शिवकुमार काशी
सुनसान पृथ्वीलाई ब्रह्माले हनुमानको गदा मागेर एक ‘डिस’ हानिदिएपछि पृथ्वी ‘कोल्याप्स’ भयो । मान्यताअनुसार यतिखेर कलियुग चलिरहेको छ । आमा-छोराबीच झुक्किएर सम्भोग भएपछि सुरु भएको भनिएको कलियुगका अनेकन् विशेषता हामी भोग्दैछौँ । उसो त भोग्दै मात्रै होइन, कलियुगका खास पात्र नै हामी हौँ । कलिका हामी नामे र बेनामे पात्रका कारण यतिखेर धर्ती नै दिग्मिगाएको छ । गन्हाएको छ । मानिसहरूसँग रहेको भनिएको नैतिकता, आचरण, व्यवहार सबै पत्रुपलाँस भएको छ । ‘बुद्धम शरणम् गच्छामि’ भन्दै हिँडेकाहरू पनि हतियारसहित भीडबाट समातिन थालेका छन् ।
दिनभरि सुर्ती माडेर खाए पनि, जति ठूलो ठूलो गफ लडाए पनि नेपाली साँझपख त नेताहरूलाई झोल नभई नहुने ।
यी र यस्तै वाक्क लाग्ने खबरचित्रहरू देखेर पृथ्वीका सर्जक ब्रह्मा पनि अवाक् छन् । बलात्कारै बलात्कारको सिन भएको नेपाली चलचित्र हेरेर थाकेका महिला अधिकारकर्मीझैँ धपक्कै बलेको कलियुग देखेर विरक्तिएका ब्रह्माले अन्तत: पृथ्वी ध्वस्त पार्छन् र धर्तीको अस्तित्व अलप हुन्छ । उतिखेर पृथ्वीको जन्म हुने बेलामा जुन राप र ताप थियो, पृथ्वीको अन्त्य चाहिँ त्यसरी गरिएन । ब्रह्माको तर्फबाट अक्सिजन उत्पादन गर्ने आम वनस्पतिहरू र कम्पनीहरूका लागि फरमान जारी भयो, त्यही फरमान बमोजिम अक्सिजन उत्पादन हुन छोड्यो । मानिसहरू र अरु सबै प्राणीहरूले सास फेर्न सकेनन् र प्याकप्याक भएर मरे । त्यसपछि सुनसान पृथ्वीलाई ब्रह्माले हनुमानको गदा मागेर एक ‘डिस’ हानिदिएपछि पृथ्वी ‘कोल्याप्स’ भयो ।
पृथ्वीको अन्त्यसँगै धर्तीका मानिसहरू यमलोकको स्वर्ग र नर्क प्रान्तमा पुगे । तीमध्ये कलियुगका दुई तिहाइ मानिस भने आफ्नो पापअनुसार यमलोक पुगे । प्राणी जगत्को सेवामा लागेका केही असल मान्छेहरू मात्रै स्वर्ग पुगे । नेपालका तर्फबाट भने महावीर पुन, कुलमान घिसिङ, अनुराधा कोइराला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित केही मान्छेहरू स्वर्ग पुगेको पाइयो । स्वर्गमा पनि उनीहरू सेवा र आविष्कारमै लागिरहे । स्वर्गको सुन्दरता र रम्भा, उर्वशी आदि अप्सराको आकर्षणले उनीहरूलाई कुनै प्रभाव पारेन ।
उता नर्कमा भने ठूलो संख्याका नेपालीहरू लुछाचुँडी गरिरहेका थिए । त्यो नर्क पनि नेपालमा झैँ अन्यायपूर्ण शासन व्यवस्था थियो । त्यहाँ पनि भुइँफुट्टाहरूकै राज रहेछ । बाध्यतावश श्रीमतीको इच्छा पूरा गर्न २/५ सय रुपियाँ घुस खाएका खरदार सुब्बाहरूमाथि कारबाही हुँदै थियो भने लोकमान कार्कीहरू त्यहाँ पनि सुरक्षित नै थिए । खरदार सुब्बाहरूलाई कारबाही गर्न चित्रगुप्तहरू यमराजलाई बढी उक्साइरहेका थिए । अहिलेका नेपालका प्रधानमन्त्री र राष्ट्रपतिलाई उनीहरूका सल्लाहकारहरूले उक्साएझैँ नर्कमा पनि चित्रगुप्तहरू यमराजलाई उचाल्दा रहेछन् ।
यमलोक अन्तर्गतको एउटा प्रान्त अर्थात् नर्कमा नेपालका मात्र होइन, विश्वका नेताहरूको भेट भयो । खासगरी नर्कमा भेटिनेमा डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी, किम जोङ उन लगायत थिए । सी चिनफिङ, आङसाङ सुची लगायतका नेताहरू कसरी स्वर्गमा पुगे भनेर उल्लिखित नेताहरू गुनगुन गरिरहेको पनि सुनिन्छ । आफूहरू स्वर्गमा नपुगेको र सी चिनफिङहरू मात्रै पुगेको भनेर सबैभन्दा बढी गुनासो गर्दा रहेछन् डोनाल्ड ट्रम्प । स्वर्ग र नर्क गरी दुवै प्रान्तमा थामिनसक्नुको भीड छ ।
कलिका हामी नामे र बेनामे पात्रका कारण यतिखेर धर्ती नै दिग्मिगाएको छ । गन्हाएको छ । मानिसहरूसँग रहेको भनिएको नैतिकता, आचरण, व्यवहार सबै पत्रुपलाँस भएको छ । ‘बुद्धम शरणम् गच्छामि’ भन्दै हिँडेकाहरू पनि हतियारसहित भीडबाट समातिन थालेका छन् ।
स्वर्गमा भन्दा नर्कमा भीड त बढी नै हुने भयो । किनकि नर्कतर्फ दुई तिहाइ मानिसहरू पुगेका छन् । नर्कमा कतै भारतीय नागा बाबा जोगीहरू आफूहरू स्वर्गमा नपरेको भन्दै छाती पिटीपिटी रोइरहेका छन् त कतै एक हाते माइक बोकेर पुण्य गौतम उफ्रिरहेका छन् । मुकुन्दे फेरि रुखमा चढेर नेताहरूलाई गिज्याउँदै रहेछन् ।
नर्कमा पनि छुट्टै एउटा नेपाल भन्ने चोक रहेछ । त्यहाँको एउटा सार्वजनिक प्रतीक्षालय नेपालका नेताहरूका लागि व्यवस्था गरिएको छ । जहाँ पुष्पकमल दाहाल, केपी शर्मा ओली, शेरबहादुर देउवा, माधव कुमार नेपाल, राजेन्द्र महतो, पशुपति शमशेर, बाबुराम भट्टराई, महन्थ ठाकुर, कमल थापा, रवीन्द्र मिश्र लगायत शीर्ष नेताहरू प्रतीक्षालयमा बसेर गफ गरिरहेका छन् । उनीहरू कोही पान खाइरहेका छन् भने कोही सुर्ती माडिरहेका देखिन्छन् । राजेन्द्र नजिकै आएपछि केपी ओलीले आफूले लगाइरहेको मास्क अलिक माथि सारेर तन्काउँछन् ।
अर्कोतर्फ गोकुल बास्कोटा, सूर्य थापा, दुर्गा प्रसाई, प्रेम आले, सुरज वैद्यलगायत बस्ने छुट्टै टहरो छ । यो टोली चाहिँ आर्थिक/राजनीतिक टोली रहेछ । खासगरी राजनीतिमार्फत आर्थिक समृद्धिमा जाने उद्देश्य बोकेको यो टोली नेपालमा समाजवादी चरण सकिएर लगभग लगभग साम्यवाद ल्याउनै लाग्दा ब्रह्माले पृथ्वीलाई नै ‘डिस’ हानेकोप्रति चिन्तित छ । यसबारे गोकुल बास्कोटा बढी नै मर्माहत भएका रहेछन् । उनी आफ्ना दामलीहरूसँग यस्तै यस्तै गुनासो पोखेर बसेका रहेछन् । बास्कोटाले बोलिरहँदा सूर्य थापा चाहिँ पुलुकपुलुक उनको मुहार हेर्दै नेपाली फिलिमको चंखेझैँ होमा हो लाउँदा रहेछन् । प्रेम आले अक्सिजन रोकेर ब्रह्माले गरेको प्राणी हत्याप्रति दुखेसो गर्दैरहेछन् । अक्सिजनसँग उनको छुट्टै साइनो पनि त छ ।
