मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा मकवानपुर जिल्लामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने भएको छ ।
शनिबार कांग्रेस मकवानपुरकाे कार्यसम्पादन समितिको बैठकले साउनको दोश्रो साता मकवानपुरमा कांग्रेसबाट निर्वाचित प्रमुख, उपप्रमूख र सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेकाे हाे । यसैगरी निर्वाचनमा प्रत्यासी उम्मेदवारहरुलाई हौसला प्रदान गर्ने कार्यक्रम गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।
त्यसैगरी बैठकले दुवै मिर्गौलाले काम नगर्ने भइ उपचाररत कांग्रेस मकवानपुरका पूर्व जिल्ला सदस्य रामकृष्ण प्रजाको उपचारको व्यवस्था र आर्थिक संकलनको लागि ३ सदस्यीय समिति समेत बनाएको छ । कांग्रेस मकवानपुर संगठन विभाग प्रमुख शैलेन्द्र बानियाँको संयोजकत्वमा जिल्ला सदस्य कालू घलान र खेम चेपाङ सहित ३ सदस्यीय समिति बनाएकाे हाे ।
नेता प्रजाको उपचार व्यवस्था तथा आर्थिक सहयोग संकलन समिति बनाईएको प्रवक्ता चौलागाईंले बताए । बैठकमा स्थानीय तह निर्वाचनको सम्बन्धमा समिक्षाको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

