मकवानपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको शेयर पुँजी ४ करोड ४० लाख १५ हजार पुगेको छ ।
अघिल्लो आर्थिक बर्षमा ४ करोड ६ लाख ५५ हजार रहेकोमा यस बर्ष उक्त पुँजी बढेको प्रतिवेदन मार्फत सार्वजनिक गरिएको हो । संघमा ७६ करोड ११ लाख ३६ हजार ६७८ बचत रहेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघको सनिवार १७ औ बार्षिक साधारण सभामा यस्तो प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीभित्र अवसर खोजेर अघिबढ्नु पर्ने बताए ।
सहकारीहरूले संवेदनशील समयमा शेयर लगानीकर्ताहरूसंग सहकारीको सहकार्य उत्कृष्ट रहेको देवकोटाले बताए । सहकारीको एकीकरणलाई प्राथमिकता दिनुपर्ने देवकोटाले बताए । सहकारी भित्रको विकृति बढेकोले यसतर्फ ध्यान दिन सहकारीकर्मीहरूलाई उनले आग्रह गरे ।

संघले विभिन्न बिधामा सहकारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । संघले उत्कृष्ट सहकारीको रुपमा महिला सहकारी अन्तरगत महिला मिलन साकोस, मिश्रत सहकारी अन्तरगत नमुना मकवानपुर साकोस उत्कृष्ट भएको उपाध्यक्ष मिना चौरेलले बताइन् ।
यसैगरी उत्कृष्ट सहकारी महिला कर्मचारी अन्तरगत महिला कल्याण साकोसको मेनुका हुमगाई, सहकारी अभियानकर्मीको रूपमा इन्द्र सरोवर गाउपालिका उमा लामा र जयप्रकाश घिमिरे, उत्कृष्ट दैनिक बचकर्ता सहकारीको रुपमा गणपति बाबा साकोस, एकीकरण भएका साकोसहरूमा श्रमिक सुरक्षित साकोस र दर्पण मनहरी साकोस, धेरै बचत जम्मा गर्न सफल साकोस हेटौंडा साकोस, सर्वाधिक ऋण परिचालन गर्ने सहकारीको रुपमा महिलासेवा साकोसलगायतलाई सम्मान गरेको हो । संघमा १३९ साकोसहरू सदस्य रहेका छन् । अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

