कम्बाेडिया । कम्बाेडियामा तीज पर्व धूमधामका साथ मनाइएकाे छ । गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद कम्बोडियाले हिन्दु महिलाहरुले मनाउने हरितालिका तीज २०८२ को आयोजना गरेकाे हाे ।
कम्बोडियाकाे न्होम पेन्ह शहरमा नेपाली दिदिबहिनिलाई दर खुवाएर, मनोरन्जनात्मक खेल संगै नाचगान गरेर हर्षोउल्लासपूर्वक तीन पर्व मनाइएको हाे । यहाँ बसोबास गर्ने नेपालीहरकाे लागि आयोजना गरिएकाे तीज कार्यक्रममा २ महिनाकी शिवा गैरेदेखि ८० वर्षकी लक्ष्मी ज्ञवालीसमेतको सहभागिता रहेको थियो । कार्यक्रममा NRNA की उपाध्यक्ष उमा बुढाथोकी श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । सानी नानी प्रिस्का घिमिरेले एकल नृत्य प्रस्तुत गरेकी थिइन् ।
हरितालिका तीजको दिन पनि कम्बोडियाको न्होम पेन्हमै अवस्थित शिव मन्दिर गएर पूजाआजा गरेर नेपाली महिलाहरुले तीज पर्व मनाएका छन् । यस वर्षको तीज कार्यक्रममा नेपालबाट आउनुभएकी लक्ष्मी ज्ञवाली एवं आर्या आत्रेयले पनि कार्यक्रम र पूजाआजामा आफ्नो सहभागिता जनाएका थिए । तीज पर्व हामी नेपाली महिलाहरुको ऐतिहासिक र सांस्कृतिक गहना भएकाेले यसको संरक्षण र महिमाको गरिमा जोगाउनु हामी सबैको कर्तब्यको रूपमा रही आएकोले तीज कार्यक्रम आयोजना गरिएकाे उपाध्यक्ष उमाले बताइन् ।
दिगो आस्था, निष्ठा प्रतिबद्धता तथा मन, वचन, कर्मले मात्र असल कार्यको सफलता प्राप्त हुन्छ भन्ने संदेश दिने हामी नेपाली महिला हरूको पर्व हरितालिका (तीज) को बिशेष महत्व रहेको छ । हाम्रा आराध्यदेव श्री पशुपतिनाथ (शिव) र माता पार्वतीसित जोडिएकोले पनि सो चाड हाम्रो नेपाली जनमानसमा विशेषगरी नारीसमाजमा विशेष पर्वको रूपमा मानिँदै आएको छ । तीजका दिन महिलाहरुले लगाउने रातो साडी सुख, समृद्धि एवम् साहसको प्रतीक मानिन्छ । रातो रङ्गले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास पनि रहिआएको छ ।
मानवजाति जति नै आधुनिकतामा रुमल्लिँदै गए पनि उसले आफ्नो जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । समयको परिवर्तनशीलता र गतिशीलता सँगै मानव समाज र सभ्यताहरू पनि परिवर्तन हुँदै आएका छन । हिजो माइती घर, ब्रत, पूजा, पँधेरो, चौतारो अनि मन्दिरहरूमा सीमित हुने तीज पर्व आज ती स्थानहरुबाट अझै माथि उठेर बिस्तारै शहर बजार, ब्यवसाय, विद्युतीय सञ्चार माध्यमहरू, सामाजिक सञ्जालहरू हुँदै देश विदेशमा समेत व्यापक बन्दै गएको छ। नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य समुदायले पनि मनाउन थालेको पाइन्छ जसलाई एकदमै सकारात्मक सामाजिक पक्ष मान्नुपर्छ।
तीज पर्व केवल धार्मिक पर्व मात्र नभई पछिल्लो समयमा नारीहरूको भेटघाट, आत्मबल, अधिकारको अभिव्यक्ति र संस्कृतिको संरक्षणको माध्यमका रूपमा बिस्तार हुदै गएको छ । अहिलेको तिज पहिलेको तुलनामा धेरै रूपले परिवर्तन भएको छ । पहिले मुख्य रूपमा धार्मिक व्रत र शिव–पार्वतीको पूजा केन्द्रित भए पनि अहिले तिज सांस्कृतिक, सामाजिक र मनोरञ्जनात्मक चाडका रूपमा पनि फैलिएको गएकाे छ ।
मकवानपुर । नेपालबाट ईपीएस (EPS) अन्तर्गत दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूका परिवारलाई हेटौंडामा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम आयोजना गरिने भएकाे छ।