ब्रह्माको रिस यमराजलाई पोखेर पनि नहुने । बरु यमराजले नेपालका यी सबै नेताहरूलाई एकाएक सुली चढाउन बाँकी थियो । यिनीहरू भर्खर यमलोकको किताबखानामा नाम दर्ता भएर कारबाही पर्खेर बसेका नेताहरू थिए । ठूलो संख्या भएकाले के कसरी कारबाही गर्ने भन्नेबारे यमराज प्रशासन नै यतिखेर अन्यौलमा थियो । किनकि यत्रो संख्यामा नर्कमा मान्छेहरू पहिलो पटक आएका थिए ।
दिनभरि सुर्ती माडेर खाए पनि, जति ठूलो ठूलो गफ लडाए पनि नेपाली साँझपख त नेताहरूलाई झोल नभई नहुने । साँझ ७ बज्नै लाग्दा शेरबहादुर देउवाले मुख खोलेरै भने, ‘रात परिसक्यो यार, आइ निड अल्कोहल । रक्सी त खान पाउनुपर्यो नि बाबा ।’ जीवनभरि जनताको नाउँमा मस्ती मारिएको पृथ्वी ध्वस्त भएर आफूहरू नर्क पुगेको तनावका कारण पनि रक्सी नखाई कहाँ निद्रा लाग्छ त ? सबै नेताहरूको यो कुरामा सहमति थियो । अरु त अरु किड्नी फेरेका केपी ओली पनि दुई दशकपछि ‘टुच्च’को मुडमा थिए भने पुरेत बाजेको छोरो माधव नेपाल पनि पहिलोचोटि सोमरसको स्वाद चाख्ने मुडमा पुगे । राजेन्द्र महतो र उपेन्द्र यादवहरू भने ठीकै मात्र खुसी भए ।
सधैँ पिइरहेको चीज, पिए पनि ठीकै नपिए पनि ठीकै । बाबुराम भट्टराईले चाहिँ पल्याकपुलुक आँखा घुमाए । त्यसपछि ‘लौ त लौ’ भने । हिसिला यमीले थाहा पाउलिन् कि भन्ने डर यिनलाई नर्कमा आइपुग्दा समेत छ ।
सोमरसमा सहमति भएपछि नर्कमा रहेको एउटा रक्तनदी छेउकै भट्टीमा शीर्ष नेताहरू हिँडेरै पुगे । रक्तनदीको आवाज र गन्ध उनीहरूलाई निकै वासनादार र निश्छल लागिरहेको थियो । अधिकांश नेताहरू रगतकै होली खेलेर स्थापित भएकाले रक्तनदीसँग रत्तिन उनीहरूलाई केहीबेर नै लागेन । जब भट्टीमा उनीहरू छिरे, कृष्णबहादुर महरा र रोशनी शाही पनि त्यहीँ भेटिए । दुई तिहाइ सरकार हाँकेको अनुभव भएका केपी ओलीले महरा र रोशनीलाई फेरि औडाहा गरे, ‘पिरेम भनेको यस्तो पो त ! जुन लोकमा गए नी नछुट्ने । सायद जुनीजुनी सँगै बाँचौँला भन्ने कसम खाएको कार्यान्वयन भएको छ उहाँहरूको’ ओलीले यसो भन्दा सबैभन्दा बढी पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाँसे । महराले यो पृथ्वी नभई नर्क प्रान्त भएकाले ओलीलाई ‘फर्गेट एस्टर्डे एन्ड फर्गेट नेपाल’ भनेर जवाफ फर्काए ।
महरा र शाहीको जोडीलाई छुट्टै टेबुलमा छाडेर शीर्ष नेताको टोली अलिक पर मान्द्रोले बेरेको छाप्रोतर्फ लाग्यो । भट्टीका मालिकहरू विनोद चौधरी र अजेयराज सुमार्गी पनि त्यहीँ बसेर लोकल रक्सी खाँदै भट्टीको हिसाबकिताब गर्दै रहेछन् । भट्टीमा भएका व्यापारबाट अलि बढी फाइदा सुमार्गीले लिएको भनेर चौधरीले गुनासो गरिरहेका रहेछन् । ‘हामी चौधरी थारुहरूलाई बाहुनहरूले नेपालमा त ठगे ठगे नर्कमा आएरसमेत ठग्न छाडेन’ भन्दै चौधरीले सुमार्गीलाई रक्सीको तालमा कराइरहेका रहेछन् । खासमा भट्टीमा भएको ५ सिल माछा सुमार्गीले प्रचण्डको सचिवालयमा उपहार पठाइदिएको कुरा खातामा नलेखिएकाले हिसाब गडबड भएको रहेछ । माछा बेच्न ल्याउने शान्ता चौधरीलाई भने भट्टीका तर्फबाट भुक्तानी भइसकेको देखिन्छ ।
नेताहरू आएपछि सुमार्गी र चौधरी चुपचाप नेताहरूकै सेवामा लागे । समयमै पिउन नपाएका शेरबहादुर देउवाले भट्टीका साहू सुमार्गीलाई जतिसक्दो छिटो रक्सी ल्याउन आदेश दिन्छन् । ‘अँ त्यो महराकै ब्रान्ड ल्याए नि हुन्छ’, देउवाको भनाइ थियो । महरा ब्रान्ड भन्नासाथ फेरि रोशनीको डेरामा भेटिएको रक्सीको बोतल सम्झेर प्रचण्ड कुम हल्लाउँदै हाँस्छन् । माधव नेपाल आफू पहिलोपटक सोमरस पान समारोहमा आएको भन्दै अनविज्ञता प्रकट गर्छन् ।
कुटिल पाराले सबै दृश्य हेरिरहेका ओली भन्छन्, ‘रक्सी जे ल्याए नि ल्याऊ, तर स्न्याक्स मैले भनेको मात्रै ल्याउनू । सबै व्यवस्था दुर्गा प्रसाईंले गरिदिएको छ ।’ ओलीले स्न्याक्समा एकलौटी लाद्न खोजेको आशंकामा देउवाले चुरोट चाहिँ नछुटाउनू भन्छन् । एमालेको चुनाव चिन्ह भएकाले सूर्य चुरोटमा देउवाको मोह छैन । भन्छन्, ‘शिखर सेतो चुरोट ल्याउनुस् ।’ त्यसै बेला पल्लोपटि टेबुलमा बसेर गाँजा तानिरहेका केशव स्थापित र भीम उपाध्यायतिर देउवाको ध्यान जान्छ । देउवाले देख्नेबित्तिकै उपाध्याय भन्छन्, ‘जय नेपाल दादा ! कि सिगरेट छाडेर आज एक सुल्फा यही बुटी हान्दिऊँ ।’
ओलीले धमाधम विनोद चौधरीलाई स्न्याक्स विवरण टिपाए । त्यसअघि ‘किन आफैँ आएको ? कोमल ओली, रामकुमारी झाँक्री, सुजाता कोइरालाहरू पनि बेरोजगार नै थिए, उनीहरूलाई वेटर राखेको भए अलिक राम्रो व्यापार हुन्थ्यो नि ।’ भनेर चौधरीलाई ओलीले सुझाव दिए । अनि ओलीले दिएको अर्डर चौधरीले डायरीमा टिपे ।
– पाँच प्लेट लोकल माछाको आँखा फ्राइ ।
– लोकल माछाको जिब्रो साँधेको तीन प्लेट ।
– जुकाको हड्डीसहितको तारेको मासु पाँच प्लेट ।
– गोमन सर्पको पुच्छर फ्राइ तीन ठाउँ ।
– सिंगै छेपारो फ्राइ तीन ठाउँ ।
– शुद्ध तोरीको तेलमा तारेको माउसुली ७ ठाउँ ।
– हरियो झिंगा उसिनेको ५ प्लेट ।
