मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वाती भेट्रान्स क्लबकाे पोल्टामा परेकाे छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा भएकाे तेस्राे संस्करणकाे नागस्वती कप भेट्रान्स फुटबल प्रतियोगिता अन्तरगत शनिबार भएकाे फाइनलमा जोरपाटी भेट्रान्स काठमाडौंलाई ट्राई ब्रेकरमा ४–३ गोल अन्तरले पाखा लगाउँदै नागस्वती भेट्रान्स बी ले उपाधी हात पारेकाे हाे ।
यो सङै नागस्वती क्लबले लगातार तेस्रो संस्करणकाे उपाधी जितेकाे छ । उपाधीसँग नागस्वतीले २ लाख १ हजार नगद हात पारेकाे छ भने जोरपाटीले १ लाख १ हजार नगद सहित उपविजेतामा चित्त बुझाएकाे छ । हेटौडा ७ नागस्वती स्थित नवज्योति माविको खेल मैदानमा भएकाे फाइनल खेलकाे निर्धारित समयमा दुवै टोलीले एक/एक गोल गरेका थिए । खेल बराबरी भएपछि विजेताकाे छिनाेफानाे ट्राई ब्रेकरबाट लिइएकाे हाे ।
ट्राई ब्रेकरमा जोरपाटीको तर्फबाट राकेश लामा,निमा लामा र रञ्जित लामाले गोल गरेका थिए भने नागास्वतीको तर्फबाट मिलेन्द्र देवान,दिलीप छेत्री,विक्रम श्रेष्ठ र निमा लामाले गोल गरे । यसअघि भएकाे निर्धारित समयकाे खेलकाे ३९ औँ मिनेटमा नागस्वतीको तर्फबाट मिलेन्द्र देवानले गोल गरेका थिए । जोरपाटीको तर्फबाट ४६ औँ मिनेटमा निमा लामाले जवाफी गोल फर्काएका थिए । फाइनल खेलको म्यान अफ द म्याच नागस्वतीका गोलकिपर दिलीप छेत्री घोषित भएका थिए ।
खेलको सर्वोत्कृष्ट खेलाडी नागस्वतीका सन्तोष बस्नेत घोषित भएका थिए । बस्नेतले नगद ५० हजार प्राप्त गरे । यसैगरी खेलमा वेस्ट फर्वाड जोरपाटीका सुरज सुवेदी हुँदा वेस्ट गोलकिपर नागस्वतीका दिलीप छेत्री भए । वेस्ट डिफेन्डर मिलन राई, वेस्ट मिड फिल्ड राजकुमार घिसिङ,वेस्ट स्कोरर मिलेन्द्र देवान, वेस्ट टिम कोच भीम श्रेष्ठ घोषित भएका थिए । विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगद प्रदान गरिएकाे थियो ।
प्रतियोगितामा देशभरका १५ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहेको थियो । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिता ४ मंसिरबाट सुरु भएकाे हाे । विजयी खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले पुरस्कार वितरण गरे ।

