मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले एकै मञ्चमा ७ वटा सम्मान प्रदान गर्ने भएकाे छ । मातृभूमिले हेटौंडामा १५ र १६ जेठमा आयोजना गर्ने मातृभूमि साहित्य महाेत्सव २०८२ मा ७ वटा सम्मानबाट विभिन्न व्यक्ति सम्मानित हुने भएका हुन् ।
मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान, २०८२ बाट पत्रकार प्रताप विष्ट सम्मानित हुने भएका छन् । दीर्घ सेवा सम्मानकाे संस्थापक मातृभूमि साहित्य समाज रहेको छ । यसैगरी मायादेवी मातृभूमि पुरस्कार, २०८० बाट साहित्यकार गीता रेग्मी सम्मानित हुने भएका छन् । काठमाडौं निवासी साहित्यकार रेग्मीलाई रुकु कार्कीले स्थापना गरेकाे २१ हजार रुपैंया राशिकाे उक्त पुरस्कार प्रदान गरिने समाजका सचिव किशन पौडेलले जानकारी दिए ।
यसैगरी राजकुमार स्मृति मातृभूमि सम्मान, २०८० बाट कवि चन्द्र गुरुङ सम्मानित हुने छन् । सुनसरी धरानका कवि गुरुङलाई इन्द्र बहादुर बानियाँले दाईकाे स्मृतिमा स्थापना गरेकाे १५ हजार रुपैंया राशिकाे उक्त सम्मान प्रदान गरिने पौडेलले बताए । क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान, २०८० बाट माधव काफ्ले सम्मानित हुने छन् । रौतहटका साहित्यकार काफ्लेलाई १५ हजार रुपैंया राशिकाे उक्त सम्मान प्रदान गरिने भएकाे हाे । बानियाँले नै हजुरबुबाकाे नाममा उक्त सम्मान स्थापन गरेकाे उनले बताए ।
यस्तै होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान, २०८१ बाट सुदेश सत्याल सम्मानित हुने भएका छन् । मातृभूमिका संरक्षक हयग्रीव आचार्यले स्थापना गरेकाे १५ हजार रुपैंया राशिकाे छन्द साहित्य सम्मान छन्द कवि सत्याललाई प्रादन गरिने छ । मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान, २०८१
रजनी ज्ञवालीलाई प्रदान गरिने भएकाे छ । नर्सिङ सेवाका ज्ञवालीलाई वनमाली सुवेदी तथा कृष्णप्रसाद दाहालले स्थापना गरेकाे १५ हजार रुपैंया राशिकाे उक्त सम्मानबाट सम्मानित गरिने भएकाे हाे ।
झलकबहादुर बानियाँ स्मृति मातृभूमि जीवन सङ्घर्ष प्रोत्साहन वृत्ति, २०८० हेटौंडा – १८ हर्नामाडी स्थित कमला आधारभूत विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने सचिव पौडेलले जानकारी दिए । मातृभूमिका पूर्व अध्यक्ष राजबाबु पहाडी बुबाकाे स्मृतिमा स्थापना गरेकाे उक्त प्रोत्साहन वृत्ती ७ हजार ५०० काे रहेकाे छ ।
साहित्य महाेत्सवमा परिचर्चा एवम् बहस कार्यक्रमका साथै सम्मानित हुने स्रष्टा र अन्य स्रष्टाका रचना वाचन समेत हुनेछ । हाम्रो नगर पर्या पर्यटन र संस्कृतिमा समृद्ध सहर, साहित्य, सिर्जना संवाद र सञ्चार, साझा सरोकार प्रतिलिपि अधिकार र कविता , जीवन र समाजमा परिचर्चा एवम् बहस कार्यक्रम हुने समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए । हाम्रो नगर पर्या पर्यटन र संस्कृतिमा समृद्ध सहर परिचर्चा एवम् बहसमा हेटौंडाका नगर प्रमुख मिनाकुमारी लामा उपमहानगरपालिकाका उपनिर्देशक भीमप्रसाद तिमल्सिना र १० नम्बर वडाध्यक्ष फुर्वादोर्जे तमाङले सहभागिता जनाउने छन् ।
साहित्य, सिर्जना संवाद र सञ्चार परिचर्चा बहसमा पत्रकारद्वय प्रताप विष्ट र रामकुमार एलन तथा कवि शान्ति प्रिय बन्दनाले बहस गर्ने छन् । साझा सरोकार प्रतिलिपि अधिकारमाथि अधिवक्ताहरु मदन कुमार दाहाल, अप्सरा बस्नेत र विशभ अधिकारीले चर्चा र बहस गर्नेछन् । कविता ,जीवन र समाज परिचर्चा र बहस कार्यक्रम कविहरु निमेष निखिल, भूपिन खड्का, चन्द्र गुरुङ र सुदेश सत्यालकाे सहभागितामा हुनेछ ।
नेपाली भाषा, साहित्य र कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा विधिवत् रूपमा मातृभूमि साहित्य समाजको स्थापना भएको हो । समाजले विविध साहित्यिक कार्यक्रमहरूलाई निरन्तरता दिंदै स्थापित एवम् नव प्रतिभाहरू सम्मान गर्दै आएकाे समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । समाजले विभिन्न विधामा सत्र वटा पुरस्कार एवम् सम्मान प्रादन गर्दै आएकाे बताइएकाे छ ।

