मकवानपुर । मकवानपुरकाे हेटौंडामा खुला कविता प्रतियाेगिता हुने भएकाे छ । साहित्य सङ्गम मकवानपुरकाे आयोजना तथा प्रदेश युवा परिषद्, बागमती प्रदेशको व्यवस्थापनमा कविता प्रतियोगिता हुने भएको हाे ।
प्रतियाेगिता सम्बन्धी आइतबार संगमले सूचना प्रकाशित गरी जानकारी गराएकाे छ । प्रतियोगिता २८ मंसिर २०८१ मा आयोजना गरिने साहित्य संगम मकवानपुरले जनाएकाे छ । प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय र सान्त्वना पुरस्कारकाे व्यवस्था गरिएकाे संगम अध्यक्ष बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रथम पुरस्कार ४० हजार रुपैयाँ द्वितीय पुरस्कार ३० हजार रुपैयाँ तृतीय पुरस्कार २० हजार रुपैया र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ रहेकाे छ ।
जुनसुकै विषयका मौलिक कविताले स्थान पाउने प्रतियाेगितामा ४० वर्ष उमेर पुरा नभएका युवाले मात्र भाग लिन पाउने अध्यक्ष बर्तौलाले जानकारी दिए । प्रतियाेगितामा भाग लिने कविता बढीमा १५० शब्दकाे हुनु पर्ने छ भने कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित नभएको हुनुपर्ने बताइएकाे छ । कविता पठाउँदा उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र वैयक्तिक विवरण (बायोडाटा) समेत पठाउनु पर्ने नियम रहेकाे संगम सचिव मनोज पोखरेलले बताए ।
प्रतियोगिताकाे लागि कविता २० मंसिर अपरान्ह ४ बजेसम्म प्राप्त हुने गरी पठाउनु पर्ने सूचनामा उल्लेख छ । निर्धारित समयमा प्राप्त कवितामध्ये उत्कृष्ट २० कविता छनोट गरी अन्तिम प्रतियोगितामा सहभागी गराइने पोखरेलले बताए । उनका अनुसार अन्तिम प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नु पर्नेछ । उत्कृष्ट २० कविता छनोटको सूचना २४ मंसिरमा प्रकाशित गरिने छ भने कविता sangam.htd@gmail.com मा पठाउनु पर्ने पोखरेलले जनकारी दिए ।

