मकवानपुर । चीनकी याङ किएनले जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् ।
चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ को ओलम्पिक रेकर्ड स्कोरसमेत बनाइन् । पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए ।
यसै स्पर्धामा नेपाली खेलाडी कल्पना परियारले व्यक्तिगत कीर्तिमान सुधार गरेकी छन् । तर उनी पहिलो चरणबाटै बाहिरिइन् । यसैगरी नेपाली जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिक-२०२० मा पहिलो खेलमै पराजित भएकी छिन् ।
ओलम्पिकको दोस्रो दिन अर्थात शनिबार बिहान भएको भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।
१९ वर्षीय सोनिया वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् । सोनिया २०७६ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

