मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ का सांसद दीपक बहादुर सिंहले एक वर्षको तलब रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।
प्रतिनिधि सभा पुर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले मंगलबार तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइत समेतको उपस्थितीमा ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरे ।
सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजारमा ३ लाख ८७ हजार रुपैयाँ थप गरी आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा सांसद सिंहले आफूले निर्वाचनका बेला जनतासँग गरेको मध्य एउटा बाचा पहिलो वर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताल मार्फत उपलब्ध गराउने पुरा गरेको बताए ।
कार्यक्रममा डाक्टर रुइतले सांसद सिंहले गरेको सहयोग अन्तरआत्माबाट आएको मनोभावनाका रुपमा लिनु पर्ने जानकारी दिए । सांसद सिंहले गर्नु भएको सहयोग गरिब जनतामा पुर्याउने उनले बताए । मकवानपुरकाे हेटौंडा ३ बसामाडीमा निर्माणधिन आँखाको लेन्स उत्पादन गर्ने भवनको लागि पनि सो रकम प्रयोग गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पताल व्यवस्थापन समितीका संरक्षक सिद्धीलाल श्रेष्ठ, अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली, हेटौडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरिबोल महत, हेटौंडा वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामालगायतको उपस्थिति रहेको थियो ।
मकवानपुरकाे हेटाैडामा रहेकाे सामुदाियक आँखा अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवा ग्राहीले सेवा लिने गरेका छन् । यहाँ मधेश प्रदेश र बागमती प्रदेशमा रहेका आँखा सम्बन्धी समस्या भएकाहरुलाई याे अस्पतालले सेवा प्रदान गर्दै आएकाे अस्पतालका प्रशासकीय प्रमुख सुधिर श्रेष्ठले बताए ।

