मकवानपुर । प्रदेश सभा बैठकमा संसदीय मर्यादा विपरीत बोलेको बारेमा सामाजिक सञ्जालमा व्यापक बिरोध आएपछि अन्ततः बागमती प्रदेशका प्रदेश सांसद नरोत्तम बैद्यले आत्मा आलोचना गरेका छन् ।
बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको छलफलमा भागलिने क्रममामा २८ जेठमा आफूले दिएको मन्तव्यका बारेमा प्रदेश सभामा स्पष्ट पार्न समय माग गरेका बैद्यले आफूबाट आवेशमा यस्तो शब्द बोलिएको भन्दै आत्मालोचना गरेका हुन् ।
सभामा संसद बैद्यले प्रधामन्त्री केपी शर्मा ओलीप्रति आफ्नो कुनै पनि व्यक्तिगत ‘इगो’ नभएको भन्दै आफ्नो भनाई प्रति आत्मा आलोचना गर्दै रेकर्डबाट हटाइदिन समेत आग्रह गरेका थिए ।“नीति तथा कार्यक्रमको छलफलको क्रममा मबाट प्रयोग भएको केही शब्दहरु आपत्तीजनक र संसदीय मर्यादा विपरित भएको मैले महसुश गरेको छु”सांसद बैद्यले भने ।
उनको अभिव्यक्तिप्रति संसदीय दल नेपाली काँग्रेसले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेको थियो । शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भन्ने कुरालाई आत्मसात गर्दै हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिदै रेकर्डबाट हटाउन माननीय सभामुख समक्ष अनुरोध गरेको जानकारी गराउँदछु” उनले संसद सभामा भने ।
शुक्रबारको संसद बैठकमा बैद्येले प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी शासनबाट आफू आजित भएको भन्दै आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । नाथुराम गोड्सेले भारतका महात्मा गान्धीको हत्या गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलले बागमती प्रदेश सभामा नेपाली काँगे्रसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले दिएको अभिब्यक्ती प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश सभा सदस्यले प्रदेश सभाको बैठकमा रोष्टममा उभिएर प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको छु भन्ने जस्ता अभिब्यक्तिले प्रदेश सभाको मर्यादा र प्रतिष्ठामा धक्का पुगेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ध्यानाकर्षण गरेको हो । उक्त अभिब्यक्ति ज्यादै अमर्यादित, असंसदीय र मुलुकको संबिधान र कानुन बिपरित रहेको संसदीय दलको ठहर छ ।
संसदीय दलले बैद्यलाई प्रदेश सभा नियमावली २०७४ को नियम ३१ र ३२ बमोजिम कारबाही अगाडि बढाउन माग माग गरिएको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बताए ।
प्रदेश सभा परिसरमा बैद्य विरुद्व नारा
सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)ले बागमती प्रदेश सांसद नरोत्तम वैद्यविरुद्ध नारा लगाएका थिए । शनिबार बिहान उनीहरूले हेटौँडाको बुद्धचोकमा सांसदको फोटो जलाएर बिरोध जनाएका थिए । उनीहरूले बागमती प्रदेश सभा परिसरसम्म पुगेर नाराबाजि गरेका थिए ।


