मकवानपुर । बागमती प्रदेशसभाकाे आइतबारकाे बैठकमा ३ वटा विधेयकको प्रतिवेदन पेश भएको छ । बैठकमा शिक्षा,स्वास्थ्य तथा कृषि समितिका २ वटा र उद्योग, पर्यटन तथा वातावरण समितिको एउटा विधेयकको निर्णयकाे प्रतिवेदन पेश भएको हो ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले प्रदेश स्वास्थ्य ऐन २०७५ लाई व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रदेश सभामा पेश गरेका हुन् । उद्योग,पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेश गरेका छन् ।
यसैगरी सभामुख भुवन कुमार पाठकले संघीय सरकारको ध्यानाकर्षण गराए । बैठकमा सदस्य केशव प्रसाद पोखरेलले विद्युतीकरण सम्बन्धी विषयमा ध्यानाकर्षण प्रस्ताव पेश गरेका थिए । पोखरेलले पेश गरेको ध्यानाकर्षण प्रस्ताव माथि सभामुख पाठकले संघीय सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।
आइतबारकाे बैठकमा शुन्य समय व्यवस्था गरिएकाे थिएन । विशेष समयमा प्रदेश सभा सदस्यहरुले प्रदेशका समसामयीक विषय, बजेट प्रदेशका कानून कार्यान्वयनकाे स्थिति, नयाँ सरकारकाे २ महिना अवधिकाे काम तथा चाडवाडकाे समयमा जनताले पाउने सास्तीलगायतका विषयमा धारणा राखेका थिए । विशेष समयमा राजेन्द्र प्रजापति,मातृका प्रसाद भट्टराई,डम्बर तामाङ,भरत बहादुर केसी, तारा नारायण श्रेष्ठ,आशा लामा, भारती कुमारी पाठक,शैलेन्द्रमान बज्राचार्य, सुरेन्द्रराज गोसाई, उद्धब थापा,आनन्द कुमार श्रेष्ठ,राम कुमार पहाडीले धारणा राखेका थिए ।
यसैगरी मुख्यमन्त्री बहादुर सिं लामाले महालेखा परीक्षककाे छैटौ प्रतिवेदन २०८१ सभामा पेश गरेका थिए । सभामुख पाठकले प्रदेश सभाकाे अर्को बैठक ७ असोज सोमबार बस्ने गरी ताेकेका छन् ।

