मकवानपुर । नेपालबाट ईपीएस (EPS) अन्तर्गत दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूका परिवारलाई हेटौंडामा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम आयोजना गरिने भएकाे छ।
शुक्रबार हेटौंडामा पत्रकार भेटघाट गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रमकाे आयोजना गरिने जानकारी दिइएकाे हाे । १६ जेठ २०८२ मा आयोजना हुने कार्यक्रममा सहभागी श्रमिकका परिवार सदस्यहरूलाई वित्तीय व्यवस्थापन, मानसिक स्वास्थ्य, र सामाजिक सशक्तिकरणका विषयमा जानकारी तथा परामर्श दिइने भएकाे हाे।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, काेइका (Korea International Cooperation Agency), अङ्कुर नेपाल, र के-हामी (K-HaMi) परियोजनाको संयुक्त सहकार्यमा उक्त कार्यक्रम हुने अङ्कुर नेपाल हेटौंडा सम्पर्क समितिका अध्यक्ष किशोर डंगोलले जानकारी दिए । “हामी पहिलोपटक हेटौंडामा यस्ता प्रकृतिको कार्यक्रम आयोजना गर्दैछौं, जुन ईपीएस श्रमिकका परिवारको हितमा केन्द्रित छ’ डंगोलले भने कार्यक्रमलाई सफल बनाउन सहयोग, समर्थन र प्रचार–प्रसार अत्यन्तै महत्वपूर्ण हुनेछ।”
समितिका सचिव माधव सापकोटाले कार्यक्रम कोरियामा कार्यरत श्रमिकका आमाबुवा, जीवनसाथी र परिवारका नजिकका सदस्यहरूका लागि लक्षित गरि आयोजना गर्न लागिएकाे बताए । कार्यक्रमा सहभागिताकाे लागि शहरका साथै ग्रामिण क्षेत्रमा जानकारी पुर्याउने प्रयास रहेकाे उनले बताए ।