शुक्रबार हेटौंडामा पत्रकार भेटघाट गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रमकाे आयोजना गरिने जानकारी दिइएकाे हाे । १६ जेठ २०८२ मा आयोजना हुने कार्यक्रममा सहभागी श्रमिकका परिवार सदस्यहरूलाई वित्तीय व्यवस्थापन, मानसिक स्वास्थ्य, र सामाजिक सशक्तिकरणका विषयमा जानकारी तथा परामर्श दिइने भएकाे हाे।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, काेइका (Korea International Cooperation Agency), अङ्कुर नेपाल, र के-हामी (K-HaMi) परियोजनाको संयुक्त सहकार्यमा उक्त कार्यक्रम हुने अङ्कुर नेपाल हेटौंडा सम्पर्क समितिका अध्यक्ष किशोर डंगोलले जानकारी दिए । “हामी पहिलोपटक हेटौंडामा यस्ता प्रकृतिको कार्यक्रम आयोजना गर्दैछौं, जुन ईपीएस श्रमिकका परिवारको हितमा केन्द्रित छ’ डंगोलले भने कार्यक्रमलाई सफल बनाउन सहयोग, समर्थन र प्रचार–प्रसार अत्यन्तै महत्वपूर्ण हुनेछ।”
समितिका सचिव माधव सापकोटाले कार्यक्रम कोरियामा कार्यरत श्रमिकका आमाबुवा, जीवनसाथी र परिवारका नजिकका सदस्यहरूका लागि लक्षित गरि आयोजना गर्न लागिएकाे बताए । कार्यक्रमा सहभागिताकाे लागि शहरका साथै ग्रामिण क्षेत्रमा जानकारी पुर्याउने प्रयास रहेकाे उनले बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । शैक्षिक सम्मेलन बैशाख २७ गते शनिबार (बाट) बाट ३ दिनसम्म सञ्चालन हुने छ ।
‘दीगो विकासका लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ हुने सम्मेलनको विषयमा शुक्रबार क्याम्पसले पत्रकार भेटघाट गरी जानकारी दिएकाे हाे । देश तथा विदेशबाट एक सय भन्दा बढी प्रतिनिधि सहभागी हुने सम्मेलनमा केही प्रतिनिधि र विज्ञहरु अनलाईनमार्फत नै सहभागी हुने क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले जनाकारी दिए ।
सम्मेलनमा देशभरबाट करिव ५७ वटा अनुसन्धान कार्यपत्र प्रस्तुत गरिने छ भने भारत, थाइल्याण्ड, जापान लगायतका देशकाे छुट्टाछुट्टै प्रस्तुति हुनेछ । यसैगरी अनलाइन मार्फत मलेसियन राजदुतबाट सम्बाेधन हुने कार्यक्रम रहेकाे उनले बताए । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गर्ने कार्यक्रम रहेकाे उनले बताए ।
सम्मेलनमा विभिन्न प्राज्ञिक अध्ययन, अनुसन्धानको प्रस्तुती रहनेछ भने स्थानीयस्तरमा दीगो विकासका लक्ष्यहरुलाई समायोजन गर्ने, युवा विद्यार्थीहरुको सक्षमता अभिवृद्धि गर्ने, दीगो विकासका लक्ष्य हासिल गर्न युवा विद्यार्थीको भूमिका बढाउने सम्मेलनले लक्ष्य लिइएको क्याम्पस प्रमुख सिलवालले जानकारी दिए । उद्घाटनको कार्यक्रम हेटौंडाको एभोकाडो होटलमा हुने तथा अन्य कार्यक्रम क्याम्पस परिसरमै हुने बताइएकाे छ ।
मकवानपुर क्याम्पसले यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । विश्वविद्यालय अनुदान आयोग, हेटौंडा उपमहानगरपालिकासहित अन्य निकायसँग साझेदारी रहने सम्मेलनकाे अनुमानित लागि २० लाख रुपैंया खर्च हुने आयोजकले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तरगत बुधबार काठमाडौंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल म्यानमारसँग २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भए पनि दुवै टोली गोल गर्नबाट चुकेका थिए । दोस्रो हाफको ६१ औँ मिनेटमा म्यानमारका यू पर खियाङले पहिलो गोल गरिन् । दुई मिनेटपछि म्यानमारले अर्को गोल थप्दै खेलमा अग्रता दोब्बर बढाएकाे थियाे । विन थिङयी टुनकौ प्रहार नेपाली खेलाडीलाई लाग्दै जाली चुमेकाे थियो ।