अहिलेलाई यत्ति गरौँ । ओलीले बोली सकाए ।
जीवनमा कहिल्यै नसुनेको स्न्याक्स अर्डर भएपछि माधव नेपालले आपत्ति जनाए र भने, ‘म बाहुनको छोरो यस्तो खान्न, मलाई फलफूल मगाइदिनू ।’ हत्तपत्त ओलीले जवाफ फर्काए, ‘यस्तै नखाएर त तिमीहरूले मसँग नेपालमा हुँदा नसकेको नि । नखाए नखाऊ । यस्तो आइटम त मैले र विद्याले धेरै खायौँ । ऊ बेला मार्सी भातको सट्टा यस्तै खाऊँ भन्दा नमान्नाले प्रचण्ड पनि पछि परेको ओलीले सुनाए । ओलीले विनोद चौधरीलाई इसारा गर्दै बोलाए र भने, ‘ए चौधरी ! यता आऊ, माधवजी शाकाहारी मान्छे रे । उहाँलाई साँधेको काउसो तीन प्लेट र बिरे नुन छुट्टै राखेर ल्याइदेऊ ।’
यसरी नेपाली नेताहरूको नर्कस्थित रक्तनदी किनारमा सोमरससहितको भोज सकियो । भोजको अन्त अन्ततिर भट्टीमा एउटा चिल्लो गाडीबाट पूर्वराजा ज्ञानेन्द्रसहित परिवारकै आगमन भयो । नेता र राजा एकै ठाउँमा भेट हुने भो भनेर भट्टी साहु चौधरीले कटेजमा नेताहरू भएकाले छुट्टै बस्न आग्रह गरे । ‘मैले बुझेँ’ भन्दै ज्ञानेन्द्र बोले, ‘उहाँहरू र ममा खास फरक छैन, मेरो खलकले बिगार्न २४० वर्ष लगाएको देश थोरै समयमै बिगार्न सफल भएका नेताहरूसँगै म बस्न चाहन्छु ।’
चौधरीले रोक्दारोक्दै ज्ञानेन्द्र नेताहरू भएकै कटेजमा हिँडे । पारसचाहिँ भीम उपाध्याय र केशव स्थापितपट्टि लागे । नेपालमा ओलीको पेलान झेलेका माधव नेपाललाई ज्ञानेन्द्रले कालोनिलो हुने गरी जिस्क्याउँदै भने, ‘माधवजी, तपाईंको सुरुवालको प्वाल टाल्नुभयो ?’ सबैजना नेताहरू अकमक्क परे । जिब्रो बाक्लो भएको पारामा बोल्दै ज्ञानेन्द्रले थपे, ‘ऊ बेला दाम चढाएर प्रधानमन्त्री माग गर्न आएका बेला ढोग्ने क्रममा सुरुवालमा प्वाल परेको थियो नि !’ यो सुनेर देउवा सबैभन्दा बढी हाँसे । रिसले चुरिएका माधवले त्यसको सबै दोषी तपाईं हो भनेर जवाफ फर्काए । रातभर त्यो भोज चल्यो । पूर्व राजा र नेताहरूले खुब रमाइलो गरे । किनकि उनीहरूका लागि त्यो अन्तिम रात थियो नर्कमा ।
त्यसको भोलिपल्ट नेपालका शीर्ष नेताहरूलाई जनताबाट भोट र कर मात्रै लिएको र त्यसको बदलामा कोरोनाविरुद्धको एउटा सुई समेत दिन नसकेको र आफ्ना कार्यकर्ताहरूलाई ‘टाँगा’ बनाएर हनुमानको उपमा दिई रामभक्त हनुमानकै बदनाम गरेको लगायतका आरोप लगाएर यमराजले तातो तेलमा हाल्ने निर्णय सुनाएछन् । पूर्व राजा ज्ञानेन्द्रसहितलाई परिवारभित्रै घटनाहरू गुमनाम राखिएको, जनताको हित विपरित शासन लिन खोजेको तर नसकेको भन्दै फाँसीको सजाय सुनाइयो । यमराजले घोषणा गरेका ती सबै सजायहरू तत्कालै कार्यान्वयन भएको पाइयो । किनकि कारबाहीका बीभत्स फोटोहरू फेसबुकमार्फत चित्रगुप्तहरूले सार्वजनिक गरेका छन् ।
उक्त फोटोमा स्वर्गमा रहेका कुलमान, महावीर पुन, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले लाइक गरेका थिए ।
इकागजबाट
- मञ्जु मैनाली
दुख र सुख अनी हाम्रो जीवनको यात्रा उस्तै चलिरहन्छ्न् । जीवन यात्रा हो अनि यो यात्रा जन्मे देखि आर्यघाट नपुगुन्जेल सम्म चलिरहन्छ। हाम्रो जिवनको यात्रामा हरेक सुख दुख बाधा अर्चनहरु आउछन् । जसरी दुख आउछन ,त्यसै गरि दुखलाई भुलाउने खुसीहरु पनि हाम्रो जीवनमा उतिकै आउँछ। तर हामी हाम्रो जीवनमा दुख नै बढी किन देख्छौ? हामी मानिस जाती दु:ख लाई नै जिवनको ठूलो बाधा देख्छौ , किनकी दु:खमा हामी एक्लै रहन चाहान्छौ, दु:खलाई आफै भित्र दबाउन चाहान्छौ, भने सुख हामी अरु सङ्ग बाडेर अरुलाई पनि हाम्रो खुसीको हिस्सा बनाइ अगाडी बढ्छाैं। त्यसैले हामी दुखलाई धेरै अनि खुसी लाई हाम्रो जिवनमा थोरै देख्छौ।
हाम्रो जीवन बगेको खोला हो, खोला बग्दै जाँदा हरेक छालहरु सङ्ग अनि हरेक ठुला ठुला ढुङ्गाहरु सङ्ग ठाेकिदै आफ्नो गन्तव्यमा पुग्न सफल हुन्छ। यदि ढुङ्गा सङ्ग ठोकिएर खोलामा बगिरहेका ती छालहरु त्यही रोकिने हो भने आफ्नो गन्तव्यमा कहिले पुग्ने थिएन। त्यसै गरि मानिसको जिवनमा पनि अनेक बाधा र अर्चनहरु आउछन अगाडि बढन खोज्दा धेरै ढुङ्गाहरु ठोकिन आउछन । यदि त्यो ढुङ्गालाई देखेर अथवा त्यो ढुङ्गा सङ्ग डराएर रोकियौ भने हामी जीवनमा कहिले अगाडी बड्न सक्दैनौ । त्यो ढुङ्गा सङ्ग ठोकिदा हामी लडन सक्छौ तर हामीले उठेर अगाडी बडने साहस राख्नु पर्छ।
आजको हाम्रो समाजमा मानवको दुश्मन मानव जाती नै किन ? यहाँ कसैले कसैको प्रगति भएको देख्न चाहादैन, मै खाउ मै लाउ अनि संसारको सारा खुसी मै लिउ, मैले जति काम यहाँ कसैले गर्न सक्दैन । उसको लागि केही नरहोस उ रित्तो हात जाओस सबै कुरा मैले नै लि जान पाउ भन्ने घमण्डको कारण मानिशको दुश्मन मानिस नै बनिरहेका छन। आज हाम्रो समाजमा ९० प्रतिशत ब्यक्ति मानिस कै कारण दुखी छन। सत्य कुरा यो होकी अरुलाई लडाएर उठने मानिसले क्षणिक खुसी पाउला तर उ गन्तव्यमा कहिले पुग्न सक्दैन।
हाम्रो जीवन बगेको खोला हो, खोला बग्दै जाँदा हरेक छालहरु सङ्ग अनि हरेक ठुला ठुला ढुङ्गाहरु सङ्ग ठाेकिदै आफ्नो गन्तव्यमा पुग्न सफल हुन्छ। यदि ढुङ्गा सङ्ग ठोकिएर खोलामा बगिरहेका ती छालहरु त्यही रोकिने हो भने आफ्नो गन्तव्यमा कहिले पुग्ने थिएन।
