मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका करदातालाई सम्मान गरेको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नारा रहेको १३औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमको समापनका अवसरमा करदातालाई सम्मान गरेकाे हाे ।
कार्यालयले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा समग्र क्षेत्रतर्फ निक–लुम्बिनी विद्युत् जेभी, उद्योग क्षेत्रतर्फ यती पेन्ट्स नेपाल प्रालि, व्यापार क्षेत्रतर्फ न्यु ब्रदर हार्डवेयर, शैक्षिक क्षेत्रतर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस एजुकेसन प्रालिलाई सम्मान गरेको हो ।
यसैगरी बैंक तथा वित्तीय संस्थातर्फ पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड,अन्तःशुल्कतर्फ गोरखा लहरी प्रालिका संचालक/प्रतिनिधिलाई सम्मान गरिएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर र चेम्बर अफ कमर्श मकवानपुरलाई कर सहभागितामा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो । यस्तै नेपाल रेडक्रस सोसाइटी मकवानपुरलाई समेत सम्मान गरिएको छ ।
यसैगरी कर सप्ताहको तेस्रो दिन आयोजना गरिएको खुला निबन्ध लेखन प्रतियोगिताका विजेता हेटौंडा स्कुल अफ म्यानेजमेन्टकी छात्रा प्रतिभा भट्टराई प्रथम, सलिना धिताल द्वितीय र स्नेहा उप्रेती तृतीय भएका छन् ।
‘कर प्रणालीको सार: लगानीको आधार’ विषयको निबन्ध लेखनमाप्रथम,द्वितीय र तृतीय हुने भट्टराई, धिताल र उप्रेतीलाई प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र कर कार्यालयका प्रमुख युक्त सुवेदीले नगदसहित सम्मान गरेका थिए ।

