मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले १२ औं वार्षिकोत्सवको अवसरमा विगत १२ वर्षको सेवा, विकास र चुनौतीहरूको समीक्षा गर्दै भावी योजनाहरू सार्वजनिक गरेको छ।
संस्थाले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको शुद्ध खानेपानी आपूर्ति तथा व्यवस्थापनको जिम्मेवारी बहन गर्दै आएको छ। हाल बोर्डले ६२८ किलोमिटर पाइपलाइन विस्तार गरी दैनिक करिब ३ करोड ७० लाख लिटर पानी वितरण गरिरहेको छ। तथ्यांक अनुसार, हाल ५ वटा स्राेतबाट पानी संकलन हुँदै आएको छ भने पानी प्रशोधनका लागि २ वटा प्रशोधन केन्द्र सञ्चालनमा छन्।
संस्थाका अनुसार, आगामी दिनहरूमा नयाँ प्रशोधन केन्द्र निर्माण, पाइप विस्तार तथा वितरण सुधार, चुहावट नियन्त्रणलगायतका योजना अघि बढाइनेछ। साथै ग्राहकको गुनासो व्यवस्थापन तथा सेवा गुणस्तर सुधारमा समेत जोड दिने योजना सार्वजनिक गरिएको छ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले संघीय, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा चालु आर्थिक वर्षमा पूर्वाधार विकासका थुप्रै योजना सफलतापूर्वक सम्पन्न भएका छन्।
बोर्डका अनुसार संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहलगानीमा १५ करोड रुपैयाँको लागतमा ओभरहेड टंकी १ वटा, भूमिगत टंकी ३ वटा, डिप बोरिङ्ग ४ वटा, पाइपलाइन विस्तार तथा विद्युतिकरण कार्य सम्पन्न गरिएको छ।
यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नं १९ बस्तीपुरमा संघीय सरकारबाट करिब ८ करोडको लगानीमा सुरु भएको योजना अपुरो रहँदा बोर्डले थप ३ करोड रुपैयाँको लगानी गरी योजना सम्पन्न गरी सो क्षेत्रमा सेवा सुचारु गरिसकेको छ।
प्रदेश सरकारसँगको सहकार्यमा पनि ठूला योजना सम्पन्न
बागमती प्रदेश सरकारसँगको सहलगानीमा हेटौंडा वडा नं १९ मा समवेल, वडा नं १६ मा डिप ट्युबेल, त्रिशूले क्षेत्रमा ५ लाख लिटर क्षमताको भूमिगत पानी टंकी, र करिब २० किमी पाइपलाइन विस्तार कार्य सम्पन्न भइसकेको बोर्डले जनाएको छ।
त्यस्तै, बोर्डले हेटौंडा वडा नं ३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिबाट पूर्वाधार हस्तान्तरण गरी ९,५०० घरधुरीमा सेवा विस्तार गरिसकेको जनाएको छ।
सुदृढ पूर्वाधार निर्माण र मर्मतमा करोडौंको लगानी
२०८२ सालको वैशाख मसान्तसम्ममा खानेपानी मर्मत तथा संभारमा अत्यावश्यक फिटिङ्ग सामग्री, मोटर पम्पसेट खरिदका लागि करिब ७० लाख ३० हजार रुपैयाँ खर्च गरिएको छ। हेटौंडा–१६ मा डिप ट्युबेल र भूमिगत टंकी सञ्चालनमा ल्याइएको छ। यसैगरी, हेटौंडा–१६ शक्तिमा संघीय आयोजना र बोर्डको सहकार्यमा ६ वटा ९०० घनमिटर क्षमताका पानी संकलन टंकी, समवेल र ३ दशमलबब ५ किमी पाइपलाइन विस्तार कार्य सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको छ।
थानाभऱ्याङ्ग सिमलटारमा सेवा विस्तार योजनामा तीव्रता
खानेपानी तथा सरसफाइ डिभिजन नं १ र बोर्डको सहकार्यमा थानाभऱ्याङ्ग सिमलटार क्षेत्रमा २ वटा समवेल, पाले घर निर्माण कार्य सम्पन्न, ४ दशमलब ५ लाख लिटर क्षमताको ओभरहेड टंकी निर्माण कार्य प्रगतिको चरणमा रहेको छ। चालु आर्थिक वर्षमा २१ किमी शाखा पाइपलाइन विस्तारको प्रक्रिया बोलपत्रमार्फत अगाडि बढाइएको छ।
गढी गाउँपालिका–४, सामरीमा १५ लाख रुपैयाँको लागतमा २ वटा समवेल संरक्षण तटबन्ध निर्माण, हरिकुञ्ज पानी पोखरी जाने सडकको स्तरोन्नती, हेटौंडा–१५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको टंकी निर्माण।अन्य स्थानहरूमा भवन तथा पर्खाल मर्मत कार्य गरेको छ । पानी परीक्षण संघीय आयोजना मार्फत चालु आ।व।मा १५ लाख विनियोजन गरिएको र बोर्डले थप लागत साझेदारी गरेर पानी परीक्षणशालालाई स्तरीय बनाउने कार्य प्रकृया अगाडि बढाइएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