हाम्रो जिवनमा लडाउने ब्यक्ति मात्र हामीले भेट्दैनौ, लडाउने व्यक्तिले लडाएर अघि बढेता पनि केही समय दुखमा जीवन बिताउन पर्ला तर एक न एक दिन हात दिएर उठाउने व्यक्ति हाम्रो जिवनमा आउने छ। दुख सहने साहस राख्नु नै हाम्रो जिवनको सबै भन्दा ठूलो जीत हो। मुना मदनमा जसरी मदन बिरामी हुँदा रातको बिचमा साथीहरुले छोडेर हिडे, मदन बिरामी थिए ठूलो जङ्गलको बिचमा कोहि थिएन साथी तब उनी आफ्नो इश्वर पुकारा गरिरहेका थिए ,तब एक व्यक्ति आएर मदनलाई उठाएर घर लगी औषधी गरि निको बनाएर मात्र छोडेका थिए, त्यसै गरि हाम्रो जीवनमा पनि दुखको क्षण आउँछ ,तर हाम्रो जिवनमा हामी एक्लै हुदैनौ सन्सारको कोहि व्यक्ती हाम्रो साथ रहेनन् भने पनि इश्वर सदा रहन्छन हाम्रो साथ हाम्रो सुख दुःख हर क्षण हाम्रो साथी बनेर हामी सही बाटो हिड्नुपर्छ उहाँले हाम्रो शिर कहिले झुक्न दिनु हुने छैन।
हामीले सन्सारमा हिडदै जाँदा जिवनको यात्राहरुमा दुख सुख दुबै दिने साथी भेटछौ, फरक यति छ, कि हामीले देख्ने वितिकै मान्छे छुट्टाउन सक्दैनौ कसले दुख दिन्छ अनि कसले सुख दिन्छ,मानिसको मन नाप्ने यन्त्र बनाउन सकिन्थ्यो भने सायद धेरै मानिसको जिवनमा दुख कम हुने थियो। तर हाम्रो जिवनमा जति दुख कष्ट आएता पनि हामिले हार नमानी जीवनलाइ अगाडी बढाउनु हाम्रो जीवनको सबै भन्दा ठूलो जीत हो।
धनी गरिब सानो ठूलो मानिस भनेर जब सम्म विभेद गर्न छोडिदैन तब सम्म एक व्यक्ति बाट अर्को व्यक्ती दुखको सिकार बनिरहन्छन।
मानिसहरुमा भएको घमण्ड डाह ईष्या कारण आज मानिस दुखको सिकार बनिरहेका छन।मानवीय भाबना मानिसले आफै भित्र बाट उतार्न सके आज मानिस दुखि हुने थिएनन !अहिले पनि हाम्रो समाजमा जातजाति, धनि गरिबको बिचको अन्तरलाई लिएर पनि एकअर्कालाइ दुःख दिने गरिएको छ। हामी सबै जाति एकै हौ भन्ने भावना राखेर अगाडि बढने हो भने भोलीको दिनमा कोहि व्यक्ति दुखी हुने थिएनन। हिजोको दिनमा हेर्ने हो भने सानो जातिले ठूलो जातिको चुलोमा गै चुरोट सल्काकै निहुँमा उसलाइ कुटिकुटी मारिएको छ।
२१ औ शताव्दीमा पनि अझै मानिसहरु जात धर्म रितिरिवाज मै अल्झिएर एकले अर्कालाइ दुख दिनै रहेका छन्। हाम्रो समाजमा काम हेरेर उसको धन सम्पती हेरेर व्यबहार गर्ने गरिन्छ। बाटो तिर हेर्दै हामीले देख्न सक्छौ कार चड्नेलाई हजुर अलि उता पार्किङ गर्नुस्न भनिन्छ अनि साइकल चड्नेलाइ त अलि उता लगेर राख , यसरी छुट्टीन्छ हाम्रो समाजको सानो र ठूलो लाई गर्ने व्यवहार ! धनी गरिब सानो ठूलो मानिस भनेर जब सम्म विभेद गर्न छोडिदैन तब सम्म एक व्यक्ति बाट अर्को व्यक्ती दुखको सिकार बनिरहन्छन।
हामी सबै जाति एकै हौ भन्ने भावना राखेर अगाडि बढने हो भने भोलीको दिनमा कोहि व्यक्ति दुखी हुने थिएनन्।
यदि हाम्रो समाजमा मानिस जाति बाटै मानिस जातिलाई हुने दुःखको अन्त्य गर्ने हो भने हामीले हाम्रो सोचलाई परिवर्तन गर्नु गरुरी छ।एक दिन सबै सन्सार छोडेर जाने हो कोहि छैन यहाँ अमर सबै माटो मै मिलेर जाने हो भन्ने सोच राखेर हामिले एकले अर्कोलाइ सक्ने सहयोग गरेर अगाडि बढ्न कसेउ भने हामी बाटै हाम्रो दाजु भाइ दिदी बहिनीलाई पर्ने दुखको कारण हामी आफै बन्ने थिएनौं ।हामी आफु मात्र हैन अरुलाई पनि केही गर्ने अवसर प्रधान गर्न सकेउ भने धेरैले जीवन सहज तरिकाले जिउन सक्छन् ।
‘खोज्छन सबै सुख भनी सुख त्यो कहाँ छ आफू मिटाइ अरुलाई दिनु जहाँ छ’ फेसबुक म्यासेन्जरमा झ्वाट्ट यो हरफ देखियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित कविताको यो हरफ पठाउनु भएको थियो एक जना प्रिय अग्रजले । दैनिक पत्रिकाको रात्रिकालिन ड्युटी सकिनै लागेको थियो । फेसबुक म्यासेन्जरमा आएको यो म्यासेज हेरेर आफैं मस्कुराउन पुगेछु । किन थाहा छैन ।
केही नसोचि उत्तर दिएः ‘यसैमा पनि अप्जेक्सन छ मेरो त ।’
उताबाट उत्तर आयो, ‘लक्ष्मीप्रसादलाई छैन रे ।’
फेरी हल्का हाँसो खुल्यो मनमा । खासमा मेरो नि के नै अप्जेक्सन थियो ? अग्रजलाइ उसै यस्ताे जवाफ दिएकाे थिए, जवाफकाे लागि मात्रै । कुराको शिलशिला जोड्न मात्रै । मन मिल्ने साथीहरूसँग वादविवाद गरेर मन चङ्गा बनाउन मन लाग्छ कहिले काँही । यसरी केही सवालमा तर्क वितर्क गर्दै जाँदा शब्दहरु कत्ति मिठामिठा जन्मन्छन्, खै कहाँबाट त्यति मिठामिठा शब्दहरु जन्मन्छन् होला जस्तो लाग्छ अन्य समयमा चै आफैंलाई । तर जसले म्यासेज गर्नु भएकाे थियाे उहाँ साथीभन्दा मेराे अग्रज हुनुहुन्थ्याे, मान्यजन । बुज्रुक व्यक्तिहरूसँगकाे वादविवाद अर्थात छलफलबाट धेरै सिकाइ हुन्छ जीवनमा । त्यसैकाे लागि कुरा जाेड्ने जमर्काे थ्याे, बस् यत्ति ।
आफूले त्यागेर अरुलाई साथ दिनसक्यौ भने यस्तो महामारीको समयमा आपसमा सबैले ‘म’ हैन ‘हामी’को आभाष गर्न सक्छौ । यो नै महामारीबाट बच्ने सबैभन्दा शक्तिशालि उर्जा हो । अस्र हाे ।
अक्सर म फेसबुक म्यासेञ्जरमा कुराकानी गर्दिन । मन लाग्दा र समय हुँदा चाँही पत्रकार संझना घिमिरेसँग जिस्कने, ठुस्कने, धम्क्याउने, घुक्याउने धारा–प्रवाह चल्छ । हामी दुई कहिलेकाँही म्यासेञ्जरमै कुराकानी गर्दा गर्दै रुन्छौ पनि । कहिले बेस्सरी हाँस्छौ । आफैंलाई भुल्छौ, एक अर्कामै हराउँछौ । रुनु भनेको कमजोरी र हाँस्नु भनेको महानता वा जित भन्ने भ्रम म भित्र पटक्कै छैन । मेरो बुझाइमा रुनु भनेको अन्तरमनको पीडाहरुलाई सलल बगाउनु हो । अन्तरमनमा पीडा हुँदा धित मरुञ्जेल फालेपछि मन हल्का हुन्छ । अनि आनन्दले आफ्नो दैनिकीमा फर्किन सकिन्छ । पीडाहरू बगेपछि जुन ‘फ्रेसनेश’ जन्मन्छ त्याे दरिलाे भराेसा बन्छ अगाडिकाे कामकाे लागि । भलै याे सबैमा लागु नहुन पनि सक्ला ।
