- जुनु खड्का
आमा राम्री र सुन्दरी शब्द
मन पर्दैन आजकल
भो मलाई राम्रो लुगा नकिन्नु अब
लागाउनु छैन टिकी र गाजल पनि
बनाउनु छैन सौर्न्दर्य मुहार पनि
यो सहरको झुण्डमा जताततै
तीखा डम्बरुका
काँडैकाँडा छन्
कोमल शरीरमा रक्ताम्मे
बनाएर चिथोर्न सक्छन्
मुटुको शूल बनी बिझ्न सक्छन्
कहीँ छैन सुरक्षा मेरो
न जन्मघर न कर्मघर
न स्कुल न गाउँ न सहर
वस्त्र र शृङ्गार माथि नै
धावा बोल्नेहरु छन्
छल कपटी दुनियाँमा
मनवरुपी दानवहरु मात्रै छन्
यस्तो समय छ आमा
म कसरी हाँस्न सक्छु
सृष्टिकी रानी र सौन्दर्यकी खानी
बन्नु छैन आमा मलाई
वचनका भालाले रोपिएको
घाइते मन मुटुलाई कुन औषधीले
निको पार्छ र खै यहाँ
उड्ने पङ्ख काटने समाज छ
गुड्ने पाङ्ग्रा निकाल्ने जमात छ
लालचमा डुबेको इतिहास छ
संस्कार र परम्पराले रङ् भरेको
मेरो रङ्गहीन जीवन छ
यस्तो बेला आमा
म कसरी हाँस्न सक्छु
भो अब मेरालागि
बलियो घर चाहिँदैन
फालमे गेट र फलामकै
चावी चाहिँदैन
आमा खै किन हो मेरै
घर पनि सुरक्षीत लाग्दैन मलाई
न्यायलयको चावी पनि
मात्रै पानाको छ आमा
त्यसले पनि मलाई सुरक्षा
दिन नसक्ने रहेछ
बाटोघाटो स्कुल कलेज त
कंस र रावणहरुको
अखडा बन्दै छ
जहाँबाट हजारौं सीता हरण हुन्छन्
छोरीका क्यौं गर्भ पतन गरिन्छन्
धाँजा झै चिरिनु पर्छ कहीँ
भत्काउने र च्यात्याने नङ्ग्रा
धेरै भएपछि
जलेर खरानी बन्नु पर्छ
कहीँ जीवनको अमूल्य
सन्दुक रित्यादिएपछि
यस्तो बेला आमा
म कसरी हाँस्न सक्छु
म कसरी हाँस्न सक्छु
शुक्लागण्डकी नगरपालिका तनहुँ