त्यसपछि कुनै गोल हुन सकेन । नेपालले गोलका लागि राम्रो अवसर गुमाएको थियो । यसअघि समूह चरणको अन्तिम खेलमा पनि भिडेका दुई टाेलीकाेखेल २–२ को बराबरीमा टुंगिएको थियो ।
काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करणमा नेपाली चलचित्रले बुलाकीले उत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकाे छ । लक्ष्मण सुनारको बुलाकीले राष्ट्रिय तर्फ उत्कृष्ट हुँदा अन्तराष्ट्रियतर्फ भारतको चलचित्र पुभुले सर्वोत्कृष्ट चलचित्र अवार्ड प्राप्त गर्याे ।
काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै सुरु भएको चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रलाई अवार्ड वितरणसँगै ३ दिनमा समापन भएकाे हाे । चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सहआयोजनामा आयोजित महोत्सवमा ४७ देशका ९८ वटा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा थिए । यि सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो ।
राष्ट्रियतर्फ प्रतिष्पर्धामा बुलाकी, पुजार सार्की, डेसान, पखेटा र बिच्छेद चलचित्र सहभागी थिए । ती मध्ये ‘पुजार सार्की’ फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री अन्जना बराइली उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भए । उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पुजार सार्कीबाट दिनेश राउत, उत्कृष्ट छायाँकारको अवार्ड चलचित्र बुलाकीबाट शिव ढकाल, इन्करेजमेन्ट अवार्ड बुलाकीबाट अभिनेता नरेन खड्काले र उत्कृष्ट स्कृप्टको अवार्ड चलचित्र पखेटाबाट सनोल दासले हासिल गरेका छन् ।
यस्तै राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट लघु चलचित्रको अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवाली, बृत्तचित्रको अवार्ड नो मोनास्ट्री नो भिलेजबाट टासी ल्हाजोमले, महिला चलचित्रको अवार्ड पिरियडबाट रेवती गुरुङले, बाल चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन श्रेष्ठले कल्चरल चलचित्रको अवार्ड चिपागु निलाबाट योवन शाक्यले, जुरी मेनसन अवार्ड चलचित्र छेसाङबाट रजिला श्रेष्ठले, स्पेशल मेनसन अवार्ड सर्ट फिल्म थ्रेसोल्डबाट सरिता शाहले र एभोन्टोज पपुलर अवार्ड चलचित्र लेट नाईटबाट ओविन उद्दिनले प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रतिस्पर्धाको निर्णायकमा बरिष्ट संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङदेन र टेलिभिजनकर्मी टिकाराम यात्री थिए ।
सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवं महोत्सवका राष्ट्रियतर्फ निर्णायक प्रमुख शम्भुजीत बासकोटा, नेपाली र विदेशी निर्णायकहरू, अग्रज अभिनेत्रीहरु बसुन्धरा भुसाल, भुवन चन्द, चैतेदेवी सिंहले लगायतले विजेताहरूलाई अवार्ड प्रदान गरेका थिए ।
अन्तराष्ट्रिय प्रतिष्पर्धामा चलचित्र पुभुबाट उत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड मन्जुलन केभीले हासिल गरे भने उत्कृष्ट अभिनेत्रीको अवार्ड जर्मनी चलचित्र इम्पियोरबाट अभिनेत्री युनिस कचीरुवाले हासिल गरिन् । उत्कृष्ट फिचर चलचित्र निर्देशकको अवार्ड अमेरिकाको चलचित्र ला फोर्सबाट जी ओभानी एम जेल्कोले हासिल गरे । अन्तर्राष्ट्रिय लघु चलचित्रको अवार्ड बँगलादेशको सर्ट फिल्म सौदा, उत्कृष्ट महिला चलचित्रको अवार्ड रसियाको चलचित्र द रि युनियनबाट लोलिता नारान ओभिचले, बाल चलचित्रको अवार्ड भियतनामको चलचित्र लस्ट फर फ्रिडमबाट जाकुभ जाजाकले हासिल गरे ।
