मकवानपुर । जनसरोकारका सवालमा प्रदेश सरकारको उपस्थिति कमजोर भएको भन्दै नेकपा एमाले खबरदारी गरेको छ ।
बागमती प्रदेशको नेकपा (एमाले) संसदीय दलको बैठकमा यस्तो खबरदारी गरिएको हो ।
सरकारले अनावश्यक हल्ला फिजाउँदा एमाले अब सशक्त भएर लाग्ने दलले निर्णय गरेको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा हेटौंडामा बसेको बैठकमा अधिकांश सदस्यले सरकार प्रति प्रतिपक्षको व्यबहार आवश्यकभन्दा नरम र लचिलो भएकोले सरकारले पेलेर अघिबढ्ने नीति लिएको बताए । एमालेका प्राय प्रदेश सभा सदस्यहरुले प्रतिपक्ष सरकार जस्तो लचिलो र सरकार चाहिँ प्रतिपक्ष जस्तो कडा भएको भन्दै टिप्पणी गरेका थियो ।
बैठकमा बोल्दै प्रदेश सभा सदस्य तथा नेकपा(एमाले ) मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनताको आवश्यकता परिपूर्ति गर्ने र समानुपातिक तथा समतामूलक विकासका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा बताए ।
नेकपा ( एमाले) का केन्द्रीय सदस्य समेत रहनुभएका प्रदेश सभा सदस्य भारती पाठकले सरकारका केही मन्त्रीले विकास बजेट दिनुलाई आफ्नो ढुकुटीबाट दान दिएको रूपमा व्यबहार गर्न थालेको टिप्पणी गरिन । उनले सरकारको दम्भ र स्वेच्छाचारीतामा मलजल पुग्ने काम नगर्न नेतृत्वलाई खबरदारी गरिन ।
सरकारले आफूहरूको मागको गलत ब्याख्या गर्दै सर्वसाधारण अनावश्यक हल्ला फिजाएकोमा संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले आक्रोश व्यक्त गरे ।
“संसदीय समितिको पदाधिकारी टुङ्ग्याइनु पर्ने एमालेको मागलाई सरकारको एक मन्त्रीले एमालेले सबै समितिको सभापति माग्यो भनेर हल्ला गर्दै हिडेको समेत पाइएको छ,पार्टीले आफ्नो धारण स्पष्ट रुपमा बाहिर ल्याउनु पर्छ,हामीले यस्तो माग राखेकै हैनौ” पौडेलले भने “हामीले समानुपातिक र समावेशी विकास हुनुपर्ने र त्यसका लागि बजेट पुस्तकमा नपारिएका तर आमनागरिकका सवालमा गर्नै पर्ने योजनाको विवरण पेश गर्यौ, सरकारले त्यो कार्यान्वयन गर्ने लिखित सम्झौता पनि गर्यो , तर त्यो कार्यान्वयन गर्नुको साटो एमालेले पैसाको कुरा नमिलेर संसद चल्न दिएन भन्ने जस्ता हल्ला चलाएको छ ।”
संसदीय दलका नेता थपलियाले हाल सरकार प्रतिपक्षीको माग प्रति केही लचिलो देखिए पनि स्वेच्छाचारी गतिविधि गर्न नछाडेकाले विश्वास गर्न नसकिने बताए। एमाले जनताको पार्टी भएकोले जनताका पक्षमा डटेर लागिरहनु पर्ने बताए। आफ्ना दलका प्रदेश सभा सदस्यलाई प्रदेश सभाको आगामी बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिदै नेता थपलियाले परिस्थिति अनुसार चल्न तयार रहन आग्रह गरे।

