मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक रग्बीकाे मैत्रीपूर्ण खेल हुने भएको छ । मकवानपुर रग्बी संघ र चितवन रग्बी संघबीच २ मैत्रीपूर्ण खेल हुने भएको हो ।
आगामी भदौैं १० र ११ गते दुबै जिल्लाका रग्बी संघ बीच मैत्रीपुर्ण खेल खेल्ने तय भएको मकवानपुर जिल्ला रग्बी संघले जनाएकाे छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेलमा महिला रग्बी टिम र पुरुष रग्बी दुबै टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । यस अघि मकवानपुरका रग्बी टिम खेलाडी चितवन र काठमाडौंमा खेल्दैै आएका थिए ।
मकवानपुरमा रग्बी खेल खेलाउन नसकेको अवस्थामा पहिलो पटक मकवानपुरमा मैत्रीपुर्ण खेल हुन लागेको जिल्ला रग्बी संघका अध्यक्ष लिला कुमार घलानले बताए । अहिले मकवानपुर रग्बी टिमले नियमित प्रशिक्षण गर्दै आएको उनले जानकारी दिए । २ जिल्लाका खेलाडीहरुबीच सुमधुर सम्बन्धकाे लागि खेल हुन लागेको घलानले बताए ।

