मकवानपुर । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
नेपालकाे संविधानको धारा १६८ (५) अनुसार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकाे प्रदेश प्रमुखको कार्यालय गण्डकीले जनाएकाे छ ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।
गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।
त्यसलगतै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधान अनुसार नव नियुक्त मुख्यमन्त्री पाखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेश सभामा विश्वासको मतकाे लागि राखेको प्रस्ताव अस्वीकृत भएको थियो। ६० सांसद रहेकाे प्रदेश सभामा २७ सांसदले गुरूङलाई मत दिएका थिए भने ३० जना विपक्षी उभिएका थिए। १ जना सांसद तटस्थ बसेकाेमा १ जना उपस्थितै भएनन्।
नवनियुक्त मुख्यमन्त्रीकाे पृष्ठभूमि
पोखरेल बुबा गोवर्द्धन शर्मा र आमा द्रौपदा शर्मा बाट २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका हुन् । नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनका बुबा गोवर्द्धन शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि थिए ।
उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । उनी विभिन्न आन्दोलनमा ५–६ पटक जेल परेका छन् ।
देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गर्यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर एक वर्ष जेल चलान भए । २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि परे । नौ महिना पाल्पा जेल बसे । २०४८ को अधिवेशनपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए ।
२०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । २०६२–६३ सालको जनआन्दोलनमा उनले नवलपुरको नेतृत्व गरे । त्यो बेला पनि परासी कारागार चलान भएका थिए ।
२०७० सालको संविधानसभा चुनावमा नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका पाेखरेल ३ सय २५ मतले पराजित भएका थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमाले माओवादी गठबन्धनबाट उम्मेद्वार रहेका सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भएका हुन् ।

