मकवानपुर । महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अन्तिम प्रि–क्वाटरफाइनल खेलमा मोरक्को फ्रान्ससँग ४–० ले पराजित भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हाे ।
पहिलो हाफमै ३ गोल खाएको मोरक्कोले फ्रान्सका खेलाडीलाई रोक्न सकेन । पराजित मोरक्कोले पनि गोल गर्ने अवसर प्रशस्त पाए पनि अवसरकाे सदुपयोग गर्न सकेन । महिला विश्वकपकाे दुई क्वाटरफाइनल खेल न्यूजिल्यान्डमा हुनेछ । यस्तै दुईवटा क्वाटरफाइनल खेल अस्ट्रेलियामा हुने कार्यतालिका छ ।
क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड वालिङटनमा भिड्दा अकल्यान्डमा जापान र स्वीडेनले शुक्रबार खेल्ने भएका छन् । फ्रान्सले शनिबार आयोजक अस्ट्रेलियासँग ब्रिसवनमा क्वाटरफाइनल खेल्दा सिड्नीमा इग्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ ।

