मकवानपुर। मकवानपुरकाे हेटौंडामा ‘जाऔँ पोखरा’ अभियान सुरु गरिएकाे छ । होटल संघ पोखराको पहलमा ‘जाऔँ पोखरा’ अभियान २०८२ हेटौंडामा आन्तरिक पर्यटनलाई प्रोत्साहनकाे लागि सार्वजनिक गरिएको हाे ।
शुक्रबार हेटौंडामा पत्रकार भेटघाट मार्फत उक्त अभियानकाे औपचारिक जानकारी दिइएको हाे । संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अभियानले विशेषगरी आन्तरिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। यस क्रममा इटहरी, विराटनगर, झापा लगायत पूर्वी नेपालका प्रमुख सहरहरूमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ। अभियान नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाइएको हो।
आयोजकले पछिल्लो समय विश्वव्यापी आर्थिक प्रभावका कारण विदेशी पर्यटक आगमन घटेको उल्लेख गर्दै दिगो पर्यटन विकासका लागि स्वदेशी पर्यटकको भूमिका महत्वपूर्ण हुने बताए। पोखराको होटलकर्मी, पर्यटन व्यवसायी र सञ्चारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनको प्याकेज सार्वजनिकजस्ता गतिविधि समेटिएकाे सुवेदीले जानकारी दिए ।
पोखरामा आयोजना हुने महोत्सवमा सहभागिताका लागि बागमती प्रदेशकाे राजधानी हेटौंडा लगायतका स्थानका बासिन्दालाई निमन्त्रणा प्रदान गर्ने अभिप्राय पनि अभियानले लिएको बताइएकाे छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै वार्षिक १० लाखभन्दा बढी पर्यटकलाई सेवा दिने लक्ष्य राखिएको छ। भुटान र चीनबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसकेका छन् भने भारत लगायत अन्य देशमा पनि उडान विस्तारको तयारी भइरहेको छ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखरामा फेवा नव वर्ष महोत्सव, सडक महोत्सव र खाना महोत्सव आयोजना गरिनेछ। साथै भारतीय सहरहरूमा ‘चलिए पोखरा’ अभियान सञ्चालन र अन्तर्राष्ट्रिय ट्राभल मार्टहरूमा सहभागिता जनाउने तयारी छ। पोखरालाई ‘पर्यटनको राजधानी’का रूपमा स्थापित गर्न होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने करिब ६० हजार बेड क्षमता रहेको बताइएको छ। यस क्षेत्रबाट १९ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
पोखरामा बन्जी जम्प, जिप लाइन, प्याराग्लाइडिङ, केबलकार र अल्ट्रालाइट जस्ता साहसिक गतिविधिहरू उपलब्ध रहेको उल्लेख गर्दै आयोजकले प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा पोखराको प्रवर्द्धन गर्न आग्रह गरेका छन्। नेपाली कला र संस्कृतिको संरक्षण र सम्वर्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले अभियानअन्तर्गत चैत २९ देखि वैशाख १ गतेसम्म फेवा ताल किनार लेकसाइड क्षेत्रमा २१औँ फेवा नव वर्ष महोत्सव आयोजना गर्ने भएकाे छ। सो अवसरमा आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल दरमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
हाल अमेरिका र इजरायल तथा इरान युद्धका कारण मध्यपूर्वमा भइरहेको तनावका कारण कतिपय बाह्य पर्यटकहरूले नेपाल घुम्ने कार्यक्रमलाई रद्द गरिरहेको बेला सो महोत्सवले आन्तरिक पर्यटकलाई आर्कषित गर्न सकेमा पोखराको पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा आयोजकले राखेकाे छ ।
आन्तरिक पर्यटन प्रवर्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता बोकेर २२ वर्षअघि सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएपछि यसलाई संघले निरन्तरता दिदै आएकाे छ ।

