मकवानपुर । चितवनमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
आइतबार राति भएको दुर्घटनामा मकवानपुरका २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आइतबार राति नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना नौकिलोमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना भएको थियो ।
चामल बोकेको उक्त ट्रक पल्टिदा मृत्यु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षीय श्याम बजगाईं तथा ३१ वर्षीय दीपक दाहाल रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बजगाईं र दाहालकाे उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
उक्त दुर्घटनामा घाइते घाइते मकवानपुर हेटौंडा उपमहानगरपालिका–१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका–६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक मकवानपुरगढी गाउँपालिका–६ का २८ वर्षीय दिनेश पुडासैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

