व्यवसायीहरुलाई आफ्नो कर्तव्य पुरा गर्दै मापदण्ड विपरीत कार्य नगर्न / नगराउन कम्पनीको आग्रह
मकवानपुर । अत्यधिक भारबहनको सवारीको कारण राजमार्गहरु भासिने र पुलहरु भाँचिने क्रम बढेसँगै नारायणी यातायात व्यवसायी कम्पनी प्रालिहेटौडाले ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले विहीबार पत्रकार सम्मेलन गरि सराेकारवालाहरुलाई ध्यानाकर्षण गराएको हाे । यातायात व्यवसायीहरूको अग्रणी छाता संस्थाको रूपमा यस क्षेत्रमा क्रियाशील कम्पनीले देशभर, विशेष गरी पूर्व पश्चिम राजमार्गमा, क्षमताभन्दा बढी भार बोकेका सवारी साधनका कारण पुल भाँचिने र राजमार्ग नै भासिने घटनाहरू प्रति सचेत रहन ध्यानाकर्षण गराएको हो । यस्ता घटनाले सार्वजनिक यातायातमा ठूलो समस्या उत्पन्न भई यात्रु तथा मालवाहक सवारी साधनहरूले अनावश्यक झन्झट भोग्नुका साथै आर्थिक क्षति समेत भइरहेको कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले बताए ।
२०८२ बैशाख २९ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिँदा र सोही दिन, इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि यातायात सञ्चालनमा समस्या भएकोमा कम्पनीले स्मरण गरेको छ ।
हाल देशभरका पुलहरू करिब ५० वर्ष पुराना भएका र तत्कालीन समयको सवारी चाप तथा भार क्षमता अनुसार निर्माण गरिएकाले हालकाे दैनिक हजारौँ सवारीसाधन र क्षमताभन्दा बढी भार बोकेका मालवाहक गाडीहरू गुड्दा पुलहरूले भार थेग्न नसकेको कम्पनीका कार्यकारी सञ्चालक माधव अधिकारीले बताए ।
हाल नेपालमा रहेका नयाँ निर्माण भएका पुलबाहेक पूर्व पश्चिम राजमार्ग निर्माणको समयमा बनेका पुलहरूको भार क्षमता अहिलेको आवश्यकताभन्दा कम रहेको अधिकारीले बताए । पत्रकार सम्मेलनमा कम्पनीले विभिन्न मागहरु पनि सार्वजिनक गरेको छ ।
यस्ता छन् कम्पनीका माग र आग्रहहरु
यस विकराल समस्याप्रति हामी सम्बन्धित निकाय, विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। तत्काल निम्न कदमहरू चालिनुपर्ने हाम्रो जोडदार माग छ:
१. पुलहरूको क्षमता वृद्धि र मर्मतसम्भार : देशभरका पुराना तथा जीर्ण पुलहरूको तत्काल प्राविधिक परीक्षण गरी आवश्यकता अनुसार मर्मत, स्तरोन्नति वा पुनर्निर्माण गरियोस्।
२. भारवहन क्षमताको कडाईका साथ पालना : सवारी साधनको भारवहन क्षमताको नियमलाई कडाईका साथ लागू गरियोस् र क्षमताभन्दा बढी भार बोक्ने सवारी साधनहरूलाई दण्डित गर्ने व्यवस्था मिलाइयोस्।
३. तौल पुलको प्रभावकारीता : हाल देशभर निजि क्षेत्रबाट ११ र सरकारद्वारा २ वटा गरि १३ वटा तौलपुल रहेपनी ती पुलहरूबाट भार बहन क्षमता नियन्त्रणमा प्रभावकारीता देखिएको छैन ।
४. ढुवानीमा मूल्य अभिवृद्धि कर : नेपाल सरकारले पुर्णरुपमा ढुवानीमा मूल्य अभिवृद्धि कर लागू गरेपनी सो निर्णय कार्यान्वयनमा खासै प्रभावकारी देखिएको छैन,बिना VAT मा सामन ढुवानी हुने क्रम बढ्दै गएको छ, सो कानुन कडाइका साथ लागू गरियोस् नत्र खारेजी गरियोस् ।
५. राजमार्ग सुरक्षा : राजमार्गको नियमित अनुगमन गरी भासिने वा क्षति पुगेका स्थानहरूको तत्काल मर्मत गरी यातायातलाई सुरक्षित बनाइयोस्।
६.जनचेतना अभिवृद्धि : सवारी चालक र व्यवसायीहरूमा भारवहन क्षमताको पालना सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरियोस्।
हामी यस समस्याको तत्काल समाधानको लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ। भविष्यमा यस्ता दुर्घटनाहरूबाट हुने जनधनको क्षति र यातायात अवरोधलाई कम गर्न सबै पक्षको सहयोग र समन्वय अपरिहार्य छ। साथै व्यवसायीहरुलाई पनि आफ्नो कर्तव्य पुरा गर्दै मापदण्ड विपरीत कार्य नगर्न / नगराउन समेत कम्पनी सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गर्दछ ।
यसबारे कम्पनीका अध्यक्ष पराजुलीसँग गरिएको कुराकानी