अन्तर्राष्ट्रिय बृत्तचित्रको अवार्ड क्यानडाको चलचित्र नुरागा भूमिबाट डानियल खान डा लिल्भाले, इन्भारोमेन्टल चलचित्रको अवार्ड स्पेनको चलचित्र द सोल अफ ज्यास्मिनबाट मरिना गार्सिया एन्ड्युले, अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्रको अवार्ड अमेरिकाको अमेरिकन फुल ब्रोडबाट क्रिस्टिना होडेलले हासिल गरे । यस्तै एनिमेसन चलचित्रको अवार्ड साउथ अफ्रिकाको चलचित्र फ्लावर अफ दि पार्टिसनबाट चार्लेस बाडेनहोस्टले, अन्तर्राष्ट्रिय छायांकारको अवार्ड स्पेनको चलचित्र स्पिक सन लाइटबाट जसी लुईस अल्कानीले, उत्कृष्ट चलचित्र स्कृप्टको अवार्ड इटालीको चलचित्र आउट डियरबाट ऐस्यान्डो लियोनीले, जुरी मेन्सन अवार्ड अर्जेन्टिनाको चलचित्र द टेम्पल अफ इन्टरनल साउन्डबाट जर्ज क्याराभोटाले, स्पेशन मेन्सन अवार्ड बेलायतको चलचित्र लकडाउन गर्डेन डायरीबाट एड्रिना उलिकले प्राप्त गरे । यस्तै पपुलर अवार्ड जर्मनीको चलचित्र सिड वीथ मीबाट अकिफा मियानले, इन्करेजमेन्ट अवार्ड नेपालको चलचित्र जाईन पपेट्स फर डिज्निफाईड मेन्सुरेसनबाट ओडिटी लारामीले हासिल गरे ।
महोत्सवमा अन्तराष्ट्रियतर्फ आठ जना विदेशी निर्णायक मध्ये भारतबाट निपोन धौला, जर्मनीबाट फाविन मात्थियस, इरानबाट तिमा टाघिजादेह, बहराइनबाट इभा दाउद र रुसबाट इरिना बेराजी महोत्सवमा उपस्थित रहेका थिए । अन्तर्राष्ट्रिय निर्णायकमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका थिए ।
कार्यक्रममा सञ्चारमन्त्री गुरुङले चलचित्रको विकास र विस्तारमा यस्तो महोत्सव निकै उपयोगी हुने बताए । उनले सबै विदेशी अतिथिहरुलाई भगवानको रुपमा आफूहरूले लिने गरेको भन्दै आउँदो वर्षहरुमा पनि महोत्सवमा सहभागी हुन विदेशीहरूलाई अनुरोध गरे । बोर्डका अध्यक्ष डिसीले चलचित्र विकास बोर्डको सहकार्यमा निकै राम्रो महोत्सव सम्पन्न भएको बताए । उनले नेपालमा हुने गरेका अन्तर्राष्ट्रिय महोत्सवले नेपाललाई विश्वमा चलचित्रमार्फत चिनाएको धारणा राखे ।
चलचित्र केन्द्रका अध्यक्ष एवम् निर्देशक सन्तोष सुवेदीले नेपालमा महोत्सव आयोजना गर्न निकै गाह्रो हुने गरेको बताए । मौलिक कला, संस्कृतिको संरक्षण, संवर्धन र चलचित्र विकास गर्नु हामी सबैको दायित्व हो । यूनेस्कोको कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका फिल्म सिटीमा घोषणा भएको तर महानगरमै यति ठूलो महोत्सव हुँदासमेत महानगरले बेवास्ता गरेको उनको गुनासो छ । नेपालको राजधानी काठमाडौंमा ४७ देशका चलचित्रहरु समावेश गरेर महोत्सव गर्न पाउँदा आफुलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनले बताए । यो महोत्सवमा चलचित्रका अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको उनको भनाई छ । नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ ।
महोत्सवमा कला प्रदर्शनीसँगै विभिन्न सांस्कृतिक प्रस्तुतीहरुपनि समावेश गरिएका थिए । समापनमा प्रस्तुत गरिएको अक्षरिका स्कुलबाट राउटे नृत्य तथा प्रितिमा स्कुलबाट छाउपडी सांगितिक नाटकले कार्यक्रमलाई अझ बढी रोमाञ्चक बनाएको थियो । महोत्सवमा विभिन्न देशका ४ दर्जन बढी विदेशी अतिथीहरुलाई नेपाली ढाका टोपी र ढाकाको खादा लगाएर स्वागत तथा बिदाई गरिएको थियो ।