मकवानपुर । मकवानपुरकाे हेटौंडामा टी–१० क्रिकेट प्रतियाेगिता हुने भएकाे छ । मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरले टी–१० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको हाे ।
संगठनले आइतबार गरेकाे पत्रकार भेटघाटमा प्रतियोगिताको जानकारी गराइएकाे हाे । १२ देखि १५ मंसीरसम्म हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरमा प्रतियोगिता आयोजना गरिने भएकाे छ । प्रतियोगितामा बागमती प्रदेशका ७ र मधेश प्रदेशका ९ टिमले सहभागिता रहने नेपाल मुस्लिम इत्तेहाद सङ्गठन जिल्ला कमिटी मकवानपुरले जनाएकाे छ ।
नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल १२ मंसिर बिहान ८ बजे नेपाल स्टार क्लब र टिमबिल्ट फोर्टबीच हुने भएकाे छ ।प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक मुस्तफा अन्सारी जानकारी दिए । उनका अनुसार उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
मकवानपुर जिल्ला क्रिकेट संघको सहयोग रहने प्रतियोगितामा उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफि प्रदान गरिने प्रतियोगिताका सह संयोजक प्रमोद मानन्धरले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्नका लागि करिवब छ लाख रुपियाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । दुई प्रदेशबीचको सम्बन्ध स्थापित गर्न तथा खेलकुदको विकासका लागि प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएकाे छ ।
प्रतियाेगिताका संयोजक, सह संयोजक, मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश अध्यक्ष मोहमद समीम, जिल्ला क्रिकेट संघका सचिव विनोद बानियाँ लगायतको उपस्थितिमा पत्रकार भेटघाटमा रहेको थियो ।

