मकवानपुर । हेटौंडा रन–२०८१ को उपाधि सञ्जिव मिजारले जितेका छन् । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको हेटौंडा रन उपाधि हेटौंडा–१४ का धावक मिजारले हात पारेका हुन् ।
मंगलबार भएको रनको निर्धारित ५ किलोमिटर दुरी २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उनले उपाधि जितेका हुन् । यसैगरी हेटौंडा–१५ का निश्चल तितुङले द्वितीय स्थान हासिल गर्न २० मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पूरा गरे । यसैगरी २० मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै हेटौंडा–१८ का अभिषेक रोक्क तृतीय भए ।
हेटौंडा–१८ का मनिष गोपली चौथो र हेटौंडा–१४ का अमृत सुनार पाँचौ हुँदा हेटौंडा–१८ का रुवि बुलन र राक्सिराङ गाउँपालिकाका सुवास योञ्जन प्रोत्सान पुरस्कार प्राप्त गरे । रन विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद प्राप्त गरे । य प्रतियोगितामा चौथो हुनेले ५ हजार, पाँचौंले पुरस्कार ३ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । दौडका विजेता, उपविजेता तथा अन्य खेलाडीहरुलाई नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलगायतले पुरस्कार वितरण गरेका थिए ।
दौडमा २५ जना सहभागी थिए । सहभागीहरुले हेटौंडा–१०, बुद्धचोकबाट आफ्नो दौड यात्रा सुरु गरेर भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, नवोदय, सत्यमचोक, थाहाचोक, शितलमहल चोक, ओमभवनहुँदै पुनः बुद्धचोकमा आएर दौड पूरा गरेका थिए ।

