मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा भैरव जयन्ती मनाइएको छ । हेटौंडा २ स्थित जलेश्वर महादेव मन्दिर परिसरमा स्थापना गरिएको भैरवको मूर्तिमा पूजाआरती गर्दै भैरव जयन्ती मनाइएकाे हाे ।
करिव ६ महिनाअघि हेटौंडा–२ का रामचन्द्र आचार्य ‘फुर्सती’ परिवारले स्थापना गरेको भैरवको मूर्तिमा पूजाआजा, आरती गर्दै भैरव जयन्ती मनाइएको हो । मार्गकृष्ण अष्टमी साँझ भैरव उत्पत्ति भएको दिन मानिन्छ । यही दिनलाई आधार मानेर फुर्सती परिवारले भैरव स्तोत्रपाठ, आरती गरेको हो । भैरव जयन्तीको अवसरमा जलेश्वर महादेव मन्दिरमा सहभागी भक्तजनलाई टीका, प्रसाद वितरण गरिएको थियो ।
भैरव शिव भगवानको अवतार मानिन्छ । भैरवको बाहन कुकुर हो भएकाेले हरेक वर्षको यमपञ्चकमा कुकुरको पूजाआजा गरिन्छ । भैरवलाई मासको बारा, जेरी, पञ्चामृत विशेष अर्पण गरिन्छ । कठोर भन्दा कठोर संकटबाट मुक्ति पाउन भैरवको आराधना गर्दा राहत मिल्ने विश्वास गरिन्छ ।

