मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलबार भएको खेलमा हरिवन भेट्रान्स सर्लाही र निजगढ भेट्रान्सले विजयी सुरुवात गरेका छन् ।
रोटरी क्लव अफ मकवानपुरको आयोजनामा भएकाे प्रतियोगिताकाे मङ्गलबार भएको पहिलो खेलमा घरेलु टिम हेटौंडा भेट्रान्सलाई ४–० को गोल अन्तरले पराजित गर्दै हरिवन भेट्रान्सले विजयी भएकाे छ । यसैगरी मंगबारकै दोस्रो खेलमा आयोजक रोटरी पिप्ले भेट्रान्सलाई ट्राइबेकरमा ३–१ को गोल अन्तरले पराजित गर्दै निजगढ भेट्रान्सले विजयी शुरुवात गरेको छ । निर्धारित समय गोलरहित भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो ।
प्रतियोगिता अन्तर्गत बुधबार युनिटी भेट्रान्स विरगंज र फ्रिडम फाईटर भेट्रान्स काठमाडौंबीच खेल हुने आयोजकले जनाएकाे छ । यसैगरी बुधबार नै अभिषेक चर्च भेट्रान्स नवलपुर र सिमरा भेट्रान्स बाराबीच प्रतिष्पर्धा हुनेछ । यस अघि साेमबारकाे उद्घाटन खेलमा चितवन भेट्रान्सले विजय सुरुवात गरेकाे छ । प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडाको नागस्वती भेट्रान्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउादै साविक विजेता चितवन विजयी भएको हो ।
भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको १५ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी सर्वोत्कृष्ट प्रशिक्षकले १० हजार, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, सर्वोत्कृष्ट डिफेन्स सर्वोत्कृष्ट मिडफिल्डर तथा सर्वोत्कृष्ट फरवार्डले जनही ५/५ हजार रुपैंया प्राप्त गर्ने छन् ।
आयोजकका अनुसार सामाजिक एवम् मानवीय सहयोगको साथसाथै खेलकुदमा पनि रोटरी भन्ने नारालाई आत्मसाथ गर्दै रोटरी क्लव अफ मकवानपुरले आठ वर्षपछि जलन प्राथमिक उपचार केन्द्र निर्माणलाई सहयोगकाे लागि प्रतियोगीता आयोजना गरेकाे हाे ।
प्रतियोगीताका लागि करिब १६ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजककाे छ । रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।

