भने । उद्योग क्षेत्र युवा पलायन रोक्न र रोजगारी सृजनाको प्रमुख आधार रहेकाे लामाले बताए ।

