काठमाडौं । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको विकृति र बिसङ्गती हटाउने गरि काम गर्ने बताएका छन् । स्वास्थ्य क्षेत्रमा कमिकमजोरीका कुराहरू सुनिने गरेको भन्दै मन्त्री थापाले यसको न्यूनीकरणका लागि सदैव तत्पर रहने बताए ।
भक्तपुरको सुर्यविनायक नगरपालिका ९ नखेलस्थित नन्दिकेशर महादेव मन्दिरमा भैरहेको श्रावणी मेलामा प्रमुख अतिथि रहनु भएका मन्त्री थापाले स्वास्थ्य सेवाबाट कोहि पनि वन्चित हुन नहुने बताए । जनताको काम गर्न मन्त्री पदमा रहेकाे भन्दै उनले लोभ लालचमा आफू नफस्ने समेत स्पष्ट पारे ।
आफूले मन्त्रीको पदभार ग्रहण गरेकै दिन क्यान्सरका विरामीहरुलाई १ लाख सहयोग उपलब्ध गराउने निर्णय गरेकाे समेत उनले जानकारी दिए । ‘विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय भएको छ’ मन्त्री थापाले भने ।
भक्तपुरमा धेरै धार्मिक स्थल भएकोले यसको प्रवर्द्धनमा प्रदेश सरकार लाग्ने उनले बताए । सबै धार्मिक स्थलमा दर्शनका लागि सहज पहुँचका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जानकारी दिए । प्रदेश सभा सदस्य निर्वाचित भएपछि नै स्वास्थ्य, शिक्षा, पुर्वाधारसङ्गै धार्मिक पर्यटन प्रवर्द्धन एवम् अन्य विकास निर्माणमा आफूले सहजीकरण गरिरहेको उनले बताए ।

