मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकास्थित बकैया खोलाले बगाएर बेपत्ता भएका एक जना मंगलबार मृत अवस्थामा फेला परेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा मंगलबार खोलाकाे किनारमा शव फेला परेको हाे। बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आएका रौतहट चन्द्रपुर–२ जुडिबेलाका माझी २१ भदौमा बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले माझीकाे शव प्रादेशिक अस्पताल कलैया बारा पठाइएकोमा पोष्टमार्टम पछि आफन्तकाे जिम्मा लगाइएकाे मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

