काठमाडौं । साहित्यकार मीना चौलागाईंको मुक्तक सङ्ग्रह “मनोकाङ्क्षा” विमोचन भएको छ । शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौंमा प्रतिष्ठानका कुलपति भुपाल राईलगायतले चौलागाईंको दोस्रो मुक्तकसंग्रह ‘मनोकाङ्क्षा’ विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै कुलपति राईले अहिले मुक्तकको लोकप्रियता बढेको बताउँदै छोटो, मिठो र चोटिलो विधा मुक्तकमा सबैको आकर्षण रहेकाे जानकारी दिए । ‘चौलागाईंको मुक्तकसंग्रह पठनीय रहेकाे छ ।’ उनले भने । ‘मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्ने हुनु पर्छ’ उनले भने ‘दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै मुक्तक बन्न सक्नु पर्छ ।’ मुक्तककार चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न समक्ष रहेको उनले बताए ।
प्राज्ञ डा. कौशिला रिसालले चौलागाईंकाे ‘मनोकाङ्क्षा’ को समीक्षा गर्दै मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताइन् । ‘मनोकाङ्क्षाले सुखदुःख, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको छ’ रिसालले भनिन् । कार्यक्रममा वरिष्ठ मुक्तककार ज्ञानुवकर पौडेल, नियात्राकार प्रतीक ढकाल, कवि- कलाकार रमेश पौडेल, मुक्तककार सुनिल अधिकारी, कृतिकारकी गुरु कोमल ढुङ्गेल कृतिकारकी सुपुत्री आयुश्री चौलागाईंले कृति र कृतिकारको चर्चा गर्दै कृतिगत सफलताकाे शुभकामना दिएका थिए ।
लोकार्पित मुक्तकसङ्ग्रहबाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन/तीनवटा मुक्तक वाचन गरेका थिए ।मुक्तककार चौलागाईंले मनोकाङ्क्षा’ मुक्तक संग्रहको विमोचन हुनु अत्यन्त गर्व र विशेष क्षण भएकाे बताइन्। मुक्तक लेखनका लागि सरल भाषा तर गहिरो अभिव्यक्ति हुनुपर्ने उनकाे भनाई थियाे । आफू पहिलेदेखि नै मुक्तक विधामा प्रतिबद्ध भएर लागेको र यो दोस्रो कृतिबाट थप जिम्मेवारी महसुस भएको लेखक चौलागाईंको भनाई छ। मनोकाङ्क्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएका छन् ।
रामेछाप जिल्लाकाे लखनपुरमा जन्मेर कर्मथलाे काभ्रेपलाञ्चाेक जिल्लाकाे पाँचखाल नगरपालिकामा बनाउँदै आएकी चौलागाईकाे २०७८ सालमा मुक्तक संग्रह ‘मुक्तक मिनार’ सार्वजनिक भएकाे छ । मुक्तकसागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाद्वारा चौलागाईकाे पहिलाे मुक्तक संग्रह सार्वजनिक गरेकाे थियाे । साहित्य विधाकाे मुक्तकसँगै गजल, गीत, कोपिला, कविता, हाइकु लेखन कलम चलाउने चौलागाईं स्कूलमा नेपाली बिषय पढाउने गुरुको प्रेरणाले नै साहित्यमा लागेकाे बताउँछिन । चाैलागाईं विगत ८–९ बर्षदेखि साहित्यमा निरन्तर कलम चलाउदै आएकाे बताउँछिन् ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षता तथा प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा महासचिव यादव भट्टराईले सहजिकरण गरेका थिए ।
र यो पनि…
चौलागाईको मुक्तक संग्रह ‘मुक्तक मिनार’ सार्वजनिक
‘समाज विकसित भए साहित्यकाे विकास हुन्छ’
मकवानपुर । मकवानपुरकाे हेटौडा र चितवनकाे नारायणगढमा पत्रकार तथा लेखक सुधीर शर्माका २ वटा कृतिमाथि विमर्श गरिएको छ । शर्माका भिक्षु,व्यापार र विद्रोह र हिमालपारिको हुरी कृतिमाथि शुक्रबार हेटौडामा र शनिबार नारायणगढमा विमर्श गरिएको हो ।
घिमिरेले हेटौडामा लेखक शर्मासँग अन्तरक्रिया समेत गरेका हुन् । विमर्शमा मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले शर्माका दुबै कृतिको समीक्षात्मक प्रस्तुति राखेका थिए । नारायणगढमा भएकाे संवाद र विमर्श कार्यक्रममा लेखक शर्मासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गरेका छन् ।
