मकवानपुर । बागमती प्रदेशसभाबाट ३ वटा विधेयक पारित भएकाे छ । प्रदेशसभाको सोमबारको बैठकले संसदीय समितिले संसदमा पेस गरेको विधेयक पारित गरेको हो ।
प्रदेशसभाबाट प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएकाे हो ।
प्रदेशकी उद्योग , वाणिज्य , भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयककाे प्रस्ताव पेस गरेका थिए । यसैगरी प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयककाे प्रस्ताव पेश गरेका थिए । यस्तै प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रस्ताव पेश गरेका थिए ।
सभामुख भुवनकुमार पाठकले उक्त विधेयकहरु छलफलका प्रस्ताव पछि निर्णयार्थ प्रदेश सभामा पेस गरेका थिए । सभामुख पाठकले पेस गरेको उक्त विधेयकलाई सांसदहरूले सर्वसम्मत पारित गरेका हुन् ।
आइतबारकाे बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेस गरेका थिए । शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले समितिले दफावार छलफल गरेर तयार पारेको प्रदेश स्वास्थ्य ऐन २०७५ लाई व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेस गरेका हुन् ।
यसैगरी प्रदेश सभाकाे विभिन्न बैठकका विशेष समयमा प्रदेश सदस्यहरुले उठाएका समसामयीक तथा प्रदेशका कार्यक्षेत्र भित्रका विषयका सम्बन्धमा मुख्यमन्त्रीले जवाफ दिएका थिए । प्रदेश सभाकाे सोमबारकाे बैठकमा शुन्य तथा विशेष समय निर्धारण गरिएन् । सभामुख पाठकले प्रदेश सभाकाे अर्काे बैठक सूचना जारी नभएसम्मकाे लागि स्थगित गरे ।