मेरी सङ्गी संझना अहिले पीडामा छिन् । उनको बाबा, आमा, भाई, बुहारी सबै कोभिडसँग लडिरहनु भएको छ । जन्म घर परिवारको सबै सदस्यलाई कोभिड हुँदा उनी भेट्न जान्छिन्, परैबाट उहाँहरुलाई हिम्मत भरेर कर्मघर फर्किन्छिन् । बाबा आमा भाइ बुहारीलाई यस्तो घडीमा पकाएर खुवाउने, समय–समयमा औषधि पिलाउने, उहाँहरुको सामुन्ने बसेर हाँसखेल गर्ने/गराउने र उहाँहरुलाई मनोसामाजिक रुपमा स्फुर्त गराउने कत्ति चाहहरु छन् होला उनी भित्र, त्यो मैले धेरथोर ‘फिल’ गरिरहेको छु । यि सारा तनावलाई व्यवस्थापन गर्दै आफ्ना साना साना बाबु नानीहरु र आफ्नो नोकरी सम्हाल्न आइपुग्छिन उनी फिल्डमा ।
रुनु भनेको कमजोरी र हाँस्नु भनेको महानता वा जित भन्ने भ्रम म भित्र पटक्कै छैन । मेरो बुझाइमा रुनु भनेको अन्तरमनको पीडाहरुलाई सलल बगाउनु हो । अन्तरमनमा पीडा हुँदा धित मरुञ्जेल फालेपछि मन हल्का हुन्छ । अनि आनन्दले आफ्नो दैनिकीमा फर्किन सकिन्छ । पीडाहरू बगेपछि जुन ‘फ्रेसनेश’ जन्मन्छ त्याे दरिलाे भराेसा बन्छ अगाडिकाे कामकाे लागि ।
उनी आमाबाबालाई भेटेर मन दह्रो पार्दै फर्किन्छिन् म भने फोन र म्यासेज गरेर उनलाई हिम्मत भर्ने जमर्को गरिरहेको छु । थाहा छैन, मेरो फोन र म्यासेजले उनलाई कत्तिको साहस दिएको छ । भेट्न नपाएको सवालमा कुरा गर्दा उनी भन्छिन्, ‘भेटेर कोही आफ्नो हुन्न, नभेटेर म तिमीबाट टाढा छैनाै ।’ उनले यत्ति भनिदिंदा उनी प्रति झन्झन् माया जागेर आउँछ म भित्र । र फेरि उनको पीडाले मलाई कताकता दुखाइरहन्छ । उ मेरो हितैसी मध्येकी साथी । जोसँग म आफ्नो सारा पीडाहरु निधक्क खुलेर भन्न सक्छु, आमालाई भने जसरी । भनेको पनि छु । यो महामारीमा हामी घरघरमा बन्देज जत्तिकै छौ । कहिले भेटौं, कहाँ जाउँ के गरौं, के भनौं, एक किसिमको उकुसमुकुस मात्रै भइरहेको छ मनमा । तर बाध्यता यो मनले रोजे जस्तो खोजे जस्तो परिस्थितिमा हामी छौनौं ।
अं म कुरा गर्दै थे, ‘खोज्छन सबै सुख भनी सुख त्यो कहाँ छ आफू मिटाइ अरुलाई दिनु जहाँ छ’ (महाकवि देबकोटा) । माया र त्यागको महत्व साँच्चै यो पल चाँही फिलिङ्स हुने रैछ । जब आफूले सबैभन्दा विश्वास गरेको, माया गरेको व्यक्तिलाई आपत पर्छ । त्यो आपत बरु मलाई परेको भए हुने, उनलाई केही नहोस् भन्ने लाग्दो रहेछ । सायद देबकोटाको माथिको हरफको अथ्र्याइ पनि त्यही हो की । आफू मेटाइ अरुको लागि समर्पण हुनु ।
मैले देखिरेको वर्तमान अभावै अभावमा अडेको छ । मेरा आँखाले देखेको अभावले आज व्यक्ति, परिवार, समाज र राज्य सञ्चालनसम्म गाँजेको छ । एउटा व्यक्ति आज भरपुर आत्मविश्वासको अभावमा रुमलिएको छ । व्यक्तिगत आँट, हिम्मत बटुल्नै नसकेको कारण जीवन गुमाइरहेको छ । उसलाई आफैं त्यस्ता जोश, हिम्मत, साहस तथा उच्च मनोबल राख्न नसक्दा नजिकका व्यक्तिहरुबाट पाउनु पर्ने त्यो हिम्मत आड र भरोसाको अभाव छ ।
आज हामी यो डरलाग्दो महामारीको घडीमा छौं । मान्छेदेखि मान्छे नै डराउनु पर्ने परिस्थितीको समाना गरिरहेका छौ । तर हामी–हामी (मान्छेदेखि मान्छे) हैन, हामीले महामारीबाट मात्रै डराएर, मान्छेलाई माया, सद्भाव र हौसला दिएर बचाउँनु पर्छ । यो हाम्रो कर्तव्य पनि हो । हामी मान्छेमात्र यस्तो प्राणी हौ, जसले विवकेको प्रयोग गर्न सक्दछौ, र त मानव जाति अब्बल प्राणि बन्न सक्यो ।
हामीले आपसमा आफूलार्ई बिर्सेर अर्कोलाई समर्पण गर्न सक्यौ भने हामी जस्तोसुकै महामारीमा पनि जित हासिल गर्न सक्छौ । हाम्रो मनमा कोही न कोही त यस्तो व्यक्तिहरु होलान् जसलाई हामीले आफैंलाई जत्तिकै माया गर्छौ । उसको समस्यालाई आफ्नै ठान्दछौ । हो यही मित्रताको फैलावट आवश्यक छ अहिले । यही माया र सद्भावलाई समाज र संसारभर फैलाउनु आवश्यक छ।
हुन त निराशावादी कुरा गरेजस्तो होला, तर मैले देखिरेको वर्तमान अभावै अभावमा अडेको छ । मेरा आँखाले देखेको अभावले आज व्यक्ति, परिवार, समाज र राज्य सञ्चालनसम्म गाँजेको छ । एउटा व्यक्ति आज भरपुर आत्मविश्वासको अभावमा रुमलिएको छ । व्यक्तिगत आँट, हिम्मत बटुल्नै नसकेको कारण जीवन गुमाइरहेको छ व्यक्तिले । उसलाई आफैं त्यस्ता जोश, हिम्मत, साहस तथा उच्च मनोबल राख्न नसक्दा उसको नजिकका व्यक्तिहरुबाट पाउनु पर्ने त्यो हिम्मत आड र भरोसाको अभाव छ ।
कोभिड भैहाल्दा पनि केही हुन्न भन्ने जीवनप्रतिको भरोसा व्यक्तिलाई आवश्यक छ । त्यो आवश्यकता परिपुर्ति गर्नेसक्ने संभावित वर्ग भनेको परिवार आफन्त र साथीभाइ नै हुन् ।
परिवार पनि उस्तै अभावमा छ आज । बाँच्नको लागि हिम्मत, भरोसा, आत्मबलले मात्रै प्राण रहन्न । यहाँ अहिले धेरैलार्ई गाँसको अभाव छ । विहान बेलुकी छाक टार्नकै लागि आपतकालको सिर्जना भएको छ । रोग नलाग्नको लागि धेरै औषधि र पक्रियाहरु छन् । सुरक्षा कवचहरु छन् जुन हामीले अहिले पाइलै पिच्छे अपनायि रहेका छौ । तर, भोकै नलाग्ने कुनै उपाय छैन, पेटले खान माग्दा के गर्ने, रोग ठुलो कि भोक?
