मकवानपुर । आगामी आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रममाथि बागमती प्रदेश सभामा शुक्रबारबाट सुरु भएको छलफल शनिबार सकिएको छ । छलफल सकिएसँगै शनिबार बसेको प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।
शनिबारको छलफलमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रमबारे रोष्टममा उठेको प्रश्नको जवाफ दिएका थिए । सार्वजनिक गरिएको नीति तथा कार्यक्रमको बचाउँ गर्दै मुख्यमन्त्री पौडेलले विरोधको लागि मात्रै विरोध गर्ने परीपाटीको अन्त्य गर्न आग्रह गरे ।
शुक्रबारको छलफलमा प्रदेश सरकारले सुरु गर्न लागेको विद्युतीय बसको बारेमा प्रश्न उठेको थियो । संघीय सरकारले समेत सञ्चालन गर्न नसकेको विद्युतीय बस प्रदेश सरकारले कसरी गर्न सक्छ भन्ने सवालमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विद्यूतीय बस चलाउन सक्ने दाबि गरे ।
“हामी सारा अनुसन्धान सर्वेक्षण गरेर कार्यक्रमहरु ल्याएका छौ, सस्तो लोकप्रियताको लागि विरोध नगरौं” उनले भने । विद्युतिय बस सञ्चालनको लागि प्रदेश सरकारले धेरै काम सकेको उनले संसदमा बताएका थिए । “ग्लोबल टेण्डर भएको छ, यहाँहरुको ‘चिन्ता’ गर्नुपर्ने अवस्था छैन,नेपालको भूगोल हेरेर बस बनाइन्छ, सानो तितो कुरामा अड्कीने हैन” उनले भने । विद्युतीय बस सञ्चालनको लागि रुट समेत पहिचान भैसकेको उनले बताए । धुलिखेलदेखि सिन्धुलीसम्म विद्युतीय बस चल्ने रुट यसैबर्ष पुरा हुने उनले बताए ।

मुख्यमन्त्री पौडेलले संझौता भएको ६ महिनामा प्रदेशको सडकमा बस गुड्न सुरु हुने उनले बताए । रुट निर्माण, चार्जिङ् स्टेशन, लाग्ने खर्चलगायततको बारेमा सबै काम बोर्डले सकेको उनले बताए । बस चल्न सुरु गरेको ५ वर्ष प्रदेश सरकारको कुनै मर्मत खर्च नलाग्ने भएकोले पनि यो समृद्धिको यात्राको भरपर्दा आधार भएको उनले बताए ।
कमिशनको कुरा गरेर आचरण धमिल्याउन लागेको भन्दै मुख्यमन्त्री पौडेलले भने “कमिसन खानेले मात्रै कमिसन आउने ठाँउ देख्छ, हामी त्यो देख्दैनौ, “एक रुपियाँ कमिशन खाएको प्रमाणित भएमा म अहिले यहाँ राजीनामा दिन्छु” मुख्यमन्त्री पौडेलले भने । साझा र संघीय सरकारले किन्न लागेको बसभन्दा ५० देखि ६० लाख कम मुल्यमा बस ल्याउने तयारी प्रदेश सरकारले गरेको उनले बताए ।
यसैगरी मुख्यमन्त्री पौडेलले कुलेखानी–भीमफेदी सुरुङमार्गको बारेमा आएको प्रश्नको पनि जवाफ दिएका छन् ।
संघीय सरकारको सहलगानीमा सुरुङमार्ग निर्माणको तयारी भएको बारे उनले प्रष्ट्याए । १६ अबर लगानीमा अबको ४ वर्षमा सुरुङमार्ग तयार हुने उनले बताए । १६ अबरमध्ये आधा खर्च संघीय सरकारले व्यहोर्ने भएकोले प्रदेश सरकारको लागि यो अवसर भएको उनले बताए । वर्षको २ अरबमात्रै अर्थात ४ वर्षमा ८ अरब लगानीमा ऐतिहासिक सुरुङमार्ग बन्ने र यसले विकास र समृद्धि धेरै अगाडि पुग्ने उनले बताए । तेलको बचत, समयको बचत, सवारी मर्मत खर्च बचत हुँदा लागनीमा धेरै फाइदा भएको उनले बताए ।
शुक्रबारको छलफलमा छलफलमा भाग लिँदै सांसद शालिकराम जम्मकट्टेलले हावादारी नीति तथा कार्यक्रम आएको बताएका थिए । उनले विद्धानले लेखेको शब्दजालको नीति कार्यक्रम प्रस्तुत भएको भन्दै गुनगाई मात्र गाइएको बताएका थिए ।
यस्तै सांसद राजेन्द्र पाण्डेले पनि सुरुङमार्ग निर्माण गरेर अहिले १८ अर्ब बजेट विनियोजन गरेर काम गर्नु उचित नभएको बताए । यो सरकारको समय नभएकोले ११ महिनामा अर्को आउने सरकारले निरन्तरता दिन नसक्ने भएका कारण भीमफेदी कुलेखानी सुरुङमार्गमा प्राथमिकता नभएको बताएका थिए । आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल शनिबारबाट सकिएको छ । प्रदेश सभाको बैठक आगामी असार १ गते बस्ने गरी स्थागित भएको छ ।

