मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणाकाे तयारीमा छ । ११ असोज २०८१ मा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएकाे हाे ।
वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरिएकाे सोमबार पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे । वडा घोषणा गर्ने मात्र होइन घोषणा पछिको जिम्मेवारीलाई समेत बहन गर्ने गरी अभियानमा जोडिएको हेटौंडा–९ का अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक सुकराम केसीले बताए ।
वडा अध्यक्ष केसीले सभ्य र भव्य कार्यक्रम गर्ने तयारीमा रहेको महाअभियानमा सबैलाई सहयोगी बन्न तथा सहभागिता जनाउन आव्हान समेत गरेका छन् ।
उनका अनुसार बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक रहेको ५१ सुचकलाई पुरा गर्दै वडालाई बालमैत्री घोषणा गरिने छ।यस अघि पूर्ण खोपयुक्त, पूर्ण साक्षर र खुल्ला दिशा मुक्त वडा घोषणा भइसकेको हेटौंडा ९ लाइ सातौं वडाको रुपमा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिने भएकाे हाे ।
घरधुरी तथ्याङक अनुसार वडामा १८ बर्ष मुनिका २ हजार ७०७ बालबालिका रहेकाेमा १ हजार ४४५ बालक र १ हजार २६२ जना बालिकाहरु रहेकाे वडा सचिव राजेन्द्रनाथ पोखरेलले जानकारी दिए ।
‘वडामा २५ वटा बाल समुह र १ वटा वडास्तरीय बाल सञ्जाल रहेकाेमा त्यसमा ६ सय २५ जना बालबालिका आवद्ध रहेका छन्’ उनले भने ‘बिभिन्न संरचनागत समितिमा ६५५ जना बालबालिकाहरको प्रत्यक्ष सहभागिता रहेको छ ।’
आगामी पौष सम्ममा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने गरी अभियान रहेकाे छ । साही अनुसार हेटौंडा उपमहानगरपालिकाका वडाहरु बालमैत्री घाेषणा हुँदै छन् । यस अघि हेटौंडा उपमहानगरपालिकाको ८, २, ७, १७, ४ र १० नम्बर वडा बालमैत्री घोषणा भएका छन् ।