मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी तेस्रो नागस्वती कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल समिकरण पुरा भएकाे छ । शुक्रबारकाे सेमिफाइनल खेलबाट आयोजक नागस्वती भेट्रान्स र जोरपाटी भेट्रान्स काठमाडौं फाइनल प्रवेश गरेका छन् ।
नागस्वती भेट्रान्स क्लबको आयोजनामा हेटौडा ७ नागस्वती स्थित नवज्योति माविको खेल मैदानमा प्रतियोगिता भएकाे हाे । प्रतियोगिता अन्तरगत शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा हेटौंडा भेट्रान्सलाई १–० गोलले पराजित गर्दै जोरपाटी भेट्रान्स फाइनल प्रवेश गरेको हो । जोरपाटीकाे जीतका लागि खेलको ८ औँ मिनेटमा जोरपाटीका सुरज सुबेदीले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच जोरपाटीका सुवेदी घोषित भए ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स बि ले लेक साइड भेट्रान्स पोखरालाई १–० गोल अन्तरमा हराउँदै फाइनल यात्रा तय गरेकाे हाे । खेलको ४३ औँ मिनेटमा नागस्वतीको तर्फबाट राजकुमार घिसिङले गोल गर्दै टिमलाई फाइनल प्रवेश गराए । खेलको म्यान अफ द म्याच घिसिङ घोषित भएका थिए ।
प्रतियाेगिता अन्तरगतकाे फाइनल खेल शनिवार दिउँसो २ बजे नागस्वती भेट्रान्स बी र जोरपाटी भेट्रान्स बीच हुनेछ । प्रतियोगितामा १५ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहेको थियाे । ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरूको सहभागी रहेकाे भेट्रान्सकाे यो तेस्राे संस्करण हाे । चार वर्ष अघि स्थापना भएको क्लबले लगातर गर्दै आएकाे प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले एक लाख १ हजार नगद हात पार्ने छन् ।

