मकवानपुर । मकवानपुरकाे पुरानो विद्यालय भुटनदेवी माध्यमिक विद्यालयले शिक्षकलाई सम्मान गरेकाे छ । हेटौंडा–४ स्थित विद्यालयले नव आगन्तुक विद्यार्थीका साथै उनीहरुका अभिभावकलाई स्वागत समेत गरेको छ ।
बिहीबार विद्यालयले नवआगन्तुक विद्यार्थी स्वागत तथा शिक्षक सम्मान कार्यक्रममा गरेकाे हाे । शैक्षिकसत्र २०८० को एसइई परीक्षामा ४ जीपीए ल्याउन सहयोग गर्ने विषयगत शिक्षक र विषयगतरुपमा ९० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण भएका विषयका शिक्षक समेत गरी १० जनालाई सम्मान गरिएकाे हाे । शिक्षकहरुलाई जनही ५ हजार १ सय रुपैयाँ नगदसहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक माधव दाहालले जानकारी दिए ।
दाहालका अनुसार पालिकास्तरीय परीक्षा २०८१ मा ४ जीपीए ल्याउने ४ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हाे । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भरत पोख्रेलले विद्यालयको वस्तुस्थितिबारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थी र अभिभावकको आचारसंहिता समेत जानकारी गराइएकाे थियाे ।
भुटनदेवी माध्यमिक विद्यालयमा चालु शैक्षिकसत्र २०८२ मा ४ सय जना नयाँ विद्यार्थी भर्ना भएका उनले बताए । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा हेटौंडा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देललगायतकाकाे आतिथ्यता रहेको थियो ।

