मकवानपुर । मकवानपुरकाे हेटौडा र चितवनकाे नारायणगढमा पत्रकार तथा लेखक सुधीर शर्माका २ वटा कृतिमाथि विमर्श गरिएको छ । शर्माका भिक्षु,व्यापार र विद्रोह र हिमालपारिको हुरी कृतिमाथि शुक्रबार हेटौडामा र शनिबार नारायणगढमा विमर्श गरिएको हो ।
घिमिरेले हेटौडामा लेखक शर्मासँग अन्तरक्रिया समेत गरेका हुन् । विमर्शमा मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले शर्माका दुबै कृतिको समीक्षात्मक प्रस्तुति राखेका थिए । नारायणगढमा भएकाे संवाद र विमर्श कार्यक्रममा लेखक शर्मासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गरेका छन् ।
‘भिक्षु, व्यापार र विद्रोह’ मा शर्माले मल्लकाल, लिच्छवीकाल, नेवार समुदायले तिब्बतमा पुगेर गरेको व्यापारको इतिहास, नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध र भारत,चीनमा माओत्सेतुङले गरेको साँस्कृतिक क्रान्तिको विषयमा समावेश गरिएकाे उपप्राध्यापक घिमिरेले जानकारी गराए । यसैगरी ‘हिमालपारिको हुरी’ मा शर्माले सन् २००८ पछि चीनले विश्वसामु व्यावसायीक खुलापनकाे रुपमा आफूलाई प्रस्तुत गर्न सुरु गरेको उनले बताए ।
किताब पब्लिसर्स र सम्पूर्ण किताबले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा लेखक शर्मासँग पत्रकार कँडेलले पुस्तकको विषयवस्तु, रचना गर्भ र पुस्तकले समेटेका क्षेत्रबारे विस्तृत कुराकानी गरे । लेखक शर्माले सात वर्ष लगाएर दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ एवं ‘हिमालपारिको हुरी’ लेखिएको बताए ।
राजतन्त्र रहुन्जेल कुटनीतिक सम्बन्धमा मात्रै रही सकेकाे सहयाेग गर्दै आएकाे चीनले राजतन्त्रकाे समाप्ती पछि सरकारमा पुग्ने दलका नेतालाई आफ्नाे अनुकुलकाे मित्रता बढाउन खाेजेकाे हिमालपारीकाे हुरीमा रहेकाे छ । यता भिक्षु, व्यापार र विद्रोहमा लेखक शर्माले २ सय वर्ष पहिलेकाे इतिहासदेखि नेपाल र चीनबीचको व्यापार सम्बन्धको प्रसंग समावेश गरिएको छ । पत्रकारले सतहीरुपमा लेख्छन्, अध्ययन, अनुसन्धान गर्दैनन् भन्ने समाजको बुझाई रहेकाे भाष्यलाई पत्रकारिताकाे माध्यम हुँदै लेखक बनेका शर्मा मुलुकको इतिहासलाई दस्तावेजीकरण गर्ने काम पुस्तक मार्फत गरेका छन् । शर्माका दुई कृति महत्वपूर्ण सावित हुने हेटौडा र नारायणगढकाे विमर्शमा बताइएकाे छ ।
शर्माका उक्त कृति माथि हेटौडा विमर्शमा राजनीतिज्ञ, प्राध्यापक, साहित्यकार, विद्यार्थीलगायतले जिज्ञासा राखेका थिए । नारायण संवाद विमर्शमा शिक्षाविद् चोलेन्द्र पण्डित, प्रेम रिमाल, कवि विपिन पाठक, पत्रकार गोविन्द न्यौपानेलगायतले लेखकसँग जिज्ञासा राखेका थिए । पाठकका जिज्ञासामाथि बोल्दै लेखक शर्माले नेपाल र चीनबिचको आर्थिक, साँस्कृतिक र राजनीतिक सम्बन्धका आयाम र यसले पार्ने प्रभाव बताए । उनले आफ्ना दुवैकृति विद्यार्थीकालागि इतिहास बुझ्ने माध्यम हुने साथै अनुसन्धानमूलक कृतिको रुपमा रहेकाे बताए ।
शैलीगत रुपमा आख्यानकाे रुपमा साहित्यकारले लिन सक्ने पुस्तक अनुसन्धानकर्ताको रुपमा अध्ययन, अनुसन्धानमा आधारित र थप अध्ययन अनुसन्धानका लागि कतिपय सन्दर्भ समेत उजागर गरिएको उनले बताए । दुई छिमेकी भारत र चीनमध्ये चीनलाई बुझ्न भाषाका साथै सामाजिक सास्कृतिक र भौगोलिक अवस्था लगायतका विविध कारणले गाह्रो भएको शर्माले जानकारी दिए । दुई ठूला देशबीचको नेपालले चीनसम्बन्धमा बुझ्ने, विश्लेषण गर्ने र रणनीतिक हिसाबले काम गर्न विज्ञ व्यक्तिहरु आवश्यक रहेको बताए । चीन भारतसँग नभई अमेरिकासँगको प्रतिस्पर्धामा रहेको तथा विश्वकै पहिलो शक्ति राष्ट्र बन्ने लक्ष्यमा अगाडि बढिरहेको उनले जानकारी दिए ।

