मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । शैक्षिक सम्मेलन बैशाख २७ गते शनिबार (बाट) बाट ३ दिनसम्म सञ्चालन हुने छ ।
‘दीगो विकासका लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ हुने सम्मेलनको विषयमा शुक्रबार क्याम्पसले पत्रकार भेटघाट गरी जानकारी दिएकाे हाे । देश तथा विदेशबाट एक सय भन्दा बढी प्रतिनिधि सहभागी हुने सम्मेलनमा केही प्रतिनिधि र विज्ञहरु अनलाईनमार्फत नै सहभागी हुने क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले जनाकारी दिए ।
सम्मेलनमा देशभरबाट करिव ५७ वटा अनुसन्धान कार्यपत्र प्रस्तुत गरिने छ भने भारत, थाइल्याण्ड, जापान लगायतका देशकाे छुट्टाछुट्टै प्रस्तुति हुनेछ । यसैगरी अनलाइन मार्फत मलेसियन राजदुतबाट सम्बाेधन हुने कार्यक्रम रहेकाे उनले बताए । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गर्ने कार्यक्रम रहेकाे उनले बताए ।
सम्मेलनमा विभिन्न प्राज्ञिक अध्ययन, अनुसन्धानको प्रस्तुती रहनेछ भने स्थानीयस्तरमा दीगो विकासका लक्ष्यहरुलाई समायोजन गर्ने, युवा विद्यार्थीहरुको सक्षमता अभिवृद्धि गर्ने, दीगो विकासका लक्ष्य हासिल गर्न युवा विद्यार्थीको भूमिका बढाउने सम्मेलनले लक्ष्य लिइएको क्याम्पस प्रमुख सिलवालले जानकारी दिए । उद्घाटनको कार्यक्रम हेटौंडाको एभोकाडो होटलमा हुने तथा अन्य कार्यक्रम क्याम्पस परिसरमै हुने बताइएकाे छ ।
मकवानपुर क्याम्पसले यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । विश्वविद्यालय अनुदान आयोग, हेटौंडा उपमहानगरपालिकासहित अन्य निकायसँग साझेदारी रहने सम्मेलनकाे अनुमानित लागि २० लाख रुपैंया खर्च हुने आयोजकले जनाएकाे छ ।

