मकवानपुर । बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेकाे छ । प्रदेश सरकारले आइतबार पत्रकार सम्मेलन मार्फत न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रदेश सरकारले सुशासनको प्रत्याभूति दिलाउने, संघीयताको प्रभावकारी कार्यान्वयन गर्न समन्वय गर्ने, स्थानीय तहसँग सहकार्य गर्ने लगायतका ६७ बुँदामा रहेकाे साझा कार्यक्रम सार्वजनिक गरेको हाे ।
भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्न, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने,संविधानमा आवश्यक संशोधन गर्न र कानुन निर्माण गर्न संघीय सरकारलाई सहयोग गर्ने प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको छ । प्रदेश प्रहरी स्थापना गर्ने, प्रदेश सरकारका मन्त्रालयहरुका प्रदेश सचिवहरु र स्थानीय तहका प्रशासकीय अधिकृतहरु प्रदेश सरकारले खटाउने व्यवस्था गर्ने, फजुलखर्च कटौती गरी आर्थिक अनुशासनलाई कडाइका साथ पालना गर्ने सरकारको न्यूनतम साझा कार्यक्रम रहेको छ ।
संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघीय सरकारसँग सहकार्य र समन्वय गर्ने, प्रदेश योजना बैंक स्थापना गर्ने, ललितपुर महानगरलाई हस्तकलाको राजधानी घोषणा गर्ने, रुग्ण उद्योगहरुको प्राविधिक र आर्थिक सम्भाव्यताको आधारमा पुनः सञ्चालन गर्न संघीय सरकारसँग आवश्यक समन्वय गर्ने सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश छ ।
एक प्रदेश निर्वाचन क्षेत्र, एक स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योग स्थापना गर्ने, हेटौंडा–टेकु रज्जुमार्ग (रोप–वे) पुनः सञ्चालनमा ल्याउने, स्थानीय तहसँग सहकार्य गरी भूमि बैंक स्थापना गर्ने, ‘जनताको जिज्ञासा सुझाव र गुनासा प्रदेश सरकारलाई सिधा फोन’ कार्यक्रम गर्न सञ्चालनमा ल्याउने, एक जिल्ला एक उत्पादन क्षेत्र घोषणा गर्ने सरकार ल्याएकाे साझा कार्यक्रममा छ ।
प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामा, सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया,आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले,आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछाने तथा प्रदेश सभा सदस्यहरुको उपस्थितिमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । सरकारमा नरहेता पनि राप्रपाले न्युनतम साझा कार्यक्रममा सहमित जनाएको छ ।
हेर्नुहाेस साझा कार्यक्रम