चितवन । बाघको आक्रमणबाट घाइते पशुपति श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल अस्पताल आएका छन् ।
आईतवार बिहान भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा मर्निङ्गवाकमा हिडिरहेका चितवनका ६० वर्षीय श्रेष्ठ बाघको आक्रमणमा परि घाईते भएका थिए । हाल चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न मन्त्री सिलवाल सोमबार अस्पताल पुगेका हुन् ।
घाईते श्रेष्ठसँग भेटका क्रममा मन्त्री सिलवालले स्वास्थ्यलाभको कामना सहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसंग बुझेका थिए । यस्तै मन्त्री सिलवालले बिरामीको उपचारमा कुनैपनि कमी नहोस भन्दै आवश्यक परेको खण्डमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले आर्थिक सहायता समेत गर्ने प्रतिबद्धता जनाए ।
यस्तै भरतपुर महानगरपालिका- २ बेलटाँडी निवासी श्रेष्ठले आफू घाइते भई उपचार गर्दै गरेको अवस्थामा प्रदेशको मन्त्री अस्पतालमै आएर भेट्दा खुसी लागेको बताए । श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आईतवार राती नियन्त्रणमा लिएर सौराहा निकुञ्ज लगेकाे छ ।