‘भिक्षु, व्यापार र विद्रोह’ मा शर्माले मल्लकाल, लिच्छवीकाल, नेवार समुदायले तिब्बतमा पुगेर गरेको व्यापारको इतिहास, नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध र भारत,चीनमा माओत्सेतुङले गरेको साँस्कृतिक क्रान्तिको विषयमा समावेश गरिएकाे उपप्राध्यापक घिमिरेले जानकारी गराए । यसैगरी ‘हिमालपारिको हुरी’ मा शर्माले सन् २००८ पछि चीनले विश्वसामु व्यावसायीक खुलापनकाे रुपमा आफूलाई प्रस्तुत गर्न सुरु गरेको उनले बताए ।
किताब पब्लिसर्स र सम्पूर्ण किताबले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा लेखक शर्मासँग पत्रकार कँडेलले पुस्तकको विषयवस्तु, रचना गर्भ र पुस्तकले समेटेका क्षेत्रबारे विस्तृत कुराकानी गरे । लेखक शर्माले सात वर्ष लगाएर दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ एवं ‘हिमालपारिको हुरी’ लेखिएको बताए ।
राजतन्त्र रहुन्जेल कुटनीतिक सम्बन्धमा मात्रै रही सकेकाे सहयाेग गर्दै आएकाे चीनले राजतन्त्रकाे समाप्ती पछि सरकारमा पुग्ने दलका नेतालाई आफ्नाे अनुकुलकाे मित्रता बढाउन खाेजेकाे हिमालपारीकाे हुरीमा रहेकाे छ । यता भिक्षु, व्यापार र विद्रोहमा लेखक शर्माले २ सय वर्ष पहिलेकाे इतिहासदेखि नेपाल र चीनबीचको व्यापार सम्बन्धको प्रसंग समावेश गरिएको छ । पत्रकारले सतहीरुपमा लेख्छन्, अध्ययन, अनुसन्धान गर्दैनन् भन्ने समाजको बुझाई रहेकाे भाष्यलाई पत्रकारिताकाे माध्यम हुँदै लेखक बनेका शर्मा मुलुकको इतिहासलाई दस्तावेजीकरण गर्ने काम पुस्तक मार्फत गरेका छन् । शर्माका दुई कृति महत्वपूर्ण सावित हुने हेटौडा र नारायणगढकाे विमर्शमा बताइएकाे छ ।
शर्माका उक्त कृति माथि हेटौडा विमर्शमा राजनीतिज्ञ, प्राध्यापक, साहित्यकार, विद्यार्थीलगायतले जिज्ञासा राखेका थिए । नारायण संवाद विमर्शमा शिक्षाविद् चोलेन्द्र पण्डित, प्रेम रिमाल, कवि विपिन पाठक, पत्रकार गोविन्द न्यौपानेलगायतले लेखकसँग जिज्ञासा राखेका थिए । पाठकका जिज्ञासामाथि बोल्दै लेखक शर्माले नेपाल र चीनबिचको आर्थिक, साँस्कृतिक र राजनीतिक सम्बन्धका आयाम र यसले पार्ने प्रभाव बताए । उनले आफ्ना दुवैकृति विद्यार्थीकालागि इतिहास बुझ्ने माध्यम हुने साथै अनुसन्धानमूलक कृतिको रुपमा रहेकाे बताए ।
शैलीगत रुपमा आख्यानकाे रुपमा साहित्यकारले लिन सक्ने पुस्तक अनुसन्धानकर्ताको रुपमा अध्ययन, अनुसन्धानमा आधारित र थप अध्ययन अनुसन्धानका लागि कतिपय सन्दर्भ समेत उजागर गरिएको उनले बताए । दुई छिमेकी भारत र चीनमध्ये चीनलाई बुझ्न भाषाका साथै सामाजिक सास्कृतिक र भौगोलिक अवस्था लगायतका विविध कारणले गाह्रो भएको शर्माले जानकारी दिए । दुई ठूला देशबीचको नेपालले चीनसम्बन्धमा बुझ्ने, विश्लेषण गर्ने र रणनीतिक हिसाबले काम गर्न विज्ञ व्यक्तिहरु आवश्यक रहेको बताए । चीन भारतसँग नभई अमेरिकासँगको प्रतिस्पर्धामा रहेको तथा विश्वकै पहिलो शक्ति राष्ट्र बन्ने लक्ष्यमा अगाडि बढिरहेको उनले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा खुला कविता प्रतियाेगिता हुने भएकाे छ । साहित्य सङ्गम मकवानपुरकाे आयोजना तथा प्रदेश युवा परिषद्, बागमती प्रदेशको व्यवस्थापनमा कविता प्रतियोगिता हुने भएको हाे ।
प्रतियाेगिता सम्बन्धी आइतबार संगमले सूचना प्रकाशित गरी जानकारी गराएकाे छ । प्रतियोगिता २८ मंसिर २०८१ मा आयोजना गरिने साहित्य संगम मकवानपुरले जनाएकाे छ । प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय र सान्त्वना पुरस्कारकाे व्यवस्था गरिएकाे संगम अध्यक्ष बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रथम पुरस्कार ४० हजार रुपैयाँ द्वितीय पुरस्कार ३० हजार रुपैयाँ तृतीय पुरस्कार २० हजार रुपैया र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ रहेकाे छ ।
जुनसुकै विषयका मौलिक कविताले स्थान पाउने प्रतियाेगितामा ४० वर्ष उमेर पुरा नभएका युवाले मात्र भाग लिन पाउने अध्यक्ष बर्तौलाले जानकारी दिए । प्रतियाेगितामा भाग लिने कविता बढीमा १५० शब्दकाे हुनु पर्ने छ भने कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित नभएको हुनुपर्ने बताइएकाे छ । कविता पठाउँदा उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र वैयक्तिक विवरण (बायोडाटा) समेत पठाउनु पर्ने नियम रहेकाे संगम सचिव मनोज पोखरेलले बताए ।
