मकवानपुर । बागमती प्रदेश सभाले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्व सम्मत पारित गरेको छ । सोमवारकाे प्रदेश सभाको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेकाे हाे ।
विधेयक सभामा दर्ता भएकाे करिब एक वर्षपछि पारित भएकाे हाे । तत्कालिन उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले २५ असोज २०८० मा उक्त विद्येयक दर्ता गरेका थिए । प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् । सभामुख भुवनकुमार पाठकले निर्णयार्थ सभामा पेस गरेकाे उक्त विधेयक प्रदेश सभाबाट सर्वसम्मत स्वीकृत भएकाे थियाे ।
आईतवार उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए । विद्येयक पारित भएसँगै हस्तकलालाई बागमती प्रदेशको अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा विकसित गरिने मन्त्री तामाङले बताइन् । विधेयक पारित भएसँगै स्वदेशी पुँजी, स्थानीय सीप तथा कला र स्रोतको अधिकतम परिचालन गराई स्वदेशमा निर्मित हस्तकलाका वस्तुहरुको पहिचानलाई विश्व बजारमा स्थापित गर्न मद्दत पुग्ने मन्त्री तामाङले जानकारी दिइन् ।
स्वदेशमा समेत हस्तकला सामग्रीहरुको प्रयोगमा वृद्धि गर्न र छरिएर रहेका लघु तथा घरेलु हस्तकला उद्योगहरुलाई एकीकृत गरी उत्पादन र हस्तकला उद्योगहरुको उत्पादकत्व अभिवृद्धि गर्न बागमती प्रदेशभित्र हस्तकलाग्राम स्थापना र सञ्चालनकाे कानुनी व्यवस्था गर्न विधेयक प्रभावकारी हुने उनले बताइन् ।
प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै तीन गुणाले उत्पादन र निर्यात बढाउन सकिने बाटो खुलेको हस्तकलाग्राम महासंघका केन्द्रिय अध्यक्ष प्रचण्ड शाक्यले बताए । शाक्यका अनुसार ८० प्रतिशत हस्तकला बागमती प्रदेशबाट निर्यात भईरहेको छ । देशभर १९ वटा जिल्लाका हस्कलाग्राम संघहरु आवद्ध छन् ।
हस्तकलाग्रामभित्र १३ वटा बस्तुगत संघ आवद्ध छन् । जसमध्ये पश्मीना, फेल्ट, धातुका सामान, काठका सामान, प्राकृतिक रेशाजन्य सामग्री र मिथिला पेन्टिङ हस्तकलाग्राम भित्र पर्दछन् । कपडाबाट बनेका सामानहरूमा खास गरेर पश्मीना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामानहरू पर्दछन् । यसैगरी ऊनबाट बनेका सामग्रीहरू, सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेतबाँस, थाङ्कालगायत भाँडाहरूमध्ये खास गरेर गमला, घ्याम्पो, घैँटो, हाँडी, खुत्रुके आदि हस्तकलाग्राम भित्र पर्दछन् ।