मकवानपुर । बागमती प्रदेश सुरक्षा समितिको बैठकले एकीकृत सुरक्षा समन्वय केन्द्र निर्माण गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयमा बसेकाे समितिको बैठकले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि सुरक्षा समन्वय केन्द्र निर्माण गर्ने निर्णय गरेको हाे ।
उपनिर्वाचन हुने प्रदेशका मकवानपुर काठमाडौं दोलखा र नुवाकाेट जिल्लालाई समेटेर एकीकृत सुरक्षा समन्वय केन्द्र बनाउने निर्णय गरेको मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । प्रदेशका मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्ष सहित किर्तिपुर नगरपालिकाको नगर प्रमुख तथा १ र ४ नम्बर वडाको वडा अध्यक्ष, काठमाडौं उपमहानगरपालिका–१६ मा वडा अध्यक्ष, नुवाकोटको ककनी गाउँपालिकाको २ नम्बर वडाको वडा अध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष चयनका लागि १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचन हुने चार जिल्लाको शान्ति सुरक्षाको रिपोर्टिङलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्दै चुस्तदुरुस्त सुरक्षा व्यवस्थापनका लागि एकीकृत सुरक्षा केन्द्रबाट काम गरिने बताइएकाे छ । सम्पर्क कार्यालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडामा रहने केन्द्रको संयोजन मन्त्री लामिछानेले गर्नेछन् ।