यस्ता समस्यामा रहेको परिवारको लागि हामीले के गर्यौ यो महामारीमा ? ‘आफू मिटाइ अरुलाई दिनु जहाँ छ’ भने झै आफ्नो गाँस कटाएर अरुलाई दिनुमा सन्तुष्टि लिनसक्यो भने भोकको कारण सिर्जित समस्या सुल्झन सक्छ । कतिपय परिवारभित्र माया र मित्रताकै अभाव छ । कतिपय परिवारमा गाँसको अभाव छ, भने कतिपय परिवारमा औषधि उपचारको अभावले ज्यान बचाउँन नसकिएको गहिरो पीडा छ । त्यसैले यो सवाल गाँस बाँड्नमा मात्रै हैन, उपचारमा आर्थिक सहायता, मानसिक पीडाको शेयरिङ्सम्म पुर्याउन सकिन्छ ।
सबैसँग सबै कुरा छैन होला, तर केही न केही त सबैसँग पक्कै छ । हामीले आफूबाट कटाएर अर्को एकलाई मात्रै दिन सक्यौ भने अर्को आत्माले सुखानुभुति गर्नेछ । त्यो सुखानुभुति पाउनेलाई भन्दा दिनेलाई नै बढी हुनेछ । कसैले ज्ञान बाँड्न सक्ला, कसैले शरिरीक श्रम, कसैले आर्थिक सहयाता गर्न सक्ला कसैले उच्चमनोवल तथ साहसको केही शब्दहरु, विल्कुल केही नहुने केही हुन्न । र विल्कुल कुनै समस्या नभएको पनि केही हुन्न । आपसमा मनै देखि साथ दिन सक्यौ भने, शरिरको दुखाइमा धेरै राहत मिल्नेछ । शरिरभन्दा मनको दुखाइ गहिरो हुन्छ । एकअर्काेकाे साथले मानसिक दुखाइपनि घटाउँछ ।
समाजमा उस्तै समस्या छ । भौतिक दुरी कायम राख्ने भन्दै गर्दा आज समाज नै एक्लो एक्लै हुनु परेको छ । समाजको चरित्र भनेकै समूह हो, तर समूहले समूहको रुप लिन पाएको छैन आजको अवस्थामा । व्यक्तिले संधै आफ्नो समाजबाट आफ्नो उपस्थितिको गणना चाहन्छ, तर आज आभाष गर्न पाएको छैन त्यो पनि ।
कोभिडको महामारी हामी विगत झण्डै २१ महिनादेखि ‘फेस’ गर्दै आएका छौ, तर अझै पनि हाम्रो समाजले कोभिडलाई हैन, कोभिड संक्रमितलाई पर सार्दै आएको छ । यो महामारीको घडीमा अग्रभागमा खटिएर मानवताको लागि लडिरहेका व्यक्तिहरुलाई यही समाजले स–सम्मान स्वीकार गर्न सकेको छैन । भेरी अस्पतालको स्वास्थ्यकर्मीहरुमाथिको हमला एउटा उदाहरणको रुपमा संझना सक्छौ हामी । हेटौंडा उपमहानगरपालिकाले नगरभित्रको सबै वडाहरुमा अटो एम्बुलेन्सको व्यवस्था गर्यो, तर ति अटो एम्बुलेन्स चालकहरुले समाजबाट आफूहरुलाई अस्वीकार गरेको गुनासो गरिरहेका छन् । यि उदाहरणले प्रस्ट्याउँछ कि समाजमा अझै पनि यो महामारीबाट बच्न र बचाउँन आपसी ऐक्यवद्धता प्रस्तुत गर्न सकिरहेका छैनौं ।
र राज्य सञ्चालन तह । यहाँ त आपसी विश्वासकै शंकट छ। यो भन्दा ठुलो अभाव के होला र? समाजमा एकताको अभाव खड्कीरहदा देशमा आपसी विश्वासको अभाव चरमबिन्दुमा पुगेको छ ।
यि यावत समस्या र अभावहरुका बिचमा हामी एकबद्ध भएर यो महामारीलाई जित्नु छ । यसको लागि सबैभन्दा पहिलो हामी आफू शारिरीक र मानसिका रुपमा स्वस्थ्य रहनुछ । र, आफूले त्यागेर अरुलाई साथ दिनसक्यौ भने यस्तो महामारीको समयमा आपसमा सबैले ‘म’ हैन ‘हामी’को आभाष गर्न सक्छौ । यो नै महामारीबाट बच्ने सबैभन्दा शक्तिशालि उर्जा हो ।
सबैसँग सबै कुरा छैन होला, तर केही न केही त सबैसँग पक्कै छ । हामीले आफूबाट कटाएर अर्को एकलाई मात्रै दिन सक्यौ भने अर्को आत्माले सुखानुभुति गर्नेछ । त्यो सुखानुभुति पाउनेलाई भन्दा दिनेलाई नै बढी हुनेछ । कसैले ज्ञान बाँड्न सक्ला, कसैले शरिरीक श्रम, कसैले आर्थिक सहयाता गर्न सक्ला कसैले उच्चमनोवल तथ साहसको केही शब्दहरु, विल्कुल केही नहुने केही हुन्न । र विल्कुल कुनै समस्या नभएको पनि केही हुन्न । आपसमा मनै देखि साथ दिन सक्यौ भने, शरिरको दुखाइमा धेरै राहत मिल्नेछ । शरिरभन्दा मनको दुखाइ गहिरो हुन्छ । एकअर्काेकाे साथले मानसिक दुखाइपनि घटाउँछ ।
मनैदेखि अर्को मनलाई सहयता गर्दा आपसमा मिल्ने सन्तुष्टि चरम आनन्दपूर्ण हुन्छ । यो महामारीमा हामीले ‘हामी’ हुनुको भूमिका निर्वाह गरौं । आफू मेटाइ अरुलाई दिएर सन्तुष्टि ग्रहण गरौं । सन्तुष्टिले नै हामीलाई चरम सुख प्रदान गर्न सक्छ । ‘हामी भन्ने भावको विकास गर्न सक्छौ ।’ जे छ त्यो बाँडेर हामीले हामी हुनुको भूमिका निर्वाह गरौं ।
- सुदर्शन अधिकारी, हेटाैंडा–११ नवलपुर, नलेज भिलेज
केही दिन पहिले मेरो पित्तको थैलोमा देखिएका तिनवटा ढुङ्गाहरुको कारण पित्तको थैलो शल्यक्रिया गरि झिक्नु परेकोले काठमाडौ स्थित एउटा निजि अस्पताल पुगे। उक्त अस्पतालले मलाई भर्ना गरे देखि डिस्चार्ज अवधिसम्म सम्पूर्ण जिम्मेवारी लिएको थियो । उदाहरणको रूपमा: भर्ना लिएदेखी बिरामीको कुरुवा वा आफन्तसङ्ग यो चाहियो वा त्यो चाहियो भनेन । अप्रेशन सकिएपछि कुरुवाहरु आ-आफ्नो घर जान सकिने रहेछ । रातभर अस्पतालमा बस्नुको कुनै औचित्य देखिएन र वास्तवमा कुरुवा बस्ने स्थानको व्यवस्था पनि रहेन छ ।
पोस्ट अपरेटिभ वार्डमा बिरामीको बेड अगाडि नै टेबुल, कुर्सी र बिरामीको फायल राखी नर्सिङ स्टाफले प्रत्येक आधा घण्टामा पल्स, रक्तचाप, अक्सिजन लेभल आदि मनिटरबाट टिपोट गरि रेकर्ड राख्ने, बिरामीसङ्ग स्वास्थ्य अवस्था सोध्ने, तातो पानी खान दिने, बिहान ट्वाइलेटसम्म जान सहयोग गरि दिने वा डाइपर लगाइदिने, दात माझ्न ब्रस मन्जन दिने, चिया बिस्कुट दिने र आवस्यकता अनुसार अस्पताल क्यान्टिनबाट खानेकुरा मगाइदिने तथा आवस्यक परेका औषधिहरु समेत अस्पतालले नै फार्मेसीबाट मगाउने व्यवस्था रहेछ ।
उक्त अस्पतालले उदघोष गरेको मुलमन्त्र हो ” You are in safe hand .” अस्पताल परिसर भरी जताततै देखिने यो मुलमन्त्रले बिरामीको आत्मबल उच्च राख्न मद्दत गर्ने मेरो अनुभव रह्यो । निजी अस्पतालमा उपचार गराउने क्षमता अधिकाँस जनतामा छैन । त्यसैले ,सरकारी र सामुदायिक अस्पतालको क्षमता र स्तर व्यापक बढाइ आमजनताको पहुँचमा सहज स्वास्थ्य सेवा बढाउनु राज्यको पहिलो कर्तव्य हो ।स्वास्थ्य सेवा जति सहज र स्तरिय हुन्छ, सरकार त्यति नै सफल हुन्छ ।हालै कोभिड संक्रमण बढेको अवस्थामा बेड र अक्सिजनको सर्वथा अभाव देखिन थाल्यो ।
बिरामीका आफन्तहरू बेड र अक्सिजन खोज्न एउटा अस्पतालबाट अर्को अस्पताल चहार्नु पर्ने अवस्था र केही अस्पतालले अक्सिजनको जोहो बिरामीको आफन्तबाट हुनसके मात्र उपचार गर्न सकिने भनिएको कारण बिरामी र बिरामिका आफन्तहरु निकै तनावग्रस्त भए । बिरामीको आत्मबल घटन गयो जस्को कारण पनि मृत्यु दर बढेको अनुमान गर्न सकिन्छ । स्वास्थ्य सेवा पाउनु नागरिकको संविधान प्रदत अधिकार हो र यो मानवीय कार्य पनि हो । बिरामी अस्पताल पुग्छन भने अस्पतालको स्तर अनुरुपको सेवा दिन अस्पताल हरपल तयार हुनु पर्दछ । गतवर्ष कोभिड संक्रमण बढदै गर्दा खासगरी केही निजि अस्पतालले शुरुमा कोभिड बिरामीलाई प्रवेष नै दिएका थिएनन् ।
