मकवानपुर । मकवानपुरगढी पर्यटन विकास समन्वय समिति अध्यक्षमा केदार प्रसाद न्यौपाने चयन भएका छन् । समितिको शुक्रवार हेटौंडामा भएको १५ औँ वार्षीक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएकाे हाे ।
समितिको उपाध्यक्षमा शंकरलाल श्रेष्ठ, सचिवमा ओकिलराज बानियाँ, कोषाध्यक्षमा शंकर बीसी र सह–सचिवमा अनिल पराजुली चयन भएका छन् । यसैगरी समिति सदस्यहरूमा एमपी शर्मा, उमा श्रेष्ठ, सङ्ग्राम श्रेष्ठ, सुमित श्रेष्ठ, विनोद पुडासैनी र कृष्ण प्रसाद पोखरेल चयन भएका छन् । समितिको सल्लाहकार एवम् संरक्षकमा बद्रीप्रसाद खतिवडा, घनश्याम शंकर शर्मा, भागीरथी शर्मा खरेल, रामप्रसाद घिमिरे र विष्णु प्रसाद सिग्देल चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले अधिशनकाे उद्घाटन गर्दै पर्यटन क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । अधिवेशनमा मकवानपुरगढी पर्यटन विकास समन्वय समितिकाे विभिन्न पदमा रही संस्था तथा पर्यटनकाे विकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएकाे थियाे ।
मकवानपुरको मकवानपुरगढी सहित ढुङ्गे गढी, बकैयामा रहेको अम्बास गढी, चिसापानी गढी, पालुङ गढी, टिस्टुङ गढी, चित्लाङ गढी र कोटथुम्की गढी प्रचार प्रसारको अभावमा अझैँ ओझेलमा परेको अध्यक्ष न्यौपानेले बताए । उनले पालिका र नेपाली सेनासँग सहकार्य गरेर गढीको महत्वलाई अझैँ उजागर गर्ने प्रतिबद्धता जनाए ।

