मकवानपुर । ३४ वर्षीया शरिस्मा बिश्वकर्माको दैनिकी एकाएक फेरिएको छ । झण्डै आधा दशक जापान बसेर नेपाल फर्केकी शरिस्मा अहिले चटपटे पसलमा रमाएकी छिन् ।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ हाँडीखोला घर भएकी उनी हेटौंडा ४ मा सटर भाडामा लिएर चटपटे, पानी पुरी र चिया बेच्छिन् । केही बाध्यता केही खुसी, धेरै भोगाइ, केही सिकाइले भरिएको छ उनको जीवन । जीवनको ३ दशक बित्न नपाउँदै उनी एकल महिला महिला भएकी छिन् ।
उनको साथमा छिन् ८ वर्षीया छोरी । श्रीमानसँगको खटपटकै कारण उनले सपनाको शहर जापानको बसाइ छोड्नु पर्यो । पारिवारीक सम्बन्ध बलियो बनाउन नेपाल आएइन् तर सम्बन्ध बलियो बनेन, बरु सदाको लागि टुट्यो । सम्बन्ध टुटे पनि उनले हिम्मत टुटाइनन्, र सुरु गरिन् सानो लगानीको पसल । जसले आज शरिस्मालाई बाच्ने आधार खडा गरेको छ ।
सन् २०१७ मा जापान गएकी शरिस्माले उतै रहदा नेपाली केटासँग विवाह गरिन, विवाहको २ वर्षपछि छोरीलाई जन्म दिइन ।
तर, श्रीमानसँगको सम्बन्ध सदाझै प्रेमिल भएन । अर्कोको देशमा खटपट बैवाहिक सम्बन्धमा रहन समस्या भएपछि उनीहरु डेढवर्षको अन्तरालमा नेपाल फर्किए । पछिल्लो समय श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी उनीले सानो लगानीमा ठुलो खुसी खोजिरहेकी छिन् । “जापानमा कमाएको केही पैसा श्रीमानको परिवारमा फस्यो, केही अन्य व्यापारमा फस्यो, अब यहाँ सानो लगानी गरेको छु, राम्रै छ” उनी भन्छिन् “सानो लगानी गर्दा, फसियो भने पनि थोरै पैसा फस्छ, मलाई यसमा राम्रै बचत बसेको पनि छ ।”
सुरुमा उनले यहाँ चिया, बिस्कुट, चाउचाउ राखेकी थिइन् । सत्यको धर्म सत्य टिकाउनुमा हुन्छ भनेझै उनले आफ्नो पसललाई व्यवस्थित बनाउन अर्को अवसर पाइन, व्यवसायिक तालिम लिने । हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनको आयोजनामा भएको व्यवसायिक तालिममा उनी सहभागी भइन् ।
जहाँ उनले आफ्नो व्यवसायिक सफलता पाउनको लागि धेरै टिप्सहरु पाइन् । “त्यसपछि मैले यहाँ खाजामा चटपटे, पानी पुरी पनि थप गरेकी हुँ” उनी भन्छिन् “माग बुझेर काम गर्दा सफल हुने रहेछ ।” उनी अहिले एक पटकमा १०/१२ हजारको सामग्री राख्छिन् । उनी भन्छिन् “पसलबाट सन्तोषजनक नै बचत छ ।”
भनिन्छ “समस्या एक्लै आउँदैन, यसले समाधान पनि सँगै ल्याएकै हुन्छ, बस पहिचान गर्ने क्षमतामा भर पर्छ ।” अहिले आर्थिक मन्दीको मारमा परेको चर्चा सर्वत्र सुनिन्छ । कतिपय अवस्थामा व्यक्तिहरुले डिप्रेसन तथा आत्महत्याका कारणलाई समेत आर्थिक मन्दीकै कारण जोड्ने गरिन्छ । तर यसबारे यथार्थ खोज तथा अनुसन्धान भएको छैन ।
आर्थिक मन्दीको मारमा पनि त जीवन धान्न पर्यो, बालबालिका पढाउँनै पर्यो, समस्यासँग भागेर जीवन रहन्न । युवा पुस्तामा निराशा बढ्दै गर्दा मकवानपुरका केही युवाहरु निशारालाई फालेर उद्यममा लागेका छन् । उद्यमको लागि ठुलै लगानी र तडक भडक पनि चाहिदैन भन्ने सुझबुझ देखिन्छ उनीहरुमा ।
सानो लगानीबाट पर्याप्त आन्दानी गर्न सकिन्छ भन्ने अर्को उदाहरणीय पात्र हुन् हेटौंडा १२ कि ४५ वर्षीया लक्ष्मी लामा । आर्थिक अभावको कारण आफ्नो परिवार धान्न धौ धौ थियो । श्रीमान्को मृत्युपछि सबै जिम्मेवारी आफ्नो एकल काँधमा पर्यो, उनी पनि शरिस्मासँगै हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनको तालिममा सहभागी भइन् । यसबाट मासिक १५ देखि १७ हजारसम्म बचत बस्ने गरेको उनी बताउँछिन् । “टोलमा बस्ति पातलो छ, बजारजस्तो भएको भए धेरै गर्न सकिन्थ्यो होला” उनी भन्छिन । लक्ष्मीले आफ्नो घर नजिकैको स्कुलमा क्यान्टिन पनि सञ्चालन गर्छिन । तर, त्यहाँबाट आफूलार्ई दुख गरेजस्तो आम्दानी नभएको उनी बताउँछिन् ।
चटपटे पसलको लागि उनी सबै सामग्री घरैमा जुटाउँछिन् । “पसलबाट अखाद्य सामग्री राखेर बनायो भने विक्री पनि हुँदैन, धेरै जसो सामग्री आफैंले बनाउँछु” उनी भन्छिन् “आफ्नै तोरीको छोप, बारीको बन्दा, खुर्सानी, केराउलगायत सामग्री आफैं बनाउँछिन् । “सुरुमा त मैले ३ हजार लगानी गरेको हो” लक्ष्मी भन्छिन् “आफ्नो लगानी अनुसार धेरै राम्रो फाइदा छ, अब स्कुलको क्यान्टिन पनि छाडेर यसैलाई बढी समय दिने बारे सोच्दैछु ।”
हेटौंडा १९ सान्ननिटारकी २९ वर्षिया रश्मी गौतमलाई अब बाँच्ने रहर जागेको छ । जीवनको २ दश पार गर्दैगर्दा श्रीमानबाट एक्लिएकी उनी एक छोराकी आमा समेत हुन् । उनको देब्रे हात राम्रोसँग चल्दैन । श्रीमानले अर्को विवाह गरेपछि जीवनसँगै निराश थिइन् ।
“आफूखुसी विवाह गरें, श्रीमानबाट पनि विवाह गरेको २ वर्षपछि नै धोका भयो, माइतीले साथ नदिएको भए र आफूलाई व्यवसायिक सिपको लागि उर्जा नपाएको भए म कहाँ हुन्थे होला” उनी भन्छिन् “केही गरेर बाचुँ भन्ने उत्साह सानो व्यवसायले दिएको छ ।”
लक्ष्मी र शरिस्मा जस्तै उनी पनि अहिले आफ्नै घरमा चटपटे, पानीपुरीको व्यवसाय गरेर छोराको लागि पढाइ खर्च जुटाइरहेकी छिन् । “बस्ति पातलो छ,धेरै व्यापार त हुँदैन तर मलाई यहीबाट केही गर्न सक्छु भन्ने लागेको छ, विस्तारै होला ।” उनले १३ हजार लगानीमा चटपटे पसल सुरु गरेकी हुन् । जहाँ उनले दैनिक १ हजार ३ सय रुपैयासम्मको चटपटे बेच्छिन् । “यतिञ्जेल अरुको खुसीको लागि आफ्नो ख्याल गरिन्, न्यायको लागि लड्दै समय गयो, अब आफ्नै खुसीको लागि सोच्छु, पसलबाट खुसी छु” रश्मी भन्छिन् । विवाह भएको नौ वर्षसम्म न विहे दर्ता गर्न सकिन् न त नागरिकता नै बनाउन सकिन् । नागरिकता नभएका कारण कुनै दर्तावाल व्यवसाय गर्न पाएकी छैनन् ।
हेटौंडा ३ बसामाडी कि ३९ वर्षीया मिरा गौतमले पनि घरमा चटपटे र फलफूलको व्यापार सुरु गरेकी छिन् । फलफूलमा पनि केरामा उनको प्राथमिकतामा छ । दैनिक ५ देखि ९ सयसम्मको व्यापार गर्छिन । “काँचो केरा ल्याएर आफैं पकाउँछु, बेच्दा राम्रो नाफा बस्छ” उनले भनिन् “लगानी धेरै चाहिदैन, नाफा बसेकै छ ।”
युवाहरु स्वदेशमा बाँच्नै नसकिने भन्दै विदेशीने क्रम जारी छ, तर सानो सानो लगानीमा पनि जीवनमा सफलता पाउन सकिन्छ भन्ने उदाहरण हुन् यि युवाहरु । बागमती प्रदेशको युवालाई स्वरोगार बनाउने लक्ष्यका साथ प्रदेश युवा परिषदले विभिन्न सिपमुलक तालिम दिंदै आएको छ । जसलाई तालिम पछि व्यवहारमा समेत उतार्ने हो भने जीवनको गुजारा चल्ने मात्रै हैन, व्यवसायिक सफलता पाउन सकिने परिषदमा कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई बताउँछन् ।
चौलागाईका अनुसार हरेक युवा सिप युक्त, युवा बनाउने लक्ष्यका साथ बागमती प्रदेश युवा परिषदले गत आर्थिक वर्षमामात्रै ५ हजार युवालाई स्वरोजगार बनाउने तालिम दिएको छ । “सिप सिक्ने, स्वरोगार बन्ने स्वावलम्वी बन्ने अभियान चलाएको हौं, साथै सिप परीक्षण गर्ने र सिपको व्यवसायिक सुनिश्चितता गर्ने समेतको काममा हामीले सहयोग गर्दै आएका छौं” कार्र्यकारी उपाध्यक्ष चौलागाईले भने ।
शरिस्मा, रश्मी, मिराहरु यस्तो तालिमका उत्पादन हुन् । जो रोजगारीको लागि भौतारीएका छैनन्, सानो लगानीबाट परिवार राम्रौ हाँकेका छन् ।
स्थानीय सरकारलगायत विभिन्न निकायहरुले विभिन्न सिपको तालिम दिन्छन, तर तालिमले मात्रै व्यवसायको मेलोमेसो नपाउने धेरै छन् । “हामीले उक्त तालिमको सिपलाई कसरी दैनानुदिन व्यवसाय सञ्चालनमा उतार्ने भन्ने पनि सिकाउँछौ” हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशन कोषध्यक्ष स्वस्तिका बानियाँ भन्छिन् । “समय, लगानी र नाफाको हिसाब मिलाएर काम गर्न व्यवसायिक योजनाको कुराहरु सिकाउँदा उहाँहरुलाई काममा सहजता र राम्रो उपलब्धि हुने रहेछ” बानियाँले भनिन् ।
साना व्यवसाय भन्ने वित्तिकै धेरैजसोले चटपटे,पानीपुरीजस्ता व्यवसाय रोजेको भेटिएपछि आफूहरुले त्यो खाजालाई स्वास्थकर बनाउनको लागि पनि सिप सिकाउने गरेको बानियाँ बताउँछिन् । चटपटे, पानी पुरी जस्तो खाजामा हाइजेनिक बनाउनको लागि चुक अमिलोको सट्टामा गाउँघरमै पाइने इमिलीको अचार, फ्रेस कागती राख्ने, बन्दा, काँक्रो, चना, टमाटर, मुला, गाजार राखेर हाइजेनिक बनाउनको लागि आफूहरुले सुझाव दिने गरेको उनी बताउँछिन् । “अजिनो मोटा त खानै हुदैन, चाउचाउ पनि विस्तारै हटाउँदै जान प्रेरित गर्ने गरेका छौ, ति अखाद्य कुराहरु राखेर मात्रै स्वाद मिठो हुने हैन, हाइजेनिक खाजा पाउने भएपछि व्यापार उसै बढ्छ” उनले भनिन् ।
सिप सिकाएर आत्मानिर्भर बनाउने काममा हेडम्वा डेभलवमेन्टले प्रदेश युवा परिषदसँग समन्वय गर्दै आएको छ । यसै अन्तरगत २० जनालाई काठको ठेकी बनाउने तालिम र ४० जना थोरै लगानीमा सञ्चालन गर्न सकिने साना व्यवसाय प्रवद्धनको लागि सिप विकास तालिम प्रदान गरेको बानियाँले बताइन् । उनीहरु सबैजना सिपलाई जीउने आधारको रुपमा प्रयोग गरिरहेका छन् । आर्थिक रुपमा पछाडी परेकाहरुलाई व्यवसायिक सिप सिकाएर आत्मानिर्भर बनाउने युवा परिषदको समेत लक्ष्य रहको चौलागाईंले बताए ।