यस वर्ष कोभिड वार्डको विशेष ब्यवस्था गरि सेवा दिइरहेका छन ।कोभिडले ग्रसित भै स्वास फेर्न गाह्रो पर्ने बिरामीलाई अक्सिजन अनिवार्य छ र आवस्यक अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी पनि अस्पताल कै हो । हालको महामारीमा माग अत्यन्तै बढेको तर वर्तमान उत्पादन क्षमता र सिलिन्डरको अभावको कारण अक्सिजनको चरम अभाव देखिएको हो । नयाँ थप खाली सिलिन्डरको जोहो गर्न, नयाँ अक्सिजन प्लान्ट स्थापना गर्न गराउन र तत्कालको लागि मित्र राष्ट्रहरुको सहयोग लिइ आपूर्ति सहज गर्ने काम र कर्तव्य सरकार कै हो ।
यस बिच, देश भित्रका उद्योगहरुले आफ्नो उत्पादन क्षमता बढाउदा खाली सिलिन्डरको कमि देखिएकोमा विभिन्न सामाजिक संस्थाहरुले कबाडी , घर /स्टोरमा प्रयोगमा नभएका सिलिन्डरहरु संकलन गरिदिएकोले पनि आपूर्ति ब्यवस्थापनमा उल्लेख्य सहयोग पुगेकै हो ।अन्त्यमा , कोभिड बढ्ने क्रम नरोकिएमा हाम्रो स्वास्थ्य सेवा झन जटिल हुने टड्कारो देखिएकोले संक्रमणबाट आफू बचौ र अरुलाइ पनि बचाऔ ।मानिससङ्गको दुरि कायम गरौ ।घर बाहिरका कुनै पनि चिजबिज छोएका छौ भने तत्काल साबुनपानीले हात धोऔ । मानिसको नजिक पर्दा अनिवार्य मास्क लगाऔ । जाडोबाट गर्मीको मौसम सुरु भएको छ , एलर्जी र फ्लूबाट बचौ । घर बाहिर जानू पर्ने कारणहरु आफैले नखोजौ । बरु जे छ त्यसैमा खुसी र आनन्द महसुस गरौ । आत्मबल उच्च राखौ ।
(अधिकारीकाे फेसबुक वालबाट )
सम्बन्ध र सन्तान
Tags: No Comments
‘बाल बालिकाको सर्वोत्तम हितको कुरा म बेला बेलामा यस्तै कार्यक्रममा सुन्छु, अभिभावकहरु, शिक्षकहरु, अधिकारकर्मीहरुबाट सबैले बालबालिकाको हितको कुरा गर्नु पर्छ भन्ने गरेका छन्, तर आफ्नै घरमा आमाबुबाको सम्बन्धबाट पीडित बालबालिकाको हितको लागि कस्ले के गर्ने ?’
एउटी १८ वर्षिया नानीको यो सवालले मलाई चसक्क छोयो । भर्चुअल माध्यमबाट सञ्चालित कार्यक्रममा उनी बोलिरहेकी थिइन् । क्यामरा अन नभएकोले उनको अनुहार मैले देख्न पाइन । तर, उनको बोलिको गतिले म आभाष गर्दै थिएँ कि उनको आँखा पनि रसाएका छन् ।
‘गाउँपालिका अध्यक्ष ज्यूलाई मेरो यो प्रश्न’ उनले यति बेलेर माइक पनि अफ गरिन् । लगत्तै मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमगाई बोले । ‘बालबालिकामाथि हुने हिंसा, मानसिक टर्चर तथा पारिवारीक बेमेलको कारण सिर्जना हुने कठिन अवस्थाहरुमा हामी सधैं चनाखो छौ । स्थानीय टोल विकास संस्था, वडा कार्यालयले यो समस्याको समाधान गर्न सक्छ, नत्र गाउँपालिकाले नै पनि विवाद मिलाउने काम गर्छ । यो भन्दा महत्वपूर्ण कुरा हामी सिङ्गाे गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाको तयारीमा छौ । यो अघि यस्ता समस्या समाधान हुनेछ ।’ अध्यक्षको पनि कुरा टुङ्गियाे ।
आमा बुबालाई सम्बन्ध टुटाउनको लागि अदालतको ढोका खुल्नु नै नानी बाबुहरुको भविष्यको धेरै संभावनाहरुको ढोका बन्द हुन सक्ने जोखिम बढ्नु हो ।
गाउँपालिका अध्यक्ष ज्यूको यि कुरा ति नानीले बुझिन् या बुझिनन् । उनको चाहेको प्रश्नको पूर्ण उत्तर यो थियो कि थिएन, उनले कति गहिरायि चाहेकी थिइन् ? कस्तो घटनाको बारेमा अग्रजसँग के सहयोग चाहन्थिन् गहिरायीमा कोही कसैले जान्न चाहेनन् । या त्यो उपर्यक्त समय भएन । त्यसपछि ति बालिकाले प्रतिप्रश्न पनि गरिनन् । उत्तरले चित्त बुझ्यो वा आफैं मन बुझाएर बसिन् ।
कार्यक्रम अगाडि बढ्दै रह्यो । बालअधिकारकर्मीहरु विभिन्न सवालमा अन्तरसंवाद गरिरहे । यो बिचमा मेरो मानसपटलमा भने धेरै प्रश्नहरु मडारिरहे ।
जीवन सधैं सरल रेखामा सहज गतिमा कहाँ बग्दछ र ? चाहेर वा नचाहेर जीवनको गति प्रायः सधैं बक्र रेखामा आफ्नै गतिमा बढीरहन्छ । ‘सम्बन्ध’ मात्रै जुन यस्तो कुरा हो, यसले बक्ररेखामा कष्टकर बन्ने जीवनलाई सहज बनाउन सक्दछ । जतिवटा पय लगाए पनि डोरीको एकै गाँठो भने झै जतिवटा सम्बन्धहरुको पयबाट जीवन डोर्याउँदै रहेपनि सहज बनाउने जीवनको डोरीमा एउटै गाँठो भनेको नै ‘सम्बन्ध’ हो । डोरीको कुनै ‘पय’ मा कुहिएको ‘गाँस’ पर्न जाँदा त्यहाँनेर डोरी कमजोर हुन्छ, सबै पयहरु उत्तिय बलियो नमक्किएको पर्यो भने, सिङ्गाे डोरीले धेरै भारीहरु बोक्न सक्छ ।
जुन भारीलाई भारीको रुप दिन,कसिलो बनाउ, डोरीलाई डोरीको रुपमा राख्ने सबैभन्दा महत्वपूर्ण काम त्यहीँ एउटा गाँठोले गर्दछ । अर्थात् जीवनमा ‘सम्बन्ध’को गाँठो । त्यही सम्बन्ध पनि चाहे जस्तो हुन सक्दैन । या भनौ चाहे जस्तो बनाउन सकिएन भने जीवन कहाँनेर चुडिने हो पत्तो हुन्न,बिचमा मक्किएको गाँसको पय परेको डोरी जस्तै । १८ वर्षिया ती नानीले उठाएको त्यो सवालमा मेरो मथिङ्गल अझै पनि रगमगाइरह्यो । साँच्चै सम्बन्ध संधै सुमधुर रहंदो हो त, हजारौं नानीबाबुको जीवन कस्तो मज्जाले फक्रँदो होला है खुल्ला आकाशमा । कति प्रगति गर्दा हुन् तिनीहरुले खुलेर यो धरतीमा ।
जीवन सधैं सरल रेखामा सहज गतिमा कहाँ बग्दछ र ? चाहेर वा नचाहेर जीवनको गति प्रायः सधैं बक्र रेखामा आफ्नै गतिमा बढीरहन्छ । ‘सम्बन्ध’ मात्रै जुन यस्तो कुरा हो, यसले बक्ररेखामा कष्टकर बन्ने जीवनलाई सहज बनाउन सक्दछ ।
आमा बुबाको सम्बन्धकै कारण बालबालिका पीडित हुनुपर्ने यो जत्तिको विडम्बना अर्को के होला र? जन्मदाताले नै सन्तानलाई बेवास्ता गर्दाको मार्मिक पीडामा जकडिएर हुर्किएपछि त्यो सन्तानले भोलीको भविष्य कस्तो बनाउँला ? उसलाई शिक्षाको प्रयाप्त ज्योती कसरी प्राप्ता होला ? आमा बुबा जसले संसार टेकाउँछन्, उनीहरु हुदाँहुदै उनीहरुबाट आभाष हुन नसकेको आफ्नोपन अरु को बाट प्राप्त गर्नसक्लान् यस्ता बालबालिकाहरुले ।
अर्को घटनाको याद आयो ।
केही दिन अगाडि जिल्ला अदालत परिसर पुग्दा एक जना अधबैंसे पुरुष भेटिए । साथमा थिइन् सानी नानी । नजिकै थिइन् अर्की अधबैंसे महिला । साथमा आएका अन्य केही महिलाहरुको गुनगुन आवास सुनेर थाहा लाग्यो कि उनीहरु सम्बन्ध विच्छेदको लागि अदालत परिसरमा थिए ।
कोरोना महामारीको कारण अघिल्लो वर्षको लकडाउनमा घरैबस्दै बिग्रेको अरे सम्बन्ध ।
‘कसरी के भयो र’ मैले जान्न चाहे ।
‘अघिपछि त खाना खायो अफिस गयो, साँझमा घर आयो, थोरै समय हुने भेट खासै तनाव दिन्नथ्यो, लकडाउनको समयमा अति नै भयो, बच्चाको अगाडि सधैंभरी झगडा, अनि छुट्टीन थालेको ।’
ति महिलाको आफन्त रहेछिन् अर्की महिलाले एकै स्वाशमा यत्ति भनिन् ।
‘कति वर्ष भयो विहे भएको ?’
