मकवानपुर । निर्वाचन आयोगले १६ मंसिरमा हुने उपनिर्वाचनकाे लागि नमुना मतपत्र सार्वजनिक गरेकाे छ । ३२ जिल्लाकाे ४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र आयोगले शुक्रबार सार्वजनिक गरेकाे हाे ।
आयोगले मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिइ कायम रहेका १२ जना उम्मेदवारको चुनाव चिन्ह समावेश गरेर नमुना मतपत्र सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रहरू तयार गरिएका आयोगद्वार जारी विज्ञप्तिमा जनाइएकाे छ।
स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ । यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू आयोगले शुक्रबार नै वेबसाइटमार्फत सार्वजनिक गरेको हाे ।
आयोगले नमुना मतपत्रमा २०७९ को निर्वाचनमा दलहरुले समानुपातिकतर्फ पाएको मतको आधारमा क्रम निर्धारण गरिएकाे तथा नयाँ दल प्रतिस्पर्धामा आएको खण्डमा आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएको दलको वर्णानुक्रमका आधारमा क्रम निर्धारण गरिएको जनाएकाे छ । स्वतन्त्र उम्मेदवारको हकमा दल पछिको क्रममा वर्णानुक्रमअनुसार मतपत्रमा चुनाव चिन्ह समावेश गरिएको छ ।
उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मंसिर १६ गते ४१ स्थानमा उपनिर्वाचन हुनेछ । ३३ जिल्लका ४४ स्थानमा उपनिर्वाचन गरिने कार्यतालिका रहे पनि ३ स्थानमा निर्विरोध भएकाे छन् ।

