- अम्बिका धिताल
नगरपालिकाको गाडिले माइकिङ् गरेर महिला दिवसको दिन सम्पूर्ण महिलाहरूलाई नगरपालिकाको हलमा बोलाएको सुनेपछि सीताले भनिन्,”सधैँ हाम्रा बुढा मात्र जाने नगरपालिकामा हामीलाई पनि बोलायो। एक दिन भए नि सास फेर्न पाइने भयो।”
भगवतीले थपिन् “बुढालाई खुसी बनाउन सके जान पाइन्थ्यो बाइ । नगरपालिका जान पाए बजारबाट यसो चुरा पोते पनि किनेर ल्याउन पाइन्थ्यो।” सीताले सहमती जनाउँदै भनिन्” हो नि उनीहरूलाई हिड्न कुनैदिन केही कुराले रोक्दैन। हामीलाई एक दिन हिड्न अनेकौँ कुराको बार लाग्छ । पर्सिलाई पुग्ने घाँस भोलि नै पुर्याउन र उहँलाई बक्स्याउन सक्यो भने त गइन्थ्यो । फेरि बुढाले पैसा दिने हुन् होइनन् ।”
गाउँका धेरै महिलालाई एकदिन भएपनि नगरपालिका जान पाइने कुराले हर्षित बनाएको थियो । सबै महिला हँसिला र रसिला भएर त्यही दिनको प्रतीक्षामा थिए । जुन दिन नगरपालिकाले महिलालाई बोलाएको थियो । त्यो दिन सीताका बुढाले ओछ्यानबाटै भने आज महिला सम्बन्धी धेरैवटा कार्यक्रममा जानुछ । चाँडै भात पका है बुढी।” सीताले जवाफ दिइन्,”हामीलाई पनि नगरपालिकामा बोलाको छ नि आज त । बरू तपाईं र म सँगै जाउँ न है आज।” कृष्णले रन्कँदै भने,”धेरै जान्ने नहो,तिमीहरू जस्ता गु न गोबरकालाई बोलाएको होइन। त्यँहा त पढेलेखेका, राम्रा महिलालाई मात्र बोलाएको हो । चुप लागेर भात पका । मलाई जान ढिला हुन आँटिसक्यो ।”
सीता हिक्मत गरेर बोलिन् ” बरू मलाई खर्च नदिनु।अस्ति माइकिङ गर्दा पढेलेखेका मात्र आउनु भनेको छैन । मैंले आजलाई पुग्ने घाँस काटिसकेकी छु।केटाकेटीको स्कुुल आज बिदा रहेछ ।घाँस हाल्दिहाल्छन् । म त एकैछिन भएपनि गएर आइहाल्छु। आठ बजेसम्म सुत्ने मान्छेलाई के थाहा घाम कहाँ पुगिसक्यो । भान्सा तयार भैसक्यो । सवारी होस् खान । हिजो बेलुका चाँहि जा भन्ने आज चै नजा भन्ने । म त जान्छु ।”भन्दै भान्छाकोठातिर लागिन्।
कृष्ण खान खाएर महिला दिवसको कार्यक्रममा वडातिर लागे । सीता र भगवती पनि सबैकाम सकेर नगरपालिका जान हिडे । बाटोमा रमालाई डोको बोकेर माथितिर आउन लागेको भेटे। भगवतीले सोधिन् ,” किन रमा नजाने, आज महिला दिवस हो नि । नगरपालिकाले बोलाएको छ जाउँ न हिँड ।” मलिन अनुहारमा रमाले भनिन्,” जान मन त थियो नि दिदी। हामी महिलालाई नारी दिवस भए के ! के भए के ! हिजो बेलुका जान्छु भन्दैमा यस्तो भयो।” भन्दै पाखुराको निलो डाम देखाइन् ।
सीता र भगवती केही नबोली हेरिरहे। फेरि रमाले आँशु झार्दै भनिन्,” तपाईँहरू जानुस् । एकदिन जबरजस्ती हिडेर तिस दिन पिटाइखानु छैन मलाई । भनिदिनुस् , नगरपालिकाका के जाति मियर ,अनि वडाका अध्यक्ष र कृष्ण दाइलाई समेत रातदिन काम गर्ने हामी महिलाले पुरूषको हैकम र लातबाट कहिले देखि मुक्ति पाउने भनेर अनि महिलाका पीडा कसले सुनिदिने भनेर ।
काभ्रेपलाञ्चोक हाल कमलविनायक भक्तपुर