‘१३ वर्ष, लब म्यारिज, पहिलो अति राम्रो थ्यो, पोहोरबाट खै के भयो उनीहरु नै जानुन्’ ती महिलाले थपिन् ।
‘अनि बच्चा ?’ मैले सोधे ।
‘९ वर्षकी नानी छ, खै अदालतले के भन्छ कुन्नि ।’
घडी हेर्दै उनीहरु अदालतभित्र पसे । म गेटबाट बाहिरीएँ ।
म गेटबाट त बाहिरीएँ तर मन बाहिरिन पटक्कै मानेन । आँखामा ति ९ वर्षिया नानी घुमिरहिन् ।
…… फुलबुट्टे पिङ्क कलरको फ्रक लगाएकी, पँहेलो फूलवाला हेडबिन शिरमा अड्याएर कपाल छाडेकी, सामान्य चप्पल, आँखामा गाजल लगाएकी ती नानी । अब ति नानीले बाबाबाट आमा बाबा दुबैको वा आमाबाट बाबा आमा दुबैको माया कसरी पाउलिन् ?
जसरी आमा बाबाले सहजै सम्बन्ध छुटाउनको लागि अदालतको बाटो रोजे, के ती नानीको जीवन पनि सहजै अगाडि बढ्ला त ? यो अघिल्लो वर्षको कोरोना महामारीले निम्त्याएको घटना थियो त्यो । हामी फेरि निषेधाज्ञाको परिधिमा छौ । यस वर्ष फेरि कोरोना महामारीको झनै डरलाग्दो चपेटामा परेका छौ । थाहा छैन, यस्ता हजारौं नानीबाबुहरुको आमा बुबाले सम्बन्धलाई समझदारीमा अगाडि बढाउन नसकेकै कारण अदालतको ढोका ढकढक्याउने छन् । बस् उनीहरुलाई अदालत खुल्ने दिनको प्रतिक्षा छ सायद । आमा बुबालाई सम्बन्ध टुटाउनको लागि अदालतको ढोका खुल्नु नै नानी बाबुहरुको भविष्यको धेरै संभावनाहरुको ढोका बन्द हुन सक्ने जोखिम उत्तिकै बढ्नु हो (मेरो बुझाइमा, केही अवस्था फरक पनि हुन सक्लान् ।)
सम्बन्धको डोरी कसिलो बनाउनको लागि समझदारी, अर्थात एकापसको बुझाइ अनिवार्य सर्त रहन्छ । ढुङ्गाेलाई माटोको भर भनेझौ दुबैलाई दुबैको आड–भरोस, भर–थेग हुँदा मात्रै सम्बन्धमा मिठास जन्मन्छ । र, त्यही मिठासमा सन्तानको भविष्य फक्रन्छ निस्फिक्रीले । एउटाले अर्कोको आवश्यकता, दुख पीडा, पीरमर्कामा साथ नदिने हो भने किन देखावाटी सम्बन्धमा रहनु भन्ने धारणा बढेको छ । आमा बुबाको सम्बन्ध आफैंमा सन्तुष्टि हुन सकेन भने सन्तानको सउज्वल भविष्य कसरी संभव छ । झ्वाट्ट सुन्दा सामान्य लागेपनि यहाँ सबैभन्दा गहिरो कुरा सेचना कै अभाव छ । के श्रीमान् श्रीमतीको सम्बन्धलाई समझदारीमा कसिलो बनाउने कुरामा दुबै सचेत भैदिए सम्बन्ध समझदारीमा चल्दैनथ्यो होला त ? यसो भन्दैमा महिलामाथि हुने हिंसा सहेरै बसौ भन्न खोजिएको अर्थ नलगाइयोस् । आमाबुबा सेचत भएमा बालबालिकाहरु आफ्नो अभिभावकहरुको आफ्नोपन नपाएर बैचैन हुनुपर्ने अवस्था आउँन्न ।
पुनः त्यहीँ १८ वर्षिया नानीको सवालमा फर्कन चाहन्छु, ‘आफ्नै घरमा आमाबुबाको सम्बन्धबाट पीडित बालबालिकाको हितको लागि कस्ले के गर्ने ?’ आमा बुबाबाहेक अन्य पक्षको जिम्मेवारी छ कि छैन यहाँ ? अहिले कोरोना महामारीको कारण सबै बालबालिका घरको चौघेरामा सिमित बस्न बाध्य छन् । उसैपनि उनीहरुलाई घर भित्र भन्दा बाहिर रमाएको आदत बढी छ । स्कुलको कक्षा कोठा, चौर, अतिरीक्त कक्षाहरु, घर–छिमेकको खेल मैदानहरु साथीभाइहरु सबैलाई बिरानो मान्न बाध्य छन् आजको परिस्थितीमा बालबालिकाहरु । यतिमात्रै हैन दैनिक सयौं बालबालिकाहरु कोरोना संक्रमणबाट पीडित भइरहेका छन्, कतिले त अभिभावकाको न्यानो काम समेत गुमाइसकेकका छन् कोरोनाकै कारण । यो सकसपूर्ण घडीमा सबै सन्तानको रक्षा गर्नु जरूरी छ, बालबालिकाहरूलाइ उनीहरूकाे इच्छा अनुसार रमाउने वातावरण प्रदान गर्दै सिप कला काैशलतालाइ प्राेत्साहन गर्दा मात्रै पनि सकारात्मक प्रभाव पर्नसक्छ ।

अब यहाँनेर बालबालिकाको सर्वोत्तम हितको सवाल के हो ? कसले ध्यान दिने यस्तो
परिस्थितिमा बालबालिकाको हितको खातिर ? महामारीको कारण त्रसित बालमनोविज्ञानको लागि कसले के गर्ने ? स्वास्थ्य स्वस्थ बालबालिकाहरुको लागि मानसिक स्वास्थ्य पनि ठिक राख्न घरलु वातावरण ठिक राखेर पनि धेरै हदसम्म अभिभावकले भूमिका निर्वाह गर्न सक्छन् ।
बालबालिकाहरुलाई उनीहरुको इच्छा अनुसारको गतिविधिमा संलग्न हुन प्रेरित गर्ने, उनीहरुसँगै खेल्ने रमाउने गरिदिँदा नै पनि धेरै हदसम्म उनीहरुको बैचेनलाई कम गर्न सकिन्छ ? टोल टोलमा स्थानीय सरकार छ । यो अवस्थामा बालबालिकालाई घरैमा रहेर रमणीय वातावरणमा सिकाइलाई बढावा दिने प्रकारको कार्यक्रमहरु ल्याउनु पर्छ । बालअधिकारको क्षत्रमा कार्यरत संघसंस्थाहरुले बालबालिकाको आन्तरीक क्षमता प्रस्फुटको लागि कार्यक्रमहरु सञ्चारमाध्यमार्फत गर्न सक्छन् । यो विषय अवस्थालाई अवसरको रुपमा लिने सकिने प्रकारको कार्यक्रमहरु ल्याउन किन पहल नगर्ने ? (सहीखबर साप्ताहिकको प्रिन्ट संस्करणबाट)