प्रतियोगिताकाे लागि कविता २० मंसिर अपरान्ह ४ बजेसम्म प्राप्त हुने गरी पठाउनु पर्ने सूचनामा उल्लेख छ । निर्धारित समयमा प्राप्त कवितामध्ये उत्कृष्ट २० कविता छनोट गरी अन्तिम प्रतियोगितामा सहभागी गराइने पोखरेलले बताए । उनका अनुसार अन्तिम प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नु पर्नेछ । उत्कृष्ट २० कविता छनोटको सूचना २४ मंसिरमा प्रकाशित गरिने छ भने कविता sangam.htd@gmail.com मा पठाउनु पर्ने पोखरेलले जनकारी दिए ।
मकवानपुर । मकवानपुरका कवि श्यामकुमार बानियाँकाे ‘यो देशले तिम्रो काँध मागेको छ..’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार सर्वश्री मिडियाको युट्युब च्यानलमार्फत बानियाँकाे स्वदेश गीतकाे म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा नवराज पराजुलीको स्वर र ओम प्रकाश राईको संगीत रहेको छ । यस्तै रामकृष्ण थापाले संगीत संयोजन रहेकाे म्युजिक भिडियोको छायांकन तथा सम्पादन महेन्द्र ओझाले गरेका छन् । मकवानपुरमा रहेर लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय बानियाँले यसअघि दुईवटा स्वदेश गीत तथा अन्य पाँचवटा गीतका म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।
उनका ‘आकाश खुल्यो सुस्तरी’ र ‘हिमालमा घाम झुल्क्यो’ बोलका स्वदेश गीत २०८० फागुनमा सार्वजनिक भएकाे थियो । गायनमा समेत रुची राख्ने बानियाँले ‘आकाश खुल्यो सुस्तरी’ आफ्नै स्वरमा रेकर्ड गराएका छन् । यस्तै उनको आवाजमा ‘शून्य शून्य’ र ‘माया भन्नु.’ बोलको गीतका म्युजिक भिडियो गत असोजमा सार्वजनिक भएका छन् ।
चितवन । चितवनमा एकै मञ्चमा ९ जना साहित्यक स्रष्टा सम्मानित भएका छन् । पल्लव साहित्य प्रतिष्ठान चितवनले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएका विभिन्न स्रस्टालाई शनिबार सम्मान गरेको हाे ।
प्रतिष्ठान ‘पल्लव कुम्भ’ कार्यक्रम गर्दै देशका विभिन्न स्थानका ९ जना स्रस्टालाई विभिन्न पुरस्कारबाट सम्मान गरेको छ । डा महेन्द्रकुमार मल्लले ९ जना स्रष्टालाई सम्मान गरेका हुन् । प्राडा देवी नेपाललाई बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१, उपन्यासकार ओम रिजाललाई शेषनाथ लामिछाने स्मृति लोकसाहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान – २०८१ द्वारा सम्मानित गरिएकाे हाे ।
यसैगरी साहित्यकार ज्ञानराज सुवेदीलाई केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल पल्लव राष्ट्रियसाहित्य सम्मान- २०८१, लोकगायिका हरिदेवी कोइरालालाई युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१, कवि भैरवी भुगोललाई युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१ प्रदान गरिएकाे थियाे ।
यस्तै युवा गजलकार धिरेन अनुपमलाई केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१, कवि उमा कार्कीलाई काजीमान तथा नन्दकुमारी-शान्तकुमारी श्रेष्ठ रत्नपुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१, कवि विमलप्रसाद पौडेललाई मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान – २०८१ र उपन्यासकार चिरञ्जीवी दाहाललाई मीना-रत्न बालसाहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८१ बाट सम्मान गरिएको हो ।
डा मल्लले पल्लव पत्रिकाको २८औं अङ्क विमोचन समेत गरेका थिए । कार्यक्रममा सम्मानित स्रस्टाहरुले रचनावाचन पनि गरेका थिए । पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने गोर्खे साइँलोकाे सभाध्यक्षता तथा डा महेन्द्रकुमार मल्लकